गत बुधबार चितवन आउँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीको दाबी रहेको बताएका थिए।
कुनै अर्को पार्टीसँग तालमेल नगरे माओवादीले यहाँ चुनाव जित्न सक्दैन, यसअघिझैँ उसले नेपाली कांग्रेससँगै तालमेल गर्नुपर्छ। सत्तारूढ गठबन्धनमा एकै ठाउँ रहेका यी दुई दलले भरतपुरमा तालमेल गर्छन् कि गर्दैनन्? गरे मेयर कसको हुन्छ भन्नेमा धेरैको चासो छ।
कांग्रेसले स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धनमा रहेका दलहरूबीच तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट भरतपुर पुगेका दाहाललाई विमानस्थलमा पत्रकारहरूले सोधे– तालमेल भयो भने भरतपुरको मेयरमा के हुन्छ?
उनको छोटो जवाफ थियो– भरतपुरको मेयरमा हाम्रो दाबी रहन्छ। गठबन्धनको बैठकले महानगरको उम्मेदवारबारे निर्णय गर्छ।
भोलिपल्ट बिहीबार भएको बैठकले यसबारे निर्णय गरेन। प्रचण्डले आफ्नै पार्टीको दाबी रहने भने पनि यसपालि फेरि भरतपुर मेयर छोड़ने मनस्थिति कांग्रेस नेता-कार्यकर्ताको देखिन्न।
आइतबार कांग्रेस चितवनको बैठकले निर्वाचनमा स्थानीय तहहरूमा गठबन्धनमा तालमेल गर्ने निर्णय गरेको थियो। तालमेल गर्दा भरतपुर महानगरपालिकाको मेयर पद भने यसपटक नगुमाउने निर्णय पनि गरेको थियो। अन्य नगरपालिकाको हकमा ‘संयन्त्र बनाएर तालमेल गर्ने’ निर्णय भयो।
सोमबार चितवनका पाँच राजनीतिक दलहरूको बैठक बस्यो। त्यो बैठकले जिल्लाका सातवटै तहमा तालमेल गर्ने निर्णय गर्यो। बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा सबै पालिकामा गठबन्धनका दलहरूको संयुक्त संयन्त्र बनाएर छलफल अघि बढाउने उल्लेख गरिएको थियो।
गठबन्धनको बैठकमा सहभागी कांग्रेसका जिल्ला उपसभापति राजीव न्यौपानेले अन्य स्थानीय तहमा तालमेलका लागि सबै पदका हकमा छलफल हुन सक्ने भए पनि भरतपुर महानगरको मेयर पद छाड्न नसकिने धारणा पार्टीको तर्फबाट स्पष्टरूपमा राखेको बताए।
‘हाम्रो पार्टीका कार्यकर्ताहरू यसपटक अन्य दलसँग तालमेल गर्नै हुँदैन भन्ने मनस्थितिमा छन् तर केन्द्रको निर्णयअनुसार तालमेल गर्ने निर्णयमा हामी पुग्यौँ,’ उनले भने, ‘हामीले भरतपुरको मेयरमा कुनै हालतमा दाबी नछाड्ने अडान राखेका छौँ।’
चितवनबाट कांग्रेसको केन्द्रीय समितिमा रहेका नेताहरू टेकप्रसाद गुरुङ र दिनेश कोइरालाले केन्द्रीय समितिको बैठकमा चितवनमा यसपालि गठबन्धन गर्न नहुने माग राखेका थिए। गुरुङले त तालमेल भएर फेरि रेनु दाहाललाई भरतपुरको मेयर पदको उम्मेदवार बनाइए कांग्रेस कार्यकर्ताले नेकपा एमालेलाई मत हालेर जिताउने चेतावनी दिएका थिए।
केही साताअघि चितवनमा एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गगन थापाले रूख चिह्नमा मात्रै भोट हाल्न पाउनुपर्ने जिल्लाका कार्यकर्ताको आकांक्षाको केन्द्रले सम्मान गर्ने बताएका थिए। नेता शेखर कोइराला पक्ष गठबन्धनका विपक्षमा उभिएका थिए।
केन्द्रीय नेता र कार्यकर्ताले दबाब बढाउँदै लगेपछि कांग्रेसको नेतृत्वले माओवादीमाथि पनि दबाब बढाएको कांग्रेस नेताहरूको दाबी छ। बरु प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा प्रचण्डको जिताउन लागि पर्ने भरतपुरको मेयर पद नछोड्ने एक नेताले बताए।
तर माओवादीलाई पनि भरतपुर छोड्न सजिलो छैन। भरतपुर मात्र यस्तो महानगर हो जहाँ उसले मेयर दाबी गर्ने हैसियत राख्छ।भरतपुरकी मेयर रेनु दाहालले गत मंगलबार सेतोपाटीसँग कुरा गर्दै मेयरमा पुनः दोहोरिने व्यक्तिगत रहर नभएपनि पार्टी र कार्यकर्ताले जिम्मेवारी दिए भने पुनः उम्मेदवार बन्न सक्ने संकेत गरेकी थिइन्।
‘जनस्तरबाट राजनीतिक दलभन्दा माथि उठेर, समग्र विकासलाई ध्यानमा राखेर एकचोटी तपाईंलाई यहाँबाट जाने छुट छैन भन्ने छ। यहाँको वस्तुगत आवश्यकता पनि होला,’ उनले भनेकी थिइन्, ‘अहिलेको स्थितिलाई थेग्ने खालको लिडरसिप अबको आवश्यकता हो। यसलाई निरन्तरता दिने खालको नेतृत्व अबको आवश्यकता र समयको माग हो।’
माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जिल्लाको पाँच दलीय गठबन्धनको बैठकले सातवटै पालिकामा तालमेल गर्ने निर्णय गरेकाले उम्मेदवारहरू सहमतिमै टुंगिने बताए।
‘महानगरपालिकाको मेयर केन्द्रले टुंग्याउँछ। अन्य तहको विषयमा छलफल चलिरहेको छ। भरतपुर महानगरमा भएका कामका कारण यहाँको मेयर पदमा फेरि हाम्रो पार्टीको दाबी स्वाभाविक छ,’ उनले भने, ‘भरतपुर माओवादीको पहिलो रोजाइ, प्रतिष्ठा र आवश्यकता हो। यसमा कहीँ कसैलाई छाड्ने सम्भावना छैन। फेरि रेनु दाहाल मेयरको उम्मेदवार हो।’
कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले भने भरतपुरको मेयर कांग्रेसले नपाउने अवस्थामा अन्य स्थानीय तहहरूमा पनि तालमेलको प्रक्रिया भाँडिने बताए।
‘कुनै पनि हालतमा हामीले मेयर छाड्दैनौँ भन्ने सन्देश सबैतिर पुगेको छ,’ उनले भने, ‘महानगर कांग्रेसलाई दिइएन भने चितवनमा तालमेलको प्रक्रिया सुरु नै हुँदैन, अन्त पनि भाँडिन्छ।’
मेयरको दौडमा कांग्रेसका आधा दर्जन नेता
मेयर पद कांग्रेसले पाउने सम्भावना बढेपछि आधा दर्जन नेताहरू टिकटका लागि दौडधुपमा छन्।
केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइराला, प्राडा सूर्यकान्त घिमिरे, उत्तम जोशी, महासमिति सदस्य प्रकाश अधिकारी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ र शंकर कँडेल लगायतका नेताहरू दौडधुप गर्दैछन्।
कोइरालाले गत निर्वाचनमा पनि मेयरमा उम्मेदवारी दर्ता गरेका थिए। अन्तिम समयमा पार्टीले माओवादी उम्मेदवार दाहाललाई समर्थन गर्ने निर्णय गरेपछि उनको उम्मेदवारी फिर्ता भएको थियो। यसपटक मेयरको टिकट उनैले पाउने सम्भावना बढी देखिएको छ।
दिनेश शेखर कोइराला समूहबाट कांग्रेसमा खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। चितवनमा कोइराला समूहकै वर्चस्व छ।
एमालेबाट ज्ञवाली र सुवेदी चर्चामा
नेकपा एमालेमा यसपटक पनि देवीप्रसाद ज्ञवालीलाई नै मेयरको उम्मेदवारी बनाउन छलफल चलेको छ। एमालेबाट प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल र प्रदेशसभा सदस्य विजय सुवेदीको पनि चर्चा छ।
जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले महानगरको मेयरको उम्मेदवार टुंगो लागिनसकेको बताए। उनले तीनै जना नेताहरूको नममा छलफल चलिरहेको बताए।
‘ज्ञवालीले इच्छा गर्दासम्म अरुले टिकट पाउने संभावना छैन,’ एमाले चितवनका एक नेताले भने, ‘अघिल्लो पटक पनि उहाँ अन्यायमा पर्नुभएको छ। त्यसैले यसपटक उहाँ नै दोहोरिने सम्भावना छ।’ पार्टीको एउटा पंक्ती ज्ञवालीको साटो सुवेदीलाई उम्मेदवार बनाउन प्रयासरत छ।
‘ज्ञवालीलाई पनि दोस्रो पटक पनि मेयरमा हारेँ भने राजनीतिक करियर सकिन्छ कि भन्ने चिन्ता छ,’ जिल्ला समितिका एक नेता भन्छन्, ‘उहाँले आफू नउठ्दा ठीक हुन्छ भन्ने ठान्नुभयो भने विजय सुवेदी प्रदेश सांसदबाट राजीनामा दिएर मेयरमा उठ्नुहुन्छ।’
सेतोपाटीसँगको कुराकानीमा सांसद कृष्णभक्त पोखरेलले आफू मेयर पदको उम्मेदवार हुन इच्छुक नरहेको बताए।
उनले भने, ‘कार्यकर्ताहरूले तपाईं उठ्नुपर्यो भन्नुभएको छ तर म उपल्लो तहमा पुगिसकेको मान्छे फेरि स्थानीय तहमा झरेर उम्मेदवार बन्ने इच्छा छैन।’
नेकपा एमालेले गठबन्धनबाट रेनु दाहाल उम्मेदवार भए फाइदा हुने आँकलन गरेको छ।
‘फेरि माओवादीमै भोट हाल्नु पर्दा कांग्रेसका कार्यकर्ताहरू चिढिने र हामीलाई सहयोग पुग्ने आकलन गरेका छौँ,’ एमालेका प्रचार विभागका प्रमुख रवीकिरण पौडेलले भने, ‘ती सबै अवस्था हेरेर पार्टीले उपयुक्त उम्मेदवार दिन्छ।’
उनले आवश्यकता परे राप्रपालगायतका अन्य दलसँग तालमेल पनि हुने पनि बताए
यस्तो छ भरतपुरमा मतको गणित
भरतपुर महानगरमा यसपटक ३५ हजार ४७८ जना मतदाता थपिएका छन्। गत निर्वाचनमा यहाँ १ लाख ५० हजार २७४ जना मतदाता थिए। तीमध्ये १ लाख १२ हजार ८९७ जनाले मतदान गरेका थिए। यसमा एक हजार ४२४ मत बदर भएको थियो।
कांग्रेसको सहयोगमा माओवादी केन्द्रकी रेनु दाहाल ४३ हजार १२७ मत प्राप्त गरेर विजयी भएकी थिइन्। प्रतिद्वन्द्वी देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए।
भरतपुरका २९ वडा मध्ये १४ वडामा एमाले, १२ वटामा कांग्रेस र तीन वटामा माओवादीबाट वडाध्यक्ष निर्वाचित भएका थिए।
त्यतिखेर वडाध्यक्षका उम्मेदवारले पाएको मतको हिसाबमा नेपाली कांग्रेसले सबैभन्दा अगाडि थियो।
कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूले ३८ हजार १२७ मत ल्याउँदा एमालेका उम्मेदवारहरूले ३७ हजार १९५ मत प्राप्त गरेका थिए। माओवादीका उम्मेदवारले २१ हजार ११५ मत ल्याएका थिए।
यसरी हेर्दा गठबन्धनका दुई दलले मात्रै गत निर्वाचनमा ५९ हजार २५४ मत प्राप्त गरेका थिए।
यस पटकको नेकपा एमाले विभाजन भएको छ।
एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी), कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ। यसको असर नेकपा एमालेको मतमा पर्ने देखिन्छ। यसपटक चितवनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी मिलेर निर्वाचनमा जाने संभावना पनि छ।
राप्रपाले गत निर्वाचनमा मेयरमा ६ हजार ८४२ मत ल्याएको थियो। त्यतिखेरका मेयरका उम्मेदवार बद्रीप्रसाद तिमिल्सिना अहिले माओवादी केन्द्रमा पुगेका छन्।
थपिएका मतदाताहरूको मतको प्रभाव पनि यस पटकको निर्वाचनमा पर्नेछ।