बलात्कार आरोपमा पक्राउ गरिएका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरूद्ध प्रहरीले मानव बेचबिखन तथा नियन्त्रण ऐनअनुसार अनुसन्धान र कारबाही चलाउने तयारी गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई शनिबार दिउँसो स्वयम्भूबाट पक्राउ गरेको हो। यसबारे प्रहरीले आधिकारिक जानकारी दिइसकेको छैन।
शनिबार र आइतबार सार्वजनिक विदा भएकाले प्रहरीले अनुसन्धानको अनुमति लिन सोमबार मात्र उनलाई अदालत लैजानेछ। त्यसरी अनुमति लिन जाँदा प्रहरीले के विषयमा अनुसन्धान गर्ने भनेर तयारी गरिसक्नुपर्छ।
'उनीमाथि बलात्कारको आरोप भए पनि त्यसमा हदम्यादको प्रश्न छ यसबारे। तर कसुरको प्रकृति हेर्दा मानव बेचबिखनसम्बन्धी कानुन पनि आकर्षित हुन्छ। यसमा हदम्याद हुँदैन। त्यसैले मानव बेचबिखनमै कारबाही बढाउनेबारे छलफल र तयारी चलिरहेको छ,' प्रहरी स्रोतले भन्यो, 'भोलि दिनभरिमा टुंगिएला।'
पाण्डेमाथि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। आठ वर्ष पुरानो घटना भएकाले कानुनअनुसार उजुरी गर्न हदम्याद गुज्रिसकेको छ।
बलात्कार भएको एक वर्षभित्र मुद्दा चलाइसक्नुपर्ने हदम्याद मुलुकी फौजदारी कानुनमा उल्लेख छ। यसबाहेक बालबालिकासम्बन्धी ऐनले पनि बालकैमा भएको यौन शोषण र हिंसाको उजुरी १८ वर्ष पुगेको मितिले एक वर्षभित्र पीडित आफैंले गर्न पाउने कानुनी व्यवस्था छ।
आठ वर्षअघि आफूमाथि बलात्कार भएको भन्दै युवतीले भिडिओ सार्वजनिक गरेपछि सेतोपाटीले शुक्रबार महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता संजीवराज रेग्मीसँग कुराकानी गरेको थियो। यसमा बलात्कारको मात्र नभएर धेरैथरि मुद्दा आकर्षित हुने उनी बताउँछन्।
'हिजो सामाजिक सञ्जालमा मैले पनि उक्त भिडिओ हेरेँ। त्यो भिडिओमा उहाँले भनेअनुसारका घटना त बलात्कार मात्र होइन, धेरैथरिका मुद्दा आकर्षित हुने घटना हो,' रेग्मीले भने, 'बलात्कार भएको घटनामा हदम्याद गुज्रिए पनि अरू मुद्दाको हदम्याद अझै हुन सक्छ।'
उनका अनुसार उक्त घटनामा युवतीलाई एक दिनसम्म होटलमा बन्धक बनाएको, अपहरण गरेको, अभिभावकको अनुमतिबिना नाबालिगलाई यौन शोषण गर्ने उद्देश्यले एक ठाउँदेखि अर्को ठाउँसम्म लगेकोजस्ता कसुरहरू भएका छन्।
'बन्धक बनाएको र अपहरण गरेकोमा हदम्यादको कानुनी व्यवस्था भए पनि शोषण गर्ने उद्देश्यले एक ठाउँबाट अर्को ठाउँ लैजाने कसुरमा भने अहिले पनि उजुर गर्न सकिन्छ,' प्रवक्ता रेग्मीले भनेका थिए।
वरिष्ठ अधिवक्ता सतिसकृष्ण खरेल पनि यो घटनामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ आकर्षित हुने बताउँछन्।
उक्त ऐनको दफा ४ को उपदफा २ (ख) ले 'वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाई, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबर्जस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्ति दुरूपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाकधम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिने' कार्यलाई मानव ओसारपसार भनेको छ।
यस्तो कसुर गरेको, गरिरहेको वा गर्न लागेको थाहा पाउने जोसुकै व्यक्तिले नजिकको प्रहरी कार्यालयमा उजुर गर्न सक्ने व्यवस्था उक्त कानुनमा छ। यस्तो उजुरी गर्ने हदम्याद कानुनमा तोकिएको छैन।
पीडितले यस्तो उजुर गर्नेबित्तिकै प्रहरीले बयान प्रमाणित गराउन पहिले अदालत लैजानुपर्ने हुन्छ। पीडकलाई प्रहरीले तत्काल पक्राउ गर्न सक्छ। आफू निर्दोष रहेको प्रमाण पुर्याउने जिम्मा अभियुक्तकै हुने कानुनमा उल्लेख छ।
वरिष्ठ अधिवक्ता खरेलले ती युवतीले अहिले पनि यो मुद्दामा उजुरी गर्न सक्ने, प्रहरीले अनुसन्धान गर्न सक्ने र मुद्दा अघि बढ्ने सम्भावना भएको बताए।
उनका अनुसार यो घटनामा युवतीलाई झुक्याएर होटल बोलाएको, बेहोस पारेको र बेहोसीकै अवस्थामा आफ्नो शक्ति दुरूपयोग गरी नियन्त्रणमा राखेको कसुर स्थापित हुन सक्छ।
त्यसो गर्नेलाई उक्त ऐनको दफा १५ (छ) बमोजिम कारबाही हुने व्यवस्था छ। यो दफाअनुसार शोषण गर्ने उद्देश्यले ओसारपसार गरेकोबाहेक पनि दफा ४ को उपदफा (२) को खण्ड (ख) बमोजिमका कसुर गर्नेलाई सातदेखि दस वर्ष कैद हुनेछ।
वरिष्ठ अधिवक्ता खरेलका अनुसार यो घटनामा मानव ओसारपसारसम्बन्धी कानुनबमोजिमको मुद्दा मात्र अदालत गयो भने पनि बलात्कार भएको हो कि होइन भन्नेबारे अदालतले बोल्न सक्छ।
सर्वोच्च अदालतसम्मै मुद्दा पुग्यो र अदालतले चाह्यो भने बलात्कार घटनामा हदम्यादसम्बन्धी कानुनको व्याख्या गरेर पीडकलाई मुद्दा चलाउनेसम्मको आदेश हुनसक्छ।
युवतीले आफूमाथि बलात्कार भएको भन्दै भिडिओमार्फत् घटना सार्वजनिक गरेकी थिइन्। यो घटनाबारे संसदमा पनि कुरा उठेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिएका थिए।
सामाजिक सञ्जालमा युवतीको भिडिओ आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि यो घटना पछ्याइरहेको थियो।
प्रहरी उपरीक्षक कृष्ण कोइराला र परामर्शदातासहितको टोली ती बालिकालाई भेट्न उनकै घर पुगेको थियो। टोलीले ती बालिकालाई जाहेरी दिन सकिने प्रक्रियाबारे र यसमा आकर्षित हुने मुद्दाहरूबारे जानकारी गराएको थियो। यसबीच त्यही टोलीले मनोज पाण्डेलाई पनि पछ्याइरहेको थियो। स्रोतका अनुसार केही कामले पाण्डे पोखरा पुगेका थिए। उक्त घटना सार्वजनिक भएपछि उनी काठमाडौं आएका थिए।
'काठमाडौं आएर उनी फोनहरू स्विचअफ गरेर बसेका थिए,' स्रोतले भने, 'पछि हामीले अरू माध्यमबाट उनलाई पछ्याएर समाएका हौं।'
घटना सार्वजनिक भएयता पाण्डेले वकिलहरूसँग पनि परामर्श लिएको खुलेको छ।
अहिले यस घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन भएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवर, प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य छन्।
पाण्डेको मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र सुन्दरी प्रतियोगिता तथा कार्यक्रमहरू आयोजना गर्छ। मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको ती युवतीले बताएकी छन्।
मिस ग्लोबल प्रतियोगितामा आफू पनि छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालक पाण्डेले सफलताको पार्टीका लागि नयाँबानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले बताएकी छन्। आफू त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही नभएको उनले भनेकी छन्।
उनका अनुसार किन कोही नभएको भनेर सोध्दा ती सञ्चालकले 'तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच-छ बजेबाट पार्टी सुरू हुन्छ' भनेका थिए। एकछिन बसेपछि उनले किशोरीलाई 'लेमोनेड' खान दिए।
'लेमोनेड खाएको केही समयपछि रिंगटा लागेजस्तो भयो। म घर जान्छु भन्दै निस्किन लाग्दा उनले रोके,' उनले भनेकी छन्, 'अहिले नजाऊ, पार्टीमा केटीहरूले ड्रिंक गरेपछि उनीहरूलाई गाह्रो हुन सक्छ भनेर हामीले कोठा बुक गरेका छौं, त्यहाँ गएर आराम गर भनेर मलाई कोठामा लगे।'
यसपछि आफूलाई राम्ररी होस नभएको उनले बताएकी छन्।
बीचबीचमा आफू ब्युँझिँदा पाण्डेले आफूलाई बलात्कार गरिरहेको उनले बताएकी छन्।
बिहान घर जाने बेला ती व्यक्तिले 'यो कुरा कसैलाई नभन्नू, मसँग तिम्रो फोटो र भिडिओ छ, सार्वजनिक गरिदिन्छु' भनेर धम्क्याएको पनि उनले बताएकी छन्।
त्यति बेला आफू १६ वर्षको भएको पनि उनले भिडिओमा भनेकी छन्। पाण्डेले त्यसपछि छ महिनासम्म पटकपटक आफूलाई बलात्कार गरेको उनको भनाइ छ। उनले ६ महिनापछि आफ्ना साथीको सहयोगमा ती व्यक्तिको कन्सल्टेन्सीमै गएर सबै कर्मचारीका अगाडि यो घटनाबारे बताएको उल्लेख गरेकी छन्।
ती व्यक्तिले पठाएका म्यासेज र कल रेकर्ड सबैलाई देखाएको पनि उनले बताएकी छन्।
आफ्ना साथीले ती सञ्चालकलाई कुटपिट गरेको र उनले राखेको भनेका फोटो र भिडिओ हटाउन लगाएको युवतीले भनेकी छन्। यो घटनापछि कामका लागि अर्को कन्सल्टेन्सी जाँदा त्यहाँ पनि यौन दुर्व्यवहार सामना गर्नुपरेपछि आफूले मोडल बन्ने सपनै छाडिदिएको उनले बताएकी छन्।