काभ्रेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा देशकै कान्छा गाउँपालिका अध्यक्ष हुन्। २०७४ सालको स्थानीय निर्वाचनमा अध्यक्ष निर्वाचित हुँदा जिम्बा २६ वर्षका थिए।
८ कक्षा पढ्दापढ्दै माओवादी आन्दोलनमा लागेका जिम्बा अध्यक्ष पदमा उठ्न तयारी गर्दैगर्दा पार्टीका अगुवा नेताहरूले अझै उमेर बाँकी रहेको भन्दै आफूलाई पछि उठ्न सुझाएको सुनाए।
'युवाहरूले राजनीति गर्न सक्दैन, आलाकाँचा हुन्छन् भन्ने चुनौती थियो। तर त्यही प्रश्नबीच मैले उम्मेदवारी दिएँ,' जिम्बाले सेतोपाटीसँग भने, 'त्यसमा युवाहरूको विशेष भूमिका रह्यो। युवाहरूकै बलमा पार्टीले टिकट दिने अवस्था भयो र आज त्यही कारणले युवा नेतृत्वको रूपमा उदय हुन सफल भए।'
निर्वाचनमा उठ्दै गर्दा आफूले युवाहरूलाई गाउँपालिकामा गाडी पुर्याउने प्रतिवद्धता गरेको स्मरण गर्दै आज ठाउँ-ठाउँमा गाडी पुगेको जिम्बा बताउँछन्। काभ्रे सुगम जिल्ला घोषणा गरिए पनि आफ्नो गाउँपालिका विकट रहेको उल्लेख गर्दै उनले भने, 'मैले टोलबस्तीमा गाडी पुर्याउँछु भनेको थिएँ, आज घरघरमा गाडी पुगेको छ। त्यसैले आज त्यहाँका बासिन्दा एकदम खुसी छन्।'
अध्यक्षको पदभार सम्हाल्दै गर्दा कर्मचारीसँग समन्वय गर्न सुरूका दिनमा अलिक असहज भएको जिम्बाले सुनाए। त्यतिबेला आफू २६ वर्षको ठिटो रहेको सुनाउँदै उनले भने, 'कमर्चारीहरू पुरानै थिए। उहाँहरूको अगाडि म त बच्चै थिएँ। २६ वर्षको म उम्मेदवार भइरहँदा ४० वर्षका उहाँहरूलाई यो बच्चाले के गर्न सक्ला र भन्ने हुन्थ्यो होला।'
कुनैकुनै बेला कर्मचारीहरूसँग ठाकठुक पनि परेको स्मरण गर्दै जिम्बाले भने, 'अध्यक्ष भएर आइसकें तर उहाँहरूलाई भाइसाथी जस्तो लाग्थ्यो जसले गर्दा केहि असहज भयो। मलाई पनि बाबुसमानको मान्छेलाई अह्राउन असहज हुन्थ्यो। मैले मेरो व्यक्तिगत कुरा मान्दिनुस् भनेको थिइनँ, मात्र संविधानले भनेको कुरा मान्दिनुस् भनेको थिएँ।'
युवाहरूको बलमा नेतृत्वमा आएका कान्छालाल यसपटक पनि पार्टीले जिम्मेवारी दिए पुनः अध्यक्ष पदमा उम्मेद्वारी दिने बताउँछन्। उनले युवाहरूमा जोस र जाँगर हुने भन्दै त्यसले विकासमा फड्को मार्न मद्दत गर्ने उनको भनाइ छ।
आगामी स्थानीय तहको निर्वाचनमा अझै धेरै युवाहरू नेतृत्वमा आउनुपर्ने जिम्बा बताउँछन्।
'युवाहरूले राजनीति गर्नुपर्छ। अरूबेला होइन, अहिले गर्नुपर्छ। देशको विकास गर्न युवाहरूको आवश्यकता छ। तर युवाहरू राजनीतिमा आउँदा यसलाई पेसा होइन सेवा सम्झेर आउनुपर्छ,' उनले भने।
युवाहरूले नेतृत्व गरेको ठाउँहरूमा राम्रो भइरहेको उल्लेख गर्दै जिम्बाले सबै पार्टीहरूले युवाहरूलाई ठाउँ दिनुपर्ने बताए। केही समयअघि नेपाली कांग्रेसको महामन्त्रीमा युवा नेता गगन थापा निर्वाचित भएको उल्लेख गर्दै उनले भने, 'ठूला नेताहरूको सल्लाह र युवाहरूको भिजनमा देश चलायो भने परिर्वतन सम्भव छ।'