बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने र बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णयमा हस्ताक्षर गर्दै सोमबार पदभार ग्रहण गरेका छन्।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित नगर प्रमुख खेलराज पाण्डे र उपप्रमुख सावित्रादेवी अर्यालले एकैसाथ पदभार ग्रहण गर्दै अलग-अलग निर्णयमा हस्ताक्षर गरेका हुन्।
बुटवलको प्रमुख समस्याका रूपमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई जतिसक्दो छिटो लालपुर्जा उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गर्दा उपप्रमुख अर्यालले उपभोग्य वस्तुको गुणस्तर तथा मूल्यवृद्धिलाई नियन्त्रण गर्न बजार नियमित रूपमा बजार अनुगमन गरिने र त्यसलाई प्रभावकारी बनाइने निर्णयमा हस्ताक्षर गरेकी हुन्।
वैशाख ३० गते भएको निर्वाचनको जेठ ७ गते सम्पन्न अन्तिम मत परिणाम अनुसार गठबन्धनबाट नगर प्रमुखमा उम्मेदवार बनेका नेपाली कांग्रेसका पाण्डेले एमालेका बाबुराम भट्टाराईलाई पराजित गर्दै नगर प्रमुखमा विजयी भएका थिए। पाण्डेले ३० हजार १ सय ३० मत पाएर विजयी हुँदा भट्टराईले २२ हजार ५ सय ९७ मत पाए।
त्यस्तै, उपप्रमुखमा एमालेकी सावित्रादेवी अर्यालले गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका चीनबहादुर गुरूङलाई पराजित गर्दै विजयी भएकी हुन्। अर्याल २४ हजार ९ सय ४ मतका साथ विजयी हुँदा गुरूङले १६ हजार ९ सय ८० मत प्राप्त गरे।
सोमबार नगर प्रमुख र उपप्रमुखसँगै वडा अध्यक्ष तथा सदस्यहरूको सपथ ग्रहण र पदभार गरिएको हो। यसअघि सोमबार बिहान नगर प्रमुख पाण्डेलाई जिल्ला निर्वाचन कार्यालय रूपन्देहीले भैरहवामा सपथ ग्रहण गराएको थियो।
उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरूलाई भने नगर प्रमुख पाण्डे आफैंले सपथ ग्रहण गराएका थिए।
पदभार ग्रहणपछि बोल्दै नगरप्रमुख पाण्डेले अन्य राजनीतिक दलहरूको सुझाव र सल्लाहलाई लिएर जनताको मन जित्ने गरी बुटवलको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।
पाण्डेले निर्वाचनको समयमा मतदाताको घर दैलोमा जाँदा गरेका बाचा र योजनाहरू आफ्ना प्रमुख एजेण्डा रहेको उल्लेख गर्दै बुटवलको प्रमुख समस्याको रूपमा रहेको भूमिहीन सुकुम्बासीहरूको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाईसहित शुभकामना दिँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्री, नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य लिला गिरी, निवर्तमान नगरप्रमुख शिवराज सुवेदी लगायतले प्राप्त अभिमतलाई उचित कदर गरी जनताको आशा बमोजिम काम गर्न आग्रह गरेका थिए।