राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का नवअध्यक्ष बनेका कमल थापाले राजतन्त्र पुन:स्थापनाको मूल राजनीतिक एजेन्डाबाट ‘सन्यास’ लिने भएका छन्।
थापा धनकुटाका लाक्पा लामाको नेतृत्वमा रहेको राप्रपा नेपालमा प्रवेश गर्दै आइतबार अध्यक्ष बनेका थिए।
थापाले फागुन ७ गते राप्रपा नेपालमा फर्किएको आधिकारिक घोषणा गर्दै उक्त पार्टीले बोक्ने एजेन्डा सार्वजनिक गर्दैछन्।
उनीनिकट नेता राजाराम बर्तौलाका अनुसार राप्रपा नेपालले फागुन ७ गते आफ्नो वैचारिक-राजनीतिक एजेन्डा सार्वजनिक गर्ने छ, जसमा राजतन्त्र छैन।
राप्रपा नेपालले बोक्ने राजनीतिक-वैचारिक एजेन्डाबारे अहिले व्यापक छलफल भइरहेको र लगभग टुंगोमा पुगिएको बर्तौलाले बताए।
‘राप्रपा नेपालको मूल एजेन्डा हिन्दु राष्ट्र, सुशासन र समृद्धिको हुने निश्चित भइसकेको छ,’ बर्तौलाले सेतोपाटीसँग भने।
बर्तौलाले राजतन्त्रको मुद्दा बोक्ने सम्भावना राप्रपाको एकता महाधिवेशन र त्यसबाट उत्पन्न परिस्थितिले नै समाप्त पारेको बताए।
‘राप्रपाको एजेन्डा हिन्दु राष्ट्र र राजसंस्था भन्ने थियो, त्यो एजेन्डा उहाँले बोकिरहनु भएकै थियो, तर महाधिवेशनमा जसरी निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रबाट हस्तक्षेप भयो, त्यसको छानबिन नहुने भएपछि उहाँ नयाँ पार्टी गठन गर्ने दिशामा पुग्नुभएको हो,’ बर्तौलाले भने, ‘अब उहाँले राजतन्त्रको एजेन्डा लिनु हुँदैन।’
बर्तौलाले राप्रपा नेपालको कार्यनीतिमा राजसंस्था नरहनेमा ढुक्क हुनुपर्ने स्पष्ट पारे।
‘राजसंस्थाप्रतिको सम्मान र विश्वास रहिरहन्छ,’ उनले भने, ‘तर, राजा आऊ, देश बचाऊ भनेर यो पार्टीले राजनीति गर्दैन।’
थापा राप्रपा महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए। पराजित भएसँगै थापाले निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरी आफूलाई हराएको भन्दै नेतृत्वसँग छानबिनको माग गरेका थिए।
उनले दुई पटक चिठी लेख्दै लिङ्देनलाई आफ्नो माग सम्बोधन गर्न आग्रह गरेका थिए। तर, लिङ्देनले माग सम्बोधन नगर्ने निश्चित भएपछि उनले हेटौंडा पुगेर राप्रपा त्यागेको घोषणा गरेका थिए।
त्यसबेला उनले राष्ट्रिय एकता पार्टी गठन गर्ने तयारी गरिरहेका थिए। तर, राप्रपा नेपाल नामको पार्टी अस्तित्वमा रहेको थाहा पाएपछि उनी त्यही पार्टीमा आवद्ध हुँदै अध्यक्ष भएका छन्।
राप्रपा नेपालको नयाँ अध्यक्ष थापा भएको र उनको नेतृत्वमा ६१ सदस्यीय कार्यसमिति गठन भएको पत्र निर्वाचन आयोगमा पुगिसकेको छ। त्यो पत्र आइतबार निर्वाचन आयोगमा दर्तासमेत भइसकेको छ।
थापालाई अध्यक्ष बनाउन राप्रपा नेपालका तत्कालीन अध्यक्ष लाक्पा लामाले अध्यक्ष पद त्यागेका थिए।
‘उहाँ निर्मल निवास र पूर्वराजाको भूमिकाप्रति असन्तुष्ट हुनुहुन्छ। राजतन्त्रको मुद्दामा अहिले उदासीन हुनुहुन्छ। आस्था र विश्वास कायम रहने भन्नुभएको छ,’ बर्तौलाले भने, ‘राप्रपा नेपालले राजतन्त्रको कार्यनीति भने अब बनाउँदैन।’
फागुन ७ गते थापाले घोषणा पत्र पनि सार्वजनिक गर्ने कार्यक्रम छ।
थापा पञ्चायतकालदेखि नै राजतन्त्रको पक्षपाती थिए। उनी राप्रपामा आबद्ध भएदेखि राजाको प्रत्यक्ष शासनकालमा पनि राजतन्त्रको एजेन्डामा थिए।
राजाको सक्रिय शासनकाललाई साथ दिँदै थापा गृहमन्त्री बनेका थिए। राजतन्त्र समाप्त भए पनि उनले २०६३ सालमा राजतन्त्रको हिमायती बन्दै राप्रपा नेपाल गठन गरेका थिए।
थापा नेतृत्वको राप्रपा नेपालले २०७० सालको निर्वाचनमा २६ सिट हासिल गरेको थियो।
२०७६ सालमा थापाले नेतृत्व गरेको दल माउ पार्टी राप्रपामा विलय भएसँगै राप्रपा नेपाल निर्वाचन आयोगमा दर्ता गर्दै त्यसको नेतृत्व लामाले गरिरहेका थिए।
गत मंसिरमा तीन वटा राप्रपा एक भई एकता महाधिवेशन हुँदा थापा लिङ्देनसँग पराजित भएका थिए। पराजयको दोष निर्मल निवास र पूर्वराजालाई दिँदै थापा राप्रपाबाट अलग हुन पुगेका थिए।
एकता महाधिवेशनमा थापा पराजित भए पनि राप्रपामा उनको समूहका बहुसंख्यक नेताहरूले जितेका थिए।
उनीहरू कोही पनि अहिले थापाको पक्षमा खुलेर आएका छैनन्।