नेकपा एमालेको नेतृत्व चयन गर्ने क्रममा दैलेखमा भएको निर्वाचन विवाद समाधानका लागि निर्वाचन कमिटीले निर्वाचन आयोगसँग राय माग्ने भएको छ।
दैलेखमा मतदाताभन्दा बढी मतपत्र भेटिएपछि विवाद उत्पन्न भएको छ।
यो विवाद समाधान गर्नका लागि भनेर एमालेका कर्णाली प्रदेश संयोजक यामलाल कँडेल बिहीबार दैलेख गएका थिए।
प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाह, कँडेल र जिल्लाका पदाधिकारीबीचको छलफलपछि निर्वाचन कमिटीले आयोगसँगै राय माग्ने सल्लाह भएको हो।
‘आज निर्वाचन गराएको कमिटीले आयोगसँग अब कसरी अगाडि बढ्ने भन्ने विषयमा राय मागेर पत्र पठाउँछ,’ प्रदेश कमिटी अध्यक्ष शाहले भने, ‘निर्वाचन सदर हुने कुरा त भएन, तै पनि कसरी अगाडि बढ्ने भन्नेबारेमा भोलिसम्म आयोगको जवाफ आउँछ होला। त्यसपछि मात्र दैलेखको अरू प्रक्रिया सुरू हुन्छ।’
मंगलबार नेतृत्व चयनका लागि भएको निर्वाचनमा ७२१ मतदातामध्ये ७१७ जना मतदानमा सहभागी भएका थिए। तर मतपेटिकामा भने ७४८ मत देखिएपछि मतगणना नै नगरी राखिएको थियो।
बढी भएका ३१ वटा मत फर्जी भएको आशंका गरिएको छ।
जिल्लामा पाँच वटा पालिकाका भूगोलतर्फका सदस्यहरू निर्विरोध चयन भइसकेका छन्।
यस्तै, जिल्ला कमिटीमा दलित र महिलातर्फका सदस्यहरू पनि निर्विरोध निर्वाचित भइसकेको प्रदेश कमिटी अध्यक्ष शाहले बताए।
यस्तै, जिल्ला कमिटीका उपाध्यक्ष पनि निर्विरोध चयन भएका छन्। तर उनको विरूद्धमा भने मुद्दा परेको छ।
नारायण नगरपालिकाबाट पार्टी प्रतिनिधि हरिबहादुर थापाले निर्विरोध भएका उपाध्यक्ष नन्दकिशोर बस्नेतविरूद्ध उजुरी दिएका हुन्।
उनले बस्नेतको उपाध्यक्ष बन्न पार्टीले तोकेको मापदण्ड नपुगेपनि निर्विरोध गराइएको भन्दै उजुरी दिएका हुन्।
थापाले प्रदेश संयोजक कँडेल र आयोगलाई बस्नेतको विषयमा उचित छानबिन गर्न भन्दै उजुरी दिएका हुन्।
नेकपा एमालेको जिल्ला कमिटीमा पदाधिकारी बन्न कम्तमा दुई कार्यकाल जिल्ला सदस्य भएको हुनुपर्ने मापदण्ड छ। थापाले उनी एकपटक मात्र सल्लाहकार सदस्य भएको दाबी गर्दै यस्तो उजुरी दिएका हुन्।
प्रदेश कमिटी अध्यक्ष शाहले भने यो एकखालको चलखेल मात्र भएको बताएका छन्।
‘पार्टीको मापदण्ड अनुसार त उहाँ तीन कार्यकाल सदस्य हुनुभएको छ, उहाँसँग यो लिखित पत्र नै छ,’ शाहले भने, ‘केही पार्टीभित्र सामान्य विवाद हुन्छन्, यो पनि एक खालको नबुझेर गरिएको आपत्ति मात्र हो।’
शाहले उपाध्यक्ष बनेका बस्नेत नेकपा बन्नुअघि एमालेको जिल्ला कमिटीको सल्लाहकार सदस्य, नेकपा बन्दा जिल्लाको सदस्य र फेरि नेकपा विघटन हुँदा पनि एमालेको जिल्ला कमिटी सदस्य भएको बताए।