भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।
सोमबार परेको २५६६ औं बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदै छन्।
लुम्बिनी विकास कोषले मोदीको स्वागतको लागि लुम्बिनीमा सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।
मोदी लुम्बिनी आउने कार्यक्रम तय भएपछि लुम्बिनीमा सुरक्षा व्यवस्थापनसँगै उनको स्वागतको लागि विशेष तयारी गरिएको छ।
मोदीको सुरक्षा तथा अन्य व्यवस्थापनको लागि यसअघि नै उनको सुरक्षामा खटिने स्पेशल प्रोटेक्सन गार्ड (एसपिजी) को टोली लुम्बिनी आइपुगेको थियो।
उक्त टोलीले मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाले भेटवार्ता गर्ने होटल पवन प्यालेसमै रहेर केही दिनदेखि सम्पूर्ण सुरक्षाको व्यवस्थापन गरेको छ।
मोदी आउने भएपछि आज दिनभर त्यसको पूर्वअभ्यास समेत गरिएको थियो।
दिउँसो २ वटा हेलिकप्टरमार्फत् आएको भारतीय सुरक्षा फौजले मोदी चढेको हेलिकप्टर अवतरणका लागि लुम्बिनीमा निर्माण गरिएका हेलिप्याडको सुरक्षा जाँच गरी फर्किएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी आइसकेका छन्। देउवा लुम्बिनीको होटल कसाईमा बसेका छन् भने उनीसँगै विभागीय मन्त्रीहरू समेत लुम्बिनी पुगिसकेका छन्।
लुम्बिनीमा पहिलो पटक आउन लागेका मोदीको सुरक्षालाई ध्यानमा राखी नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका सेनापति प्रभुराम शर्मा पनि लुम्बिनीमै छन्।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीका अनुसार मोदी भोलि बिहान ११ बजे हेलिकप्टरमार्फत् सिधै लुम्बिनी आइ पुग्नेछन्।
मोदी चढेको हेलिकप्टरसँगै अन्य तीन वटा हेलिकप्टरमार्फत् भारतीय सरकारका उच्च अधिकारी तथा सुरक्षाको टोली लुम्बिनीमै अवतरण गर्ने छन्। लुम्बिनी अवतरण गरेपछि मोदीले सबभन्दा पहिले मायादेवी मन्दिर दर्शन गर्ने छन्।
मोदीले मायादेवी मन्दिर दर्शनसँगै मन्दिरभित्र रहेको मार्कर स्टोनमा पुष्प अर्पणसहित पूजा गर्ने, पुष्करणी पोखरीको अवलोकन गर्ने र अशोक स्तम्भ अगाडि दीप प्रज्वलन गर्ने छन्। त्यसपछि मायादेवी मन्दिरमा रहेको बोधीवृक्षमा जल सेचन गरी आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी आएको बखत भारतले लुम्बिनीमा निर्माण गर्ने भनिएको बिहारको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ। मोदीले प्रधानमन्त्री देउवासँगै संयुक्त रूपमा उक्त बिहारको शिलान्यास गर्नेछन्।
बिहारको शिलान्यासपछि केहीबेर होटल पवन प्यालेसमा विश्राम गरी दुई देशका सरकार प्रमुखबीच वार्तासहित संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना समेत गरिएको छ। उक्त भेटवार्ताको तयारी पनि पवन प्यालेसमै गरिएको छ।
संयुक्त रूपमा पत्रकार सम्मेलनपछि लुम्बिनीमा नवनिर्मित सभा हलमा आयोजित बुद्धजयन्ती समारोहमा सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ।
लुम्बिनी विकास कोषका अनुसार उक्त कार्यक्रम सम्बोधनपछि मोदी दिउँसो ३ बजे हेलिकप्टरमार्फत् नै नयाँदिल्ली फर्किने छन्।
अहिले लुम्बिनीमा मोदीको स्वागतको लागि प्रवेशद्वार निर्माण गरिएका छन्। सडकको दायाँबायाँ दुई देशका राष्ट्रिय झण्डा टांगिएको छ।
मायादेवी मन्दिरलाई झिलिमिली बत्तिले सजाएर चिटिक्क पारिएको छ। बुद्ध जयन्ती मूल समारोह हुने नवनिर्मित सभाहल पनि सजाएर आकर्षक पारिएको छ।