स्थानीय चुनावको रौनकले धरान सहरलाई छपक्कै छोपेको छ।
चुनावी हारजीतको गणित केलाउन व्यस्त धरानमा यही सहरको वैभव मानिने बिपी प्रतिष्ठान सुधारको आन्दोलन पनि चलिरहेको छ।
यसपटकको बिपी सुधार आन्दोलनको नेतृत्व गर्न धरान आफैं अग्रसर भने भइसकेको छैन। यहाँ जारी आन्दोलन हाँक्न काठमाडौंका अभियन्ताहरू धरान ओर्लेका छन्। महिना दिनभन्दा लामो समयदेखि धरानमै बसेर स्थानीयबासीलाई बिपी प्रतिष्ठान सुधारको आन्दोलनमा होमिन निरन्तर घच्घच्याइरहेका यी अभियन्ताहरू क्रमशः जनसहभागिता बढाउन सफल भइरहेका छन्।
बिपी प्रतिष्ठान मुखैको सडकमा एउटा समूह ३३ दिनदेखि धर्नारत छ। यो समूह कहिले र्याप गाउँछ, अनि कहिले नाटक देखाउँछ। चुनावी चटारोका बेला पनि उनीहरूका र्याप र नाटक दलीय आग्रहमुक्त छन्। तिनमा बिपी प्रतिष्ठानको फिक्री छ। नाटकमा प्रतिष्ठानभित्रको बेथिति अन्त्यको आह्वान छ।
प्रतिष्ठानभित्रको बेथितिहरू अन्त्य गर्नुपर्ने ३२ सुत्रीय मागले एक महिनाभन्दा बढी समययता ‘हामी नेपाल’ नामक अभियानलाई धरानको सडकमा ओह्रालेको छ। अभियान चल्दै जाँदा स्थानीय समुदायको समर्थन र साथ पनि थपिँदै गएको छ।
यो अभियानका सुत्राधार काठमाडौंबासी छन्। उनीहरू धरानमै लामो समयदेखि बसेर बिपी सुधार अभियानमा खटिरहेका छन्।
तिनैमध्येकी एक हुन् सृष्टि श्रेष्ठ। हामी नेपाल अभियानकी प्रमुख सञ्चार अधिकारीसमेत रहेकी श्रेष्ठ पेशाले ‘नेल टेक्निसियन’ हुन्। धरानमै घर भए पनि उनी पाँच वर्षयता काठमाडौंमै बसेर काम गर्दै आएकी थिइन्। केही समय अघिको एउटा घटनाले भने उनी र उनका साथीहरूलाई धरानमै डेरा जमाएर आन्दोलनमा होमिनुपर्ने बाध्यतामा पुर्यायो।
उनका अनुसार हामी नेपाल अभियानका अध्यक्ष सुदन गुरूङ केही महिनाअघि एक जना बिरामी लिएर मध्यरातमा धरान आइपुगे। झापाबाट बिरामी लिएर प्रतिष्ठानको आकस्मिक कक्षमा पुग्दा भुइँभरी बिरामी थिए। कोही बेडको खोजीमा थिए, आइसियूमा भर्ना गर्नुपर्ने आकस्मिक कक्षकै बेडमा छटपटाइरहेका थिए। डाक्टर/कर्मचारीहरू आइसियू बेड नै खाली नभएको बताउँथे।
‘आइसियूमा बेड पाउन त्यहाँ भर्ना भएको कुनै बिरामीको ज्यान जानुपर्ने वा कोही निको भएर जानुपर्ने अवस्था छ,’ सृष्टिले भनिन्, ‘त्यस्तो अवस्था देखेपछि हामीले यसको सुधारका लागि केही गरौं भनेर पहल थाल्यौं।’
त्यही पहलस्वरूप उनीहरूले बिपीका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीलाई उनीहरूले भेट्न खोजे। पत्रमार्फत् ध्यानाकर्षण गराए। तर, प्रतिष्ठानभित्रैका चिकित्सकहरूले सय दिनभन्दा लामो आन्दोलन गर्दासमेत देखेकोनदेख्यै गरेको प्रतिष्ठान नेतृत्वले युवा अभियन्ताहरूलाई वास्ता गरेन। स्थानीयबासीसहितको टोली लिएर गएर पनि ध्यानाकर्षण गराउने पहल पनि कामयाब नभएपछि उनीहरूले प्रतिष्ठान अगाडिको सडकमा ३३ दिनअघिबाट धर्ना सुरू गरे।
सुरूमा धरानमा ‘सेभ घोपा क्याम्प’ भन्ने अभियान चलाए ( बिपी प्रतिष्ठानलाई स्थानीयबासी ‘घोपा क्याम्प’ भन्ने गर्छन् )। त्यसपछि धर्ना थालेको अभियानमा दिनैपिच्छे जनसहभागिता बढ्दै गएको छ।
प्रतिष्ठान सुधारको आन्दोलनकै लागि काठमाडौंबाट आएका अभियानका पाँचमध्ये सृष्टि आफ्नै घरमा बसेर आन्दोलनमा सहभागी भइरहेकी छन्। उनका अरू साथीहरू धरानकै एक जनाले उपलब्ध गराइदिएको एउटा कोठामा बसेर आन्दोलनमा सहभागी भइरहेका छन्।
बुधबार यो धर्ना अभियानले ३३ दिन पूरा गरेको छ। ३२ औं दिन मंगलबारदेखि सबै धर्नाकारी हातमा भाटा लिएर सडकमा उपस्थित हुन थालेका छन्।
‘हामी ३३ दिनदेखि यही सडकमा निरन्तर धर्नामा छौं। ३२ औं दिनदेखि हातमा भाटा र लाठी लिएर उपस्थित हुन थालेका छौं ’ सृष्टिले भनिन्, ‘बिपी प्रतिष्ठानभित्रको अवस्था सुधार्नुपर्ने हाम्रो माग यसैगरी बेवास्ता भइरहे यही भाटा र लाठी बोकेर हामी भित्र पस्नेछौं।’
अभियानका अगुवा सुदन गुरूङ बिपी प्रतिष्ठानका पदाधिकारीहरू तथा नेतृत्वमा रहेका जिम्मेवार सबैले जनताको माग नसुनेको बताउँछन्।
‘सुधार गरौं भन्ने आवाज पटक्कै नसुन्ने प्रतिष्ठान नेतृत्वले कुनै रेस्पोन्स गरेन। अब त अति भयो भनेर हातमा लाठी बोकेर सडकमा धर्नारत छौं,’ उनले धर्नास्थलमा सम्बोधन गर्दै भने, ‘बेवास्ताको क्रम यसरी बढ्दै गए यी लाठी र भाटा बोकेर हामी प्रतिष्ठानभित्रै छिर्नेछौं। जनताले सजिलै स्वास्थ्य सेवा पाउने अवस्था बनाउनु हाम्रो लक्ष्य हो।’
हामी नेपालको अगुवाइमा चलिरहेको यो आन्दोलनलाई प्रतिष्ठानकै चिकित्सक तथा धरानबासीले सहयोग गरिरहेका छन्।
हरेक दिन चार बजे सुरू हुने धर्ना साँझ साढे ६ बजेसम्म चल्ने गरेको छ। त्यसक्रममा कसैले खानेपानी सहयोग गरेका छन्। कसैले साउण्ड सिस्टममा सहयोग गरेको अभियन्ताहरू बताउँछन्।
यस्ता छन् आन्दोलनका माग
यसअघि प्रतिष्ठानका चिकित्सक, विद्यार्थी र कर्मचारीहरूले अघि सारेको मागभन्दा फरक छैन अहिलेको आन्दोलनको माग। फरक यत्ति हो, अहिलेको आन्दोलनको मागमा सेवाग्राही सर्वसाधारण केन्द्रमा छन्।
बिपी प्रतिष्ठानमा अहिले ओपिडीको टिकट पाउन होस् अथवा पैसा तिर्न सर्वसाधारणले बिहान पाँच बजेदेखि नै आएर लाइनमा बस्नुपर्ने बाध्यता छ। यो समस्याबाट सर्वसाधारणलाई मुक्ति दिन ४ देखि पाँच वटा काउन्टर बनाउनुपर्ने यो अभियानको मुख्य माग छ।
त्यस्तै अस्पताल आएको बिरामीले घन्टौंसम्म पालो कुरेर बस्नुपर्ने बाध्यता छ। कम्तीमा एक सय वटा आइसियू बेड चाहिने भनेर विज्ञहरूले भन्दै आए पनि जम्मा १६ वटा बेड मात्रै छ। यो अवस्था तत्काल सुधार्न पनि अभियानको माग छ।
शल्यक्रियाका लागि महिनौं पालो कुर्नुको साटो हप्ता दिनमा पालो आउने व्यवस्था गर्न, अल्ट्रासाउण्डको पालो पनि सोही दिन आउने व्यवस्था मिलाउन, प्रतिष्ठानभित्रै सबै परीक्षणको प्रबन्ध गर्न, ल्याबको रिपोर्ट सकेसम्म छिटो दिन, भित्रै फार्मेसी चलाउन, हरेक दिन ५ बजेसम्म विशेषज्ञ चिकित्सक उपलब्ध हुने व्यवस्था मिलाउन र वार्ड, इमर्जेन्सी, ओटी लगायतका ठाउँमा अत्यावश्यक उपकरणको प्रबन्ध गर्न अभियानले माग गरेको छ।
बिग्रेर थन्किएका मेसिनहरू मर्मत गर्न, परीक्षण उपकरणहरू थप्न, हरेक दिन हुने खरिद र कारोबारको विवरण वेबसाइटमा राखेर सार्वजनिक गर्न, स्टोरमा बारकोड प्रणाली लागु गरेर सामानहरू इन्ट्री गर्न, ल्याबको अडिट गर्न, हाजिर मात्रै गरेर हिँड्ने कर्मचारी, चिकित्सक र शिक्षकहरूलाई कारबाही गर्न, स्वास्थ्य सेवाको गुणस्तर बढाउन, विभिन्न विभागमा बेडहरू थप्न पनि अभियानको माग छ। त्यस्तै यो अभियानले बैकुण्ठ अर्याल नेतृत्वको समितिले दोषी ठहर गरेका पदाधिकारीहरूलाई कारबाहीको माग पनि गरेको छ।
बेथितिको चाङ
सन् १९९३ मा चिकित्सा शास्त्रका विद्यार्थी पढाउने, बिरामीको उपचार गर्ने र अनुसन्धान गर्ने तीन वटा मुख्य लक्ष्यसहित स्थापना भएको प्रतिष्ठान पछिल्लो समय बेथिति र अनियमितताको केन्द्र जस्तो बनेको छ। विभिन्न समयमा गठित छानबिन समितिहरूले यस्तो निष्कर्ष निकालेका थिए।
बिपीमा अवस्था यस्तो छ कि नियमित रूपमा पाउनुपर्ने पारिश्रमिक माग्न पदाधिकारीको कार्यकक्षमा ताला लगाउनुपर्छ। विद्यार्थीका लागि इन्टरनेट उपलब्ध गराउन, खानेपानी उपलब्ध गराउनदेखि बिरामीको राम्रो रेखदेख गराउनसमेत आन्दोलन नै गनुर्पर्ने अवस्था छ।
धरानका एक चिकित्सकका अनुसार यहाँको अनियमितता पदाधिकारीहरूको संरक्षणमा जारी छ। ती चिकित्सकका अनुसार उपकुलपतिसहितका पदाधिकारीहरूले राजनीतिक संरक्षणको आडमा चलाएको मनपरी वर्षौंदेखि जारी छ।
प्रतिष्ठानको समस्या अध्ययन गर्न एक वर्षयता गठित विभिन्न अध्ययन समितिले बिपीका सबै पदाधिकारीलाई कारबाही गर्न र त्यसका लागि तत्कालै सिनेट बैठक बोलाउन सरकारलाई सुझाव दिएका थिए।
गएको चैत २० गतेका लागि आह्वान गरिएको सञ्चालक परिषद (सिनेट) बैठक सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेशमार्फत् रोकेपछि बिपी फेरि तदर्थवादमै चलेको छ।
यसक्रममा सरकारले विभिन्न छानबिन समिति बनाएको थियो। आधा दर्जनभन्दा बढी छानबिन समिति प्रतिवेदनले बिपीका पदाधिकारीहरूले पदीय आचारण अनुकूल काम नगरेको पाइएको भन्दै सिनेटबाट कारबाही गर्न सिफारिस गरेका थिए।
प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव वैकुण्ठ अर्याल नेतृत्वको छानबिन समितिले गएको असारमा छानबिन प्रतिवेदन बुझाएयता प्रतिष्ठानमा त्यस्ता प्रतिवेदनको चाङ लागेको छ।
मेडिकल शिक्षा र स्वास्थ्य सेवाका लागि मुलुककै अग्रणी मानिने बिपी प्रतिष्ठान राजनीतिक भर्तीकेन्द्र बनेको, दलीय आडमा नियुक्ति लिएर आउने पदाधिकारीले प्रतिष्ठानको शैक्षिक तथा आर्थिक पाटो ध्वस्त पारेको भन्दै शुद्धीकरणको माग गर्दै प्रतिष्ठानका चिकित्सक र विद्यार्थीले २०७८ असार १ बाट आन्दोलन सुरू गरेका थिए।
त्यसक्रममा उपकुलपति ज्ञानेन्द्र गिरीको प्राध्यापक पद किर्ते भएको, आर्थिक तथा शैक्षिक अनियमितता भएको आरोपसहित चिकित्सक विद्यार्थीले लामो आन्दोलन गरेका थिए।
शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेपछि वार्ता समिति बनेर सहमति भएपछि आन्दोलन मत्थर भएको थियो।
यसरी निरन्तरजसो चलेको आन्तरिक आन्दोलन अहिले पूरै सेलाएको छ। यसमा सर्वोच्चको आदेशले काम गरेको चिकित्सकहरू बताउँछन्। भित्रैको आन्दोलन सेलाएपछि अहिले हामी नेपालको अगुवाइमा सर्वसाधारण आन्दोलित छन्।
चुनावको मुखैमा चलिरहेको आन्दोलनमा धरानको नयाँ पुस्ता बढी सहभागी छ। पाकाहरू पनि उत्तिकै सहभागी छन्। तर, यो आन्दोलनलाई बिपी नेतृत्वले बेवास्ता गरेजत्तिकै दलहरू र अहिले उम्मेदवार बनेका नेताहरूले पनि उदासिनता दर्शाएको अभियन्ताहरूको भनाइ छ।
‘अहिले चुनाव चुनाव भन्दै नेताहरू हिँडिरहेका छन्,’ धरान-१३ का दिपेश घिमिरे भन्छन्, ‘तर बिपीजस्तो संस्थालाई यहाँका दलहरूले पूरै बेवास्ता गरेका छन्। काठमाडौंबाट आएर अभियन्ताहरूले हामीलाई जगाउनु पर्ने अवस्था यहाँका लागि लज्जाको विषय हो।’
उनले बिपी जोगाउने आन्दोलनलाई दलहरूले र स्थानीय चुनावका उम्मेदवारले मुख्य मुद्दा बनाउनु पर्ने बताए।