सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरूद्ध विशेष अदालतमा मुद्दा दायरको अन्तिम तयारी गरेको छ।
तामाङविरूद्धको सम्पत्ति शुद्धीकरण अनुसन्धान अन्तिम चरणमा पुगेको र बिगो समेत टुंगो लागेकाले मुद्दा लैजाने तयारी भइरहेको त्यहाँका एक अधिकारीले बताए।
ती अधिकारीका अनुसार तामाङविरूद्ध झन्डै तीन अर्बको बिगो तयार भएको छ।
‘बयान सकिएको छ, हामी मुद्दा दायर गर्ने तयारीमा छौं,’ ती अधिकारीले सेतोपाटीसँग भने।
उनका अनुसार तामाङले सहकारी ठगीबाट आर्जित सम्पत्ति बढिबढाउ गरेर सो बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुसन्धानमा खुलेको छ।
सिभिल सहकारी ठगी प्रकरण बाहिरिएपछि अनुसन्धान थालेको विभागले श्रीमती सिर्जना शाक्यसहितलाई प्रतिवादी बनाउने भएको छ।
तामाङ, शाक्यसहित अन्य करिब एक दर्जन व्यक्तिहरूविरूद्ध मुद्दा लगिने र मुद्दामा बिगो तथा बिगोको दोब्बर जरिवानको माग दाबी लिइने विभागका ती अधिकारीले बताए।
केही समयअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तामाङसहितका व्यक्तिहरूलाई पाँच अर्ब ६३ करोड बिगो कायम गरी ठगी तथा संगठित अपराधमा मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। तामाङकी श्रीमती शाक्य भने फरार छिन्।
विभाग स्रोतका अनुसार तामाङले विभिन्न समयमा सिभिल सहकारीको निक्षेप ऋण लिएर कम्पनीहरू विस्तार गरेका थिए। तर, त्यो ऋणको अधिकांश हिस्साबाट व्यक्तिगत सम्पत्ति विस्तार गरे पनि उनले सहकारीमा ऋण फिर्ता गरेनन्।
जनताको अर्बौं निक्षेप ‘गायब’ भएपछि विभागले तामाङविरूद्ध अनुसन्धान थालेको थियो।
विभागले दुई वर्ष लगाएर तामाङको सम्पत्ति खोजी गरेको थियो।
विभागले अनुसन्धान गरिरहेकै समयमा तामाङलाई पक्राउ गरी केन्द्रीय अनुसन्धान ब्युरोले ठगी तथा संगठित अपराधमा मुद्दा दायर गरेको थियो।
विभाग स्रोतका अनुसार तामाङ सञ्चालक रहेका २१ वटा कम्पनीले कारोबार गरेको भेटिएको छ। तीमध्ये सबभन्दा बढी सिभिल होम्समा तामाङको लगानी रहेको देखिएको छ।
सिभिल होम्स राजधानीमा निकै लोकप्रिय हाउजिङ कम्पनी हो। ललितपुर भैंसेपाटीबाट सुरू भएको सिभिल होम्स सुनाकोठी, धापाखेल, रामकोट हुँदै चरणबद्ध रूपमा १० ठाउँमा फैलिइसकेको छ।
सिभिल होम्समा २०६३ पछि ११ सय वटा घर तथा अपार्टमेन्ट बिक्री भएको देखिएको छ। ती घर बिक्री भएको पैसा हिसाब गर्दा झन्डै ११ अर्ब जति हुन्छ।
तर, त्यो बिक्रीको पैसा तामाङले सिभिल सहकारीमा ऋण तिरेका थिएनन्। त्यो सम्पत्ति कहाँ राखे भन्ने अनुसन्धान विभागले गरिरहेको थियो।
‘ती सबै सम्पत्तिको मूल्यांकन गर्दा सम्पत्ति शुद्धीकरण प्रयोजनमा झन्डै तीन अर्ब देखिन आएको हो,’ ती अधिकारीले भने।
अनुसन्धानका क्रममा विभागले तामाङको बैंक मौज्दात, सवारी तथा घर-जग्गा कारोबार हेरेको थियो।
विभागका अनुसार उनकी श्रीमती शाक्यका नाममा कीर्तिपुरमा १५ रोपनी जग्गा भेटिएको छ। कीर्तिपुर नगरपालिका-१, ट्याङ्लाफाँटस्थित कम्पाउन्ड घेरेको उक्त जग्गामा घर पनि छ।
यसबाहेक इच्छाराजको नाममा सिटिसी मलमा ५० प्रतिशत लगानी देखिएको छ। सिभिल बैंकमा उनको व्यक्तिगत ३५ करोड लगानी पनि देखिएको छ। तामाङको अरू लगानी कम्पनीहरूमार्फत् भएको विभाग स्रोतले जानकारी दियो।