दैलेखमा भएको निर्वाचन विवादबारे वार्ता गराउन नेकपा एमालेको कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेल बिहीबार सुर्खेतबाट दैलेख गएका छन्।
जिल्ला अधिवेशनबाट नेतृत्व छान्न मंगलबार भएको निर्वाचनमा मतदाताभन्दा मतपत्र धेरै भएपछि दैलेखमा विवाद भएको छ। मंगलबार बेलुका मतपेटिका खोल्दा मतपत्र धेरै भेटिएपछि मतगणना स्थगित गरिएको थियो।
दैलेखमा कुल ७२१ मतदाता हुन्। जसमध्ये ७१७ जनाले मतदात गरेका थिए। मतदानपछि मतपत्र भने ७४८ मतपत्र भेटिएका थिए। मतदानका क्रममा फर्जी मत खसेको आशंकामा निर्वाचन नै रद्द गरिएको हो।
नेकपा एमालेको कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाह पनि केही दिनदेखि दैलेखमै छन्।
‘उहाँ आउनुभएको छ, आज हामी यो विषयमा नेता तथा उम्मेदवारहरूसँग छलफल गर्छौं,’ शाहले सेतोपाटीसँग भने।
उनका अनुसार यो साताभित्र पुनः निर्वाचन गराउने योजना छ।
दैलेखमा रवीन्द्र शर्मा र सूर्यबहादुर शाहीले अध्यक्षमा उम्मेदवारी दिएका छन्।