पाँचदलीय गठबन्धन बैठक सकिनेबित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन्।
बालकोटमा के कुरा भयो, त्यो त बिस्तारै खुल्दै जाने छ। अहिलेलाई दुइटा प्रश्न महत्वपूर्ण छन्।
पहिलो, देउवा गठबन्धन छाड्ने र ओलीसँग मिलेर एमसिसी पास गर्ने 'मन बनाएर' पत्नी आरजु राणासहित बालकोट गएका हुन् वा ओलीको कुरा बुझ्न मात्र गएका हुन्?
दोस्रो, गठबन्धन तोडे देउवालाई समर्थन गर्न ओली तयारै हुन्, तर उनलाई चुनावसम्म प्रधानमन्त्री मान्न तयार हुन् कि होइनन्?
यिनै दुई प्रश्नको उत्तरमा देउवा र ओलीबीच बालकोटमा बिहीबार साँझ भएको वार्ताको परिणाम निर्भर गर्छ।
प्रधानमन्त्री देउवा यसपालि जसरी पनि एमसिसी पास गराएर जानेमा छन्। चार वर्षअघि आफ्नै पालामा हस्ताक्षर भएको एमसिसी अहिलेसम्म लागू नभएकाले नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयता गुम्न लागेकोमा उनी चिन्तित देखिन्छन्।
त्यसमाथि सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग मिलेर गत सेप्टेम्बरमा अमेरिकालाई 'चार-पाँच महिनाभित्र एमसिसी पास गर्ने' जुन वचन उनले दिएका थिए, त्यसमा प्रचण्ड नअडिएपछि देउवा रिसले चुर छन्।
'प्रधानमन्त्रीको मन भाँचिएको प्रचण्डले शनिबार बालुवाटारमा गरेको सहमति तोडेपछि हो,' उनीनिकट एक नेताले भने।
गएको शनिबार बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालबीच बुधबार एमसिसी संसदमा टेबल गर्ने र केही दिनको छलफलपछि पास गर्ने सहमति भएको थियो। एमसिसीमा भोटिङ हुने दिन दुवै दलका सांसद अनुपस्थित हुने र उपस्थित सांसदको बहुमतले एमसिसी पास गर्ने सहमति थियो।
बुधबार बिहान माओवादी संसदीय दलले संसदमा अवरोध रहेका बेला एमसिसी टेबल गर्न नहुने र सरकारले जबर्जस्ती गरे गठबन्धनबाट बाहिरिएर एमसिसीविरूद्ध मत हाल्ने निर्णय गर्यो।
'माओवादीको यो निर्णयपछि भने प्रधानमन्त्रीले अब पुग्यो भन्नुभएको हो,' ती नेताले भने।
माओवादी केन्द्रको निर्णयपछि बालुवाटार पुगेका प्रचण्डलाई देउवाले एउटै कुरा भने, 'एमसिसीको भोटिङमा अनुपस्थित होऊ वा विपक्षमा मत हाल तर एमसिसी संसदमा टेबल हुनुपर्छ।'
त्यसका लागि उनी एक दिन कुर्न तयार भए तर शुक्रबार संसदमा टेबल हुनुपर्ने अडान राखे।
एमसिसी टेबल गर्नबाट देउवा टसमस नभएपछि प्रचण्डले आफूहरू सरकारबाट बाहिरिने तर सरकारलाई बाहिरैबाट समर्थन गर्ने प्रस्ताव राखे।
'बाहिर बसेर केही समय सहयोग गर्ने, त्यसपछि एमालेसँग मिलेर सरकार ढाल्नतिर लाग्ने, अनि एमसिसी पास गरेको एक्लो अपजस कांग्रेसमाथि थोपर्ने रणनीति हो यो,' एक नेताले भने, 'हामी त्यसमा लाग्नु हुन्न।'
ती नेताका अनुसार त्यो खतरा मोल्नुभन्दा ओलीसँग मिलेर सभामुख फेर्नु र एमसिसी पास गर्नु कांग्रेसको हितमा छ।
कांग्रेसभित्र पनि गठबन्धनबारे दुइटा मत छन्। कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्काहरू गठबन्धन टुटाउन नहुने पक्षमा छन्।
बिहीबारको बालुवाटार बैठकमा सिटौलाले माओवादी केन्द्रले सरकार छाडेर बाहिर बसे पनि गठबन्धन छाड्न नहुने भन्दै सम्झाए। केही समय बाहिर बसे पनि फेरि सरकारमा आएर गठबन्धन चुनावसम्मै लैजानुपर्ने उनको र खड्काको धारणा थियो। त्यसमा प्रचण्डले पनि सहमति जनाए।
बैठकमा अर्का सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसिसीमा मतदान हुँदा आफूहरू संसदमा उपस्थित भए पनि वा नभए पनि सरकार छाड्नुपर्छ भन्ने पक्षमा नरहेको सुनाएका थिए।
एकीकृत समाजवादीले एमसिसीमा मतदात हुँदा स्वविवेक प्रयोग गर्न दिने सम्भावना छ। त्यसो हुँदा आधा सांसदले एमसिसीको पक्षमा र आधाले विपक्षमा मतदात गर्न सक्छन्।
कांग्रेसमा कतिपय नेता अब गठबन्धनसँगको 'च्याप्टर क्लोज' गर्ने र एमालेसँग मिलेर एमसिसी पास गर्नुपर्ने पक्षमा छन्। ज्ञानेन्द्रबहादुर कार्की, गगन थापा, मिनेन्द्र रिजाल लगायत यो पक्षमा छन्।
उनीहरूको सिधा तर्क छ- कांग्रेस र एमाले नै दीर्घकालसम्मका प्रमुख पार्टी हुन्। यिनै पार्टीले मिलेर आज र भोलि पनि राष्ट्रिय मुद्दा सल्टाउनुपर्छ। एमसिसी पनि दुवैले मिलेर सल्टाउने हो। त्यसो गर्दा दुवैले मतदातामा आफूलाई हुने क्षति हेरेर डराउनु पर्दैन।
उनीहरूको अर्को तर्क छ- एमसिसीको विपक्षमा मत हालेर सत्ताबाहिर बसेको माओवादी र संसदमा मत नदिइकन विपक्षमा बसेको एमाले तुरून्तै मिल्ने सम्भावना हुन्छ। त्यसले कांग्रेसलाई सत्ताबाट मात्र निकाल्दैन, अन्तत: चुनावमा पनि ठूलो क्षति गराउँछ।
प्रधानमन्त्री देउवाले कांग्रेसभित्र दुवै खेमाको कुरा सुनेका छन्। तर के गर्ने भन्ने निर्णयमा पुगिसकेका छैनन्।
गठबन्धनको बिहीबारको बालुवाटार बैठक हेर्ने हो भने देउवाले 'मन बनाएका' कतिपय संकेत देखिएका छन्। बालुवाटारमा उनी विशेषगरी माओवादी केन्द्रविरूद्ध नराम्ररी प्रस्तुत भए। उनले प्रचण्ड र नारायणकाजी श्रेष्ठलाई राम्ररी बोल्न पनि दिएननन्।
बिहानको भेटमा पनि उनी प्रचण्डसँग त्यसरी नै प्रस्तुत भएका थिए। प्रचण्डले साँझको बैठकमा मुखै फोरेर भने, 'तपाईं आज बिहान र अहिले पनि मलाई इरिटेट हुने गरी प्रस्तुत हुनुभएको छ।'
प्रधानमन्त्री देउवा भने रोकिएनन्।
'उहाँले उनीहरूलाई थप इरिटेट गराउनुभयो,' एक नेताले भने, 'उहाँले एक किसिमले माओवादी नेताहरूले बोलेको सुन्न नै चाहनुभएन।'
देउवाले केही दिनअघिदेखि नै ओलीसँग कुरा गर्न मानिसहरू लगाइरहेका थिए। बुधबार उनले विष्णु पौडेलमार्फत ओलीसँग संवाद बढाएका थिए। बिहीबार बिहान उनले आफ्ना विश्वासपात्र ज्ञानेन्द्र कार्कीलाई ओलीसँग फोनमा कुरा गर्न लगाए। केही समयअघिदेखि ओलीसँग संवादमा रहेका मिनेन्द्र रिजालले बिहीबार बिहान आफ्नै पहलमा ओलीलाई बालकोट नै गएर भेटेका थिए।
ओलीले कांग्रेस नेताहरूसँग आफ्नो कुरा प्रस्ट राखेका छन्, 'मैले प्रचण्ड र माधवलाई बोकेर, थाकेर छाडेको हुँ। अहिले शेरबहादुरजीले बोकिरहनुभएको छ। थाक्नुभएपछि मलाई भन्नु। तर यिनीहरूलाई बोक्ने पक्षमा म छैन। माधवको त म मुख पनि हेर्न चाहन्नँ। यिनीहरूलाई छाड्ने निर्णय गरेर आए म छँदैछु।'
तर देउवा एमसिसी पास गराउन मात्र ओलीको साथ चाहँदैनन्। आफूलाई आउने चुनावसम्मै प्रधानमन्त्री मानून् भन्ने उनको चाहना छ।
उनले गठबन्धन छाड्ने मन बनाइसकेका हुन् भने ओलीसँग बिहीबारको भेटमा आफूलाई चुनावसम्म प्रधानमन्त्रीमा सहयोग गर्ने वचन पनि पक्कै माग्ने छन्।
कांग्रेसका एक नेताले जिस्किँदै भने, 'ओलीको मुड के छ भन्ने बुझ्न मनोविज्ञानमा पिएचडी गरेकी आरजु देउवालाई पनि लिएर प्रधानमन्त्री बालकोट जानुभएको हो।'
वास्तवमा ओलीले नै आरजुलाई पनि लिएर आउन निम्ता दिएका हुन्। सायद उनी पनि आरजुलाई साक्षी राखेर केही भन्न चाहन्छन्।
त्यस हिसाबले बिहीबार साँझको ओली-देउवा भेट वर्तमान राजनीतिको एउटा 'टर्निङ प्वाइन्ट' हुन सक्छ।
ओलीसँग भेट्ने कुरा देउवाले गठबन्धनमा लुकाएका छैनन्। बालुवाटार बैठकमै उनले नेताहरूलाई आफू ओलीलाई भेट्न बालकोट जान लागेको बताएका थिए। तर उनले ओलीलाई संसदको अवरोध हटाउन र एमसिसीमा मत हाल्न भन्न जान लागेको बताए।
बालकोट भेट त्यतिमा मात्र सीमित हुने छैन भन्ने त्यहाँ उपस्थित नेताहरूलाई थाहा नहुने कुरा भएन। यसले शुक्रबार हुने सत्ता गठबन्धनको बैठकमा के असर गर्छ हेर्न बाँकी नै छ।
सायद देउवाले पनि त्यो सूचना चुहाएर गठबन्धनका नेताहरू, विशेषगरी प्रचण्डलाई दबाव दिन चाहेका हुन्, ताकि शुक्रबार बालुवाटारमा हुने बैठकमा सहमतिमा पुग्न सजिलो होस्।
त्यसो त पछिल्ला दिनमा ओली र प्रचण्डबीच पनि नेताहरूमार्फत प्रशस्त कुरा भइरहेका छन् र यो पनि कांग्रेसका नेताहरूबाट लुकेको छैन। यहाँ अन्तत: कसले कसलाई माथ गर्छ भन्ने मात्र कसैलाई थाहा छैन।
दुई पारंगत खेलाडीबीचको चेस खेलमा सुरूमै अन्तिम परिणाम कसलाई थाहा हुन्छ र!
यहाँ त दुई होइन, तीन माहिर खेलाडी एउटै चेसबोर्डमा भिडिरहेका छन्।