चितवनको राप्ती नगरपालिकाको वडा नम्बर २ का विष्णुलाल चेपाङ र श्रीमती आइतीमाया सानो चिटिक्क परेको घरको पिँढीमा बसिरहेका छन्। साढे तीन वर्ष पुगेकी नातिनी एलिना आँगनमा खेलिरहेकी छन्।
यी नाबालिकाले गत वर्षको साउनमा बाबु गुमाएकी थिइन्। उनका बाबु राजकुमार चेपाङको चितवन राष्ट्रिय निकुञ्जभित्र घोंगी खोज्न जाँदा नेपाली सेनाको कुटाइबाट मृत्यु भएको थियो।
सामान्य झुप्रोमा बस्दै आएको परिवारको जेठो छोरा थिए राजकुमार। उनैको कमाइमा आश्रित थियो परिवार। उनको मृत्युपछि श्रीमती रिपुमायाले पनि परिवार त्यागिन्। झुप्रो थप अन्धकार बन्यो।
त्यही झुप्रोमा अहिले चिटिक्कको घर ठडिएको छ। घर बनाउनका लागि राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाले आर्थिक सहयोग गरेका थिए।
‘आफ्नै क्षेत्रका बासिन्दाको सेनाको कुटाइबाट मृत्यु भएको, घरको जिम्मेवार मान्छेकै निधन भएपछि निकै समस्या भइरहेको देखें,’ उपमेयर लामाले भने, ‘हरेक वर्ष आफ्नो तलब, सुविधाबाट एक विपन्न परिवारलाई घर बनाउने लक्ष्य राखेको थिएँ। यसमा थप गरेर राजकुमारको घर बनाउन पनि सहयोग गरें।’
घर राजकुमारको परिवारलाई दुःखमा मल्हम लगाउने साधन बनेको छ।
‘घरविहीन हामीले घर पायौं यसबाट हामी खुसी छौं,’ बाबु विष्णुलालले भने, ‘छोराको मृत्युमा संलग्न सेनाका जवानलाई अदालतले जन्मकैदको फैसला गर्यो, यसबाट न्याय पनि पाएको अनुभूति भएको छ।’
उपमेयर लामाले निर्वाचित भएको २०७४ सालमा वडा नम्बर ४ की एकल महिला मंगलीमाया चेपाङको घर बनाउन आर्थिक सहयोग गरेका थिए।
२०७५ सालमा वडा नम्बर ६ का विपन्न तथा अशक्त कुलमान चेपाङको घर बनाइदिए।
२०७६ सालको तलब, सुविधा वडा नम्बर ६ की हिंसा पीडित बालिका अनुजा परियारको घर बनाइदिए। २०७७ सालमा उनले वडा नम्बर १ मा जंगली हात्तीले क्षति गरिदिएको झाँक्री बा भनेर चिनिने अमरबहादुर चेपाङको घर बनाइदिएका थिए।
उनले यस वर्ष राप्ती नगरपालिकाकै घरबारविहीन जीवन चेपाङको लागि पनि सम्पूर्ण खर्च व्यहोरेर घर बनाइदिए।
यी घरहरू निर्माण गर्न १ लाख ५० हजार रुपैयाँदेखि ३ लाख पचास हजार रुपैयाँ खर्च भएको थियो।
विगतमा तीन वर्ष लुम्बिनी विकास कोषको निर्देशक भएर काम गरेका लामा आफ्नै ठाउँमा सेवा गर्ने उद्देश्यले गत निर्वाचनमा उपमेयर पदमा चुनाव लडेका थिए।
‘आफ्नै ठाउँको सेवा गर्छु भनेर नै म लुम्बिनी विकास कोषको महत्वपूर्ण जिम्मेवारी पनि छाडेर यहाँ आएको थिएँ,’ उनले भने, ‘जितेपछि आफ्नो सबै तलब सुविधा जनताको सेवामा खर्चन्छु भनेर प्रण गरेको थिएँ। त्यही अनुसार काम गरें भन्ने लाग्छ।’
उपमेयर लामा कोरोना महामारीको समयमा पिपिई लगाएर बिरामीलाई अस्पताल लैजाने काममा सक्रिय थिए।
उनले लकडाउनको समयमा सार्वजनिक यातायातको सेवा नपाएर उपचारबाटै बञ्चित बिरामीहरूलाई आफ्नै गाडीमा राखेर अस्पताल पुर्याउने, उपचारमा सहजीकरण गर्ने र घर पुर्याइदिने गरेका थिए।
‘त्यतिखेर एम्बुलेन्स पनि जो पाए त्यही बिरामीलाई बोक्न मान्थेनन्, कुनै उपाय नलागेर आफ्नो जनप्रतिनिधिलाई फोन गरी गुहार्ने जनताको दुःखमा सहयोग गर्नुलाई मैले आफ्नो कर्तव्य सम्झिएँ,’ लामाले भने, ‘दिनरात नभनी दीर्घरोगीको सेवामा खटिएँ।’
उनले त्यतिखेर क्यान्सर, मुटु, मिर्गौला, दम लगायतका समस्या भएका २ सय २७ जना बिरामीहरूलाई प्रत्यक्ष रूपमा सेवा दिएको बताए।
‘उहाँहरू अहिले पनि अस्पताल जानुपर्यो भने उपमेयर ज्यू लौन भन्नुहुन्छ,’ उनले भने, ‘म फुर्सद भएसम्म आफैं खट्छु, नमिलेको समयमा समन्वय गरिदिन्छु।’
उनी कोरोनाले आक्रान्त पारेको समयमा आफ्नो कार्यक्षेत्रभित्रका करिब एक सय जना विपन्न, अशक्त, अपांगता भएकाको घरमा केही महिनालाई पुग्ने खाद्यान्न बोकेर आफैं पुगे।
‘म आफैं बुद्ध धर्मको अनुयायी र विद्यार्थी हुँ। त्यसैले म दुःख आपतमा सकेको सहयोग गर्नुपर्छ भन्ने सोच राख्छु। सकारात्मक सोच राख्नुपर्छ भन्ने मान्यता राख्छु,’ उनले भने, ‘त्यसैले पनि होला कोरोना महामारीमा त्यतिधेरै बिरामीसँग उठबस गर्दा पनि मलाई कहिल्यै कोरोना पोजेटिभ भएन।’
उपमेयर लामाले साक्षीसमेत नपाएर नागरिकता प्रमाणपत्रबाट बञ्चित एक सय भन्दा बढीको आफैंले सनाखत गरेर नागरिकता बनाउन समन्वय गरिदिए।
‘साक्षी बस्ने कोही पनि भएनन् भनेर आउनेलाई मैले नेपालको नागरिकको नाताले सनाखत गरिदिएँ। आफैंले जिल्ला प्रशासन कार्यालय लगेर नागरिकता बनाउन सहयोग गरिदिने गरेको छु,’ उनले भने।
नेकपा एमाले भित्रको इमान्दार नेताको छवी बनाएका उपमेयर लामाले न्यायिक समितिको संयोजक भएर काम गर्दा करिब ६ सय मुद्दाको छिनोफानो गरे।
उनको नेतृत्वले गरेको फैसलामा चित्त नबुझेर कोही पनि पुनरावेदनका लागि अदालत गएन। कानुन मन्त्रालयले गर्ने मूल्यांकनमा राप्ती नगरपालिकाले शत प्रतिशत अंक ल्यायो।
‘हाम्रो फैसलाको चित्त नबुझेर अदालत जाने त कुरै छाडौं, फैसला चित्त बुझेन भनेर गुनासो गरेको पनि मैले सुनेको छैन,’ लामाले भने, ‘न्यायिक कार्य सम्पादनमा राप्ती नगरपालिका देशमै अब्बल बनेको छ।’
लामाले उपमेयर भएर जनताको सेवामा खट्दा जनताका समस्याहरू नजिकबाट देख्ने अवसर पाएको बताए।
‘जनताको इच्छा, चाहनालाई पनि नजिकबाट नियाल्ने अवसर मिल्यो,’ उनले भने’, उनले भने, ‘धेरैले अब मेयर बन्नुपर्छ भन्नुभएको छ। मेरो विषयमा सबै कुरा पार्टीका नेतृत्वलाई पनि थाहा छ। उहाँहरू छलफलमै हुनुहुन्छ, उचित निर्णय लिनुहुन्छ भन्ने विश्वास छ।’
उनले राप्ती नगरपालिकाको मेयर बनेर जनताको सेवा गर्ने इच्छा भएको बताए।