प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पास गराउन र आफ्नो सत्ता जोगाउन गठबन्धनका दल र प्रमुख प्रतिपक्षी एमालेसँग समानान्तर 'नेगोसिएसन' जारी राखेका छन्।
कोसँग अघि बढ्ने, त्यसको टुंगो भने मंगलबार दिउँसोसम्म पनि गर्न सकेका छैनन्। उनले आफू निकटहरूलाई पनि यही गठबन्धन कायम राख्ने वा एमालेसँग मिलेर आगामी यात्रा तय गर्ने भन्नेबारे छिनेर कुरा गरेका छैनन्।
'प्रधानमन्त्री के चाहनु हुन्छ भन्ने प्रष्ट छ। तर त्यो कसरी सम्भव बनाउने भन्नेमा उहाँ अझै प्रस्ट हुन बाँकी देख्छु म,' देउवानिकट एक नेताले भने।
एमसिसी पास गर्ने र आफ्नो सत्ता कायम राख्ने दुई उद्देश्यमा देउवा प्रस्ट छन्। त्यसका लागि उनले पछिल्ला केही दिनमा एमाले र सत्ता गठबन्धनसँगको नेगोसिएसन तीव्र बनाएका छन्।
गत शुक्रबार आफैं बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग भेटेपछि सुरू भएको प्रमुख प्रतिपक्षी दलसँगको वार्तालाई उनले तीव्रता दिएका छन्। ओलीसँग देउवाले मुख्यत: सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत संवाद अघि बढाएका छन्। ओलीले पनि सुवास नेम्वाङमार्फत देउवासँग कतिपय विषयमा कुरा गरिरहेका छन्। कांग्रेससँग कुरा गर्ने अर्को 'फास्ट ट्र्याक' च्यानल एमाले महासचिव शंकर पोखरेल पनि हुन्।
देउवाले यी विभिन्न च्यानलमार्फत एमालेसँग भइरहेका छलफलमा तीन विषयमा प्रतिबद्धता खोजेका छन्।
पहिलो, एमसिसी पास गर्ने।
दोस्रो, आफ्नो सरकारको निरन्तरता र चुनावमा माओवादी केन्द्रसँग एमालेले गठबन्धन गर्दैन भन्ने ग्यारेन्टी।
तेस्रो, सत्ता बाँडफाँट।
'एमसिसी पास गर्नेमा एमाले पूरै सहमत छ। त्यसमा उसको कुनै शर्त छैन,' देउवानिकट ती नेताले भने।
देउवाले उठाएको दोस्रो विषयमा पनि एमालेले उनलाई आश्वस्त बनाउन खोजेको छ।
'चुनावअघि सरकारमा जाने वा सरकार परिवर्तन गर्ने हाम्रो कुनै चासो छैन,' एमालेका एक नेताले भने, 'हामीले यो कुरा देउवालाई प्रस्ट भनेका छौं।'
एमाले नेता सुवास नेम्वाङले पनि देउवालाई उनको पार्टी कुनै हालतमा आउने चुनावमा माओवादी केन्द्र र समाजवादीसँग गठबन्धन नगर्ने भन्दै आश्वस्त बनाउने कोशिस गरेका छन्। यहाँसम्म कि उनले सो कुरा एउटा अनलाइनमार्फत सार्वजनिक रूपमै भने र आफूले बोलेको पूर्व जानकारी कांग्रेस नेताहरूलाई गराए।
सो अनलाइनसँगको कुराकानीमा नेम्वाङले भनेका छन्, 'अघिल्लो चुनाव हामीले गठबन्धन गरेर जित्यौं र पार्टी एकता पनि गर्यौं। अहिले पार्टी एक रहेन। कसको कति जनमत छ, कसको कति हैसियत हो भनेर जनताबाट परीक्षण हुनै पर्छ। त्यसका लागि पनि कांग्रेस ढुक्क भए हुन्छ। एमालेले आउने कुनै पनि चुनावमा माओवादीसँग गठबन्धन गर्दैन। त्यो चुनावमा जनताले हामीलाई आ-आफ्नो आकार देखाएपछि हैसियत अनुसारको कुरा हुन सक्ला।'
कांग्रेस र एमालेबीच सत्ता साझेदारीबारे पनि कुरा अघि बढेको छ। एमालेले आउने संसदीय निर्वाचनअघि आफू संघीय सरकारमा नआउने र बाहिरै बसेर देउवालाई समर्थन गर्ने आश्वासन दिएको छ। 'परमादेशले बनेको सरकार' भनेर सार्वजनिक रूपमै आलोचना गरेकाले पनि संघीय सरकारमा जान एमालेलाई गाह्रो छ।
प्रदेश सरकारमा जाने र राजदूत लगायतका नियुक्तिमा भने भाग लिने एमालेले बताएको छ। सभामुख हटाउनुपर्ने उसको पुरानो अडान पनि कायमै छ।
'एकीकृत समाजवादीका मुख्यमन्त्री रहेका दुइटा प्रदेश सरकार आफूले लिने र राजदूत लगायत महत्वपूर्ण नियुक्ति सेयर गर्नुपर्ने पक्षमा एमाले छ,' कांग्रेसका ती नेताले भने, 'त्यसमा हामीलाई कुनै आपत्ति छैन।'
यति हुँदा पनि देउवाले एमालेसँग मिलेर जाने निर्णय गरिसकेका छैनन्।
'ओलीले संघीय चुनावसम्म कांग्रेसको सरकार ढाल्दैनन् भन्नेमा उहाँ अझै विश्वस्त हुन सक्नुभएको छैन,' कांग्रेसका अर्का नेता भन्छन्, 'ओलीले कुनै न कुनै बहाना झिकेर दुःख दिन्छन् भन्ने आशंका प्रधानमन्त्रीलाई छ।'
कसैगरी एमसिसी पास गर्ने र गठबन्धन पनि कायम राख्ने बाटो निस्कियो भने त्यसमै जाने देउवाको प्राथमिकता देखिन्छ। त्यसले चुनावसम्म उनको सत्ताको निरन्तरन्ता मात्र सुनिश्चित गर्दैन, चुनावमा गठबन्धन गरेर एमालेलाई कमजोर बनाउने र चुनावपछि पनि गठबन्धन सरकारको सम्भावना रहन्छ भन्ने उनको तर्क छ।
यही कारण हो, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी दुवैले एमसिसीको विपक्षमा मत दिने संस्थागत निर्णय गरिसक्दा पनि देउवाले दुवै पार्टीसँगको संवादलाई कायम मात्र राखेका छैनन्, यही गठबन्धन कायम राखेर एमसिसी पास गराउने उपायको खोजीमा छन्।
उनले सोमबार दिउँसो सिंहदरबारमा पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेट्न रामचन्द्र पौडेललाई पठाए। साढे चार बजे बालुवाटारमा प्रचण्डसँग आफैंले कुरा गरे। साँझ ६ बजे फेरि पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई खुमलटार पठाए। खड्का कांग्रेसभित्र सकेसम्म गठबन्धन जोगाएर लैजानु पर्छ भन्ने पक्षधर हुन्। हिजोका वार्ताहरूमा के कुरा भयो, कुनै प्रगति भयो वा भएन, यकिन छैन।
पौडेलसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, 'गठबन्धन जोगिन्छ र एमसिसी प्रक्रियाबाटै टुंगिन्छ।'
कतिपयले यसलाई देउवा र प्रचण्डबीच सहमति बनिसकेको रूपमा अर्थ्याएका छन्। कांग्रेसका एक नेताले भने माओवादी केन्द्रसँगको छलफलमा कुनै प्रगति नभएको दावी गरे।
'प्रचण्ड धेरै पर पुगिसक्नुभएको छ,' उनले भने, 'पार्टीभित्रको जुन डाइनामिक्स छ, माओवादी केन्द्रको जुन अन्तर्राष्ट्रिय आयाम छ, त्यसका कारण अब उहाँले एमसिसीमा सहयोग गर्ने ठाउँ म देख्दिनँ।'
माओवादी केन्द्रका एक नेताले पनि सेतोपाटीसँग कुरा गर्दै एमसिसी प्रक्रियाबाट टुंगिने र गठबन्धन जोगिने सम्भावना रहेको बताए।
एमसिसी प्रकियाबाट टुंगिन्छ मात्रै कि पास नै हुन्छ भन्ने प्रश्नमा ती नेताले भने, 'पास नै हुने ग्यारेन्टी त माओवादीले कसरी दिन सक्छ। हामीले त विपक्षमा भोट हाल्ने निर्णय नै गरेका छौं।'
एमसिसी पास नहुने अवस्थामा त कांग्रेसले गठबन्धन छाडेर एमालेसँग हात मिलाउने सम्भावना छ नि भन्ने प्रश्नमा उनले प्रतिप्रश्न गरे, 'के एमालेले एमसिसी पास गर्न कांग्रेसलाई सघाउँछ त! म त त्यस्तो सम्भावना देख्दिनँ।'
उनले सबैले सबैसँग कुरा गरिरहेको र परिस्थितिको आकलन सबैले गरिरहेको बताए।
प्रक्रियामा गएर एमसिसी संसदबाट टुंगिएपछि पास वा फेल जे भए पनि कांग्रेसले गठबन्धनलाई नै निरन्तरता दिन्छ भन्ने आश माओवादीमा अझै देखिन्छ। कांग्रेसका नेताहरू भने गठबन्धन भित्रबाटै एमसिसी पास हुन सक्छ कि भनेर अन्तिम प्रयास गरिरहेको र त्यो सम्भव नदेखिए संसदमा छलफल सुरू हुनुअघि नै एमालेसँग सहमति गर्ने दावी गर्छन्।
'एमसिसी फेल हुने गरी मतदानमा लैजाने गल्ती कांग्रेसले गर्दैन,' ती नेताले भने, 'अहिले आएर एमसिसी फेल हुँदा कांग्रेसलाई ठूलो धक्का हुन्छ। त्यसैले संसदबाट एमसिसी पास हुने बाटो कांग्रेसले खोज्छ।'
कांग्रेस र माओवादीले सायद एउटा कुरामा एकअर्कालाई 'मिसरिड' गरिरहेका छन्।
एमसिसी पास भए पनि, फेल भए पनि कांग्रेस यो गठबन्धनभन्दा बाहिर जाँदैन भन्ने माओवादीको निष्कर्ष गलत हुन सक्छ र त्यसले कांग्रेसलाई संसदमा छलफलअघि नै एमालेसँगको सहकार्यमा पुर्याउन सक्छ।
कांग्रेसभित्र पनि ठूलो तप्का अहिलेको विवादले माओवादीलाई ढिलोचाँडो एमालेसँगको सहकार्यमा पुर्याउँछ भन्ने मत राख्छ।
'एमसिसीविरूद्ध मत हालेर सरकार बाहिर बसेको माओवादी केन्द्र र संसद अवरूद्ध गरेर प्रतिपक्षमा बसेको एमालेबीच अन्ततः मिलन हुन्छ नै,' एक नेताले भने, 'त्यसमाथि एकीकृत-समाजवादी सत्तामै रह्यो भने त एमाले र माओवादी केन्द्रलाई मिल्न झनै सजिलो हुन्छ।'
त्यसैले गठबन्धनभित्रबाट एमसिसी पास गर्ने बाटो खोज्नुभन्दा अहिले नै एमालेसँग सहमति गरेर अघि बढ्नुपर्ने तर्क राख्ने बलियो खेमा पनि कांग्रेसमा छ। प्रधानमन्त्री देउवाले नै तत्कालै एमालेसँग सहमतिमा पुग्ने कुरामा रोकिराखेका छन्।
'गठबन्धन भित्रबाट एमसिसी पास हुँदैन भन्ने निश्चित भएकै क्षण प्रधानमन्त्रीले कोर्स फेर्नु हुन्छ,' ती नेताले भने, 'बिहीबार संसद सुरू हुनुअघि नै उहाँ टुंगोमा पुग्नु हुन्छ होला।'
यहाँ प्रधानमन्त्री देउवाले मात्र एमाले र गठबन्धनसँग कुरा गरिरहेका छैनन्, एमाले र माओवादी केन्द्र पनि आपसमा कुरा गरिरहेका छन्। देउवाका लागि अहिलेको सजिलो यति हो कि एमाले र माओवादी केन्द्रको तत्कालको प्राथमिकता एकअर्कासँग मिल्ने नभएर कांग्रेससँग मिल्ने हो। माओवादी केन्द्र कांग्रेससँगको गठबन्धन कायम राख्न चाहन्छ। एमाले जसरी हुन्छ यो गठबन्धन तोडेर माओवादीलाई कांग्रेसबाट अलग गराउन चाहन्छ।