बाघदेवी आधारभूत विद्यालय स्थापना गर्नका लागि स्थानीयबासीले थोरै मेहनत गरेका थिएनन्। गाउँमा भएको सरकारी जमिनमा विद्यालय भवन बनाइदिन स्थानीयले गरेको माग सरकारले सुनिरहेको थिएन।
स्थानीयबासीले तिहारमा देउसी-भैलो खेल्ने, चन्दा उठाउने गरेर जेनतेन बालबालिकालाई पढाउन थाले। उनीहरूको सकृयता देखेपछि बल्ल सरकारी निकायको मन पग्लियो। विद्यालयका लागि भवन निर्माण भयो, शिक्षकको दरबन्दी प्राप्त भयो। स्थानीयको जोडबलमा खुलेको विद्यालयमा कक्षा ८ सम्म पढाई हुन थाल्यो।
तर समय एकनासको रहेन। कुनै बेला विद्यार्थीलाई पढ्ने ठाउँ भएन भनेर रोइकराई गर्नुपरेको रत्ननगर–१२ को जिरौनास्थित बाघदेवी आधारभूत विद्यालयले पढ्ने विद्यार्थी पाउनै छाड्यो। २०४६ सालदेखि सुरु भएर २०७६ सालसम्म आइपुग्दा विद्यालयमा ४१ जना विद्यार्थीमात्रै हुन थाले। कुनकै कक्षामा त एक जना पनि विद्यार्थी भर्ना भएनन्।
रत्ननगर नगरपालिकाले विद्यार्थी संख्याको आधारमा उक्त विद्यालयलाई नजिकैको पञ्चदीप आधारभूत विद्यालयमा ‘मर्ज’ गरिदियो। ठूलो संघर्ष गरेर स्थानीयले खोलेको विद्यालय बन्द भयो।
‘वरपर निजी स्कुलहरु खुलेकाले बालबालिकाहरू उतै पढ्न थाले। हाम्रो विद्यालयमा हरेक वर्ष विद्यार्थी संख्या घट्दै गयो। ठूलो संघर्ष गरेर खोलिएको विद्यालय बन्द हुँदा हामी असाध्यै चिन्तित थियौं,’ रत्ननगर १२ का श्याम बरालले भने।
निकै मेहनत गरेर स्थापना गरेको विद्यालय बन्द हुँदा चिन्तित स्थानीयमा केही वर्षपछि फेरि खुसीको खबर सञ्चार भएको छ। रत्ननगर नगरपालिकाले बाघदेवी विद्यालय भएको ठाउँमा इन्जिनियरिङ कलेज सञ्चालन गर्न पोखरा विश्वविद्यालयसँग सम्झौता गरेको छ।
विद्यालय बन्द भएको ठाउँमा क्याम्पस बन्ने भएपछि स्थानीयबासिन्दा निकै खुसी भएको बरालले बताए।
‘इन्जिनियरिङ कलेज बनाउने भनेर नगरपालिका र पोखरा विश्वविद्यालयको सम्झौता भएपछि हामी उत्साहित छौं,’ उनले भने, ‘पहिले हामीलाई बालबालिकाका लागि विद्यालय आवश्यक थियो। अहिले प्राविधिक शिक्षाको खाँचो भइरहँदा इन्जिनियरिङ कलेज बन्नेभयो। खुसीको सीमा छैन।’
बन्द भएको विद्यालयलाई पोखरा विश्वविद्यालयसँग जोड्ने काम गरेका थिए रत्ननगरका विष्णु पौडेलले। लामो समय उक्त विश्वविद्यालयको सिनेटर भएर काम गरेका पौडेलको प्रयासमा बन्द अवस्थामा रहेको विद्यालयको २ विघा जमिनमा आगामि वर्षदेखि पोखरा विश्वविद्यालयको आंगिक क्याम्पसकारुपमा इन्जिनियरिङ विषय पढाई हुने भएको छ।
‘विद्यालय बन्द भएपछि त्यहाँका जनप्रतिनिधि, स्थानीय अगुवाहरूले हामीले दुःख गरेर खोलेको विद्यालय बन्द भयो, यसलाई केही गरेर बिउताउनुपर्यो भनेको भन्यै गर्नुहुन्थ्यो,’ हाल रत्ननगर नगर शिक्षा समितिका सदस्य रहेका पौडेलले भने, ‘मैले नै तपाईहरुले सहयोग गर्नुहुन्छ भने इन्जिनियरिङ क्याम्पस ल्याउन पहल गरिदिन्छु भनें। उनीहरूले हुन्छ भनेपछि पहल सुरू भयो।’
पौडेलले स्थानीयको स्वीकृतिपछि नगर प्रमुख नारायण वनसहितका रत्ननगर नगरपालिकाका जनप्रतिनिधिहरूलाई पोखरा विश्वविद्यालयसँग सम्पर्क गराएका थिए।
आंगिक क्याम्पसकोरूपमा इन्जिनियरिङको पढाई सुरू गर्ने सम्झौता गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा प्रेमनारायण अर्यालले आगामि वर्षदेखि नै पढाई सञ्चालन गर्न तयार रहेको बताए। उनले पोखरा विश्वविद्यालयले रजत वर्षको अवसरमा पोखरा बाहिर पहिलोपटक आंगिक क्याम्पस स्थापना गर्न लागिएको बताए।
‘हामी सबै प्रदेशमा कम्तिमा एउटा आंगिक क्याम्पस सञ्चालन गर्ने तयारीमा थियौं। यहाँबाट इन्जिनियरिङ कलेजको प्रस्ताव अएपछि यहीँबाट सुरू गर्न खोजेका छौं,’ उपकुलपति अर्यालले भने, ‘अब बस्ने सिनेटले बजेट विनियोजन गर्छ। पूर्वाधार निर्माणमा नगरपालिका र सरकारको पनि सहयोग आवश्यक छ।’
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले इन्जिनियरिङ पढ्ने चाहना भएर पनि यहाँ कलेज नहुँदा धेरै विद्यार्थीले पढ्न नपाएको बताए।
‘हुनेखानेले त काठमाडौंमा, अन्य देशमा लगेर पनि छोराछोरी पढाएका छन्। तर नसक्नेलाई साइकल चढेर इन्जिनियरिङ पढ्न जाने व्यवस्था मिलाउनुपर्छ भनेर लागेका थियौं, त्यो सपना अब पुरा हुँदैछ,’ मेयर वनले भने, ‘कलेज सञ्चालनका लागि नगरपालिकाले सक्दो सहयोग गर्छ।’
उनले सैद्धान्तिक कक्षा रत्ननगरमा हुने तय भएपनि इन्जिनियरिङको प्रयोगात्मक अध्ययनका लागि कालिका नगरपालिका र इच्छाकमना गाउँपालिकासँग कुरा भइरहेको बताए।
नगरपालिकाका उपमेयर विमला दुवाडीले आफ्नो कार्यकालमा रत्ननगरका अन्य चारवटा विद्यालयहरूले प्राविधिक शिक्षा सुरू गरेको बताइन्।
‘शिक्षाका लागि वर्षेनी अर्बौं रूपैयाँ विदेशिने गरेको छ। कम्तिमा हाम्रो ठाउँबाट शिक्षाका लागि विदेशिनु नपरोस भनेर हामीले प्राविधिक शिक्षातर्फ ध्यान दिइरहेका छौं,’ उनले भनिन्, ‘इन्जिनियरिङ क्याम्पसले पनि यसमा ठूलो भूमिका खेल्ने अपेक्षा गरेका छौं।’
फोटो क्याप्सन–इन्जिनियरिङ पढाई हुने आंगिक क्याम्पस निर्माण गर्ने सम्झौता गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.प्रेमनारायण अर्याल र रत्ननगर नगरपालिकाका मेयर नारायण वन।