नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि हुने गठबन्धनको बैठकबाट महानगरपालिकाहरुमा तालमेलको निर्णय हुने दाबी गरेका छन्।
भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले महानगरपालिका र उपमहानगरपालिकामा गठबन्धन गर्ने निर्णय केन्द्रबाटै हुने बताए।
‘महानगर र उपमहानगरलाई सकेसम्म केन्द्रबाट नै तालमेल गर्ने भनेर छलफल चलिरहेको छ,’ उनले भने, ‘भोलि गठबन्धनको बैठक बस्दैछ, संभवत महानगरपालिकाको बारेमा केही न केही निर्णयमा हामी पुग्छौं। तालमेलकै निर्णय हुन्छ।’
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ।
उनले भरतपुरको मेयरमा आफ्नो पार्टीको दाबी रहने बताए। भरतपुरमा यसअघिको स्थानीय तल निर्वाचनमा पनि कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो। यहाँबाट प्रचण्डपुत्री रेनु दाहाल मेयरमा निर्वाचित भएकी थिइन्।
मेयर दाहालले मंगलबार सेतोपार्टीसँग कुरा गर्दै फेरि मेयरमा दोहोर्याउने व्यक्तिगत रहर नभएको बताएकी थिइन्। कांग्रेससँग गठबन्धन भएर मेयर पद पाएमा माओवादीले फेरि उनैलाई उठाउने तयारी गरेको छ।
अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरिसकेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने पक्का भएको बताए।
‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरिसकेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुन्छ भन्ने कुरा क्लियर भएकै छ,’ उनले भने, ‘खाली तालमेल, गठबन्धन कस्तो हुन्छ भन्ने थियो, हाम्रो पार्टीले आफ्नो शक्तिलाई सुदृढ गर्ने र आवश्यकताअनुसार तालमेल पनि गर्ने कुरा गरेकाले आवश्यक तालमेलसहित चुनाव हुन्छ।’
स्थानीय निर्वाचन हुने निश्चित भएपछि प्रचण्ड गृह जिल्ला चितवन आउनेक्रम बाक्लिएको छ। उनी बुधबार नारायणी तटबन्ध कार्यक्रमको शिलान्यास गर्न यहाँ आएका हुन्।