म माइतीघर पुग्दा गीता चमार मग्न भएर नाम लेख्दै थिइन्। डिजिटल बोर्डहरू र युट्युबको युग आउनुअगाडि हामीले पनि त्यसै गरी कागजमा पेन्सिलले अक्षर लेख्न सिकेका थियौं। तर हाम्रो र गीताको अक्षर सिकाइको पृष्ठभूमिमा व्यापक अन्तर थियो।
हामी दुर्गम भए पनि नेपालको पहाडको ‘उच्च’ भनिने जातीय समुदायमा हुर्किँदै गरेका केटाकेटी। हाम्रो शिक्षा आमाबुबाको उच्च प्राथमिकतामा थियो। तर गीता थिइन् मधेशकी महिला। त्यो पनि दलित।
सायद हामीले अक्षर सिकेको उमेरमा उनलाई शिक्षा दिनुपर्छ भन्ने चेतनासमेत थिएन परिवारमा। चेतना भए पनि गरिबीले यसरी थिचेको थियो कि छोरीका लागि पढाइ यो जुनीमा सम्भव नहुने विषय थियो।
हुर्किँदै जाँदा दुई छाकको जोहो गर्दागर्दै पढाइ कहिल्यै उनको प्राथमिकतामा पर्न पाएन। उमेर यत्तिकै ढल्क्यो।
मेरो र अझ अगाडिको पुस्ताका शिक्षित मानिसहरूले शारीरिक मेहनत कम पर्ने दिमागी पेसा अपनायौं, गीताहरूले कठोर श्रम गर्नुपर्ने कृषि अँगाले। हामीले लोकतन्त्रबारे सिक्यौं, मानव अधिकार र महिला अधिकारबारे सिक्यौं। सिक्यौं मात्रै हैन, सिकाउन पनि थाल्यौं। कतिको जीविका नै मानव र महिला अधिकारको पैरवीमा टिक्यो। ती क्षेत्रमा काम गर्ने एनजिओहरूले गीताहरूका जस्ता समुदायमा पुगेर उनीहरूलाई ती विषयमा शिक्षित गर्न थाले।
तर त्यस दिन अचम्मै भयो।
मजस्ता अघाएपछि भोकको विवेचना गर्न बस्ने मानिसहरूलाई गीता चमार, सहिदा खातुन दर्जी, सीला धोबी, रिना रैदास, विद्या धोबी, माता प्रसाद धोबी, कौशिला बागवान, सकिना तेली, राहुल शेख, खतुना बेहेना, सलिमुन निसा बेहेना, मोहम्मद शेर बागवान, रुबी खान, सियाराम धोबी र बब्ली धोबीले कठोर प्रश्न तेर्स्याए- तिमीले गर्ने दमितहरूको अधिकारको कुरा तिम्रै पेट भर्नलाई मात्रै हो?
भएछ के भने, वीभत्स रूपमा हत्या गरिएकी नन्कुन्नी धोबी तथा सम्पत्ति हडपेपछि अपहरण र हत्या गरिएकी निर्मला कुर्मीका लागि न्याय खोज्दै उनीहरू नेपालगन्जबाट बीस दिन हिँडेर काठमाडौं आइपुगे। माइतीघरमा धर्ना दिए। अभियन्ताहरूको नेतृत्व गरेकी रूबी खानविरूद्ध झुटा मुद्दा लगाएर सरकारले पक्राउ गरेपछि उनी सत्याग्रहमा उत्रिन्। अदालतको आदेशबाट छुटेपछि पनि उनीहरूले आन्दोलन जारी राखे। सरकारले दुवै हत्याको छानबिनका लागि समिति बनाएपछि आन्दोलनको त्यो चरण टुंगियो।
त्यो आन्दोलनलाई सहयोग र भरथेग गरेको बृहत् नागरिक आन्दोलनले त्यसबीच महिला अधिकारको क्षेत्रमा काम गर्ने धेरै एनजिओहरूलाई सोध्यो- नन्कुन्नी र निर्मला महिला हैनन्? तिनको हत्या हुँदा महिला अधिकार हनन भएन? रूबीलाई झुटा मुद्दा लगाएर धरपकड गर्दा तिनको अधिकार हनन भएन? तपाईंहरू यी विषयमा बोलेको खै?
जवाफमा उनीहरूले भने- हामीलाई यो विषयमा पूरा जानकारी भएन, कसैले हामीलाई विस्तृतमा बताएन।
सायद दिनैपिच्छे मिडियामा निस्केका त्यो अभियानसम्बन्धी समाचारहरू हाम्रा एनजिओकर्मीहरूसम्म पुगेकै थिएनन्।
पछि राज्यले छानबिन समितिको प्रतिवेदन दबाएर आरोपी बचाउने प्रपञ्च गरेको भन्दै गीता र रूबीहरू फेरि जुर्मुराए। उनीहरू चुप लागेर बस्न सकेनन्। नेपालगञ्जमा दिएको धर्नाले काम नगरेपछि दोस्रोपल्ट काठमाडौं हानिए र माइतीघरको साँघुरो चौरमा धर्ना बसे।
त्यसपछि बृहत् नागरिक आन्दोलनले एउटा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्यो र महिला अधिकारका क्षेत्रमा काम गर्ने एनजिओहरूलाई सकभर नछुटाइ त्यो कार्यक्रममा बोलायो, ताकि उनीहरूले पनि यो विषयमा बुझून् र आवाज उठाउन सकून्।
त्यो कार्यक्रममा एनजिओहरूका प्रतिनिधिको उपस्थितिः झन्डै शून्य।
म काठमाडौं गएको अर्को दिन २-३ कक्षा पढेका राहुल शेख गीता चमारका गुरू बनेका थिए। नेपाली र अंग्रेजीमा आफ्नो नाम लेखेपछि अर्को पृष्ठमा गीताले राहुलको नाम लेखेकी थिइन्।
पराल काट्ने मेसिनले दाहिने हातका केही औंला काटिएका राहुललाई किन सानैमा पढ्न छाडेको भन्ने कुराको यकिन याद छैन।
अहिले काठमाडौंको जाडोमा साथीहरू धमाधम बिरामी पर्न थालेपछि साथमा राख्न थालेका साइनेक्सका ट्याब्लेटहरू देखाउँछन् उनले मलाई।
त्यत्तिकैमा पेजभरिको राहुलले दिएको गृहकार्य सकेर गीताले कापी उनलाई दिन्छन्। उनले स्कुलका शिक्षकले झैं औंला काटिएको हातले कापीमा ठीक लगाइदिन्छन् र हस्ताक्षर गर्छन्।
झट्ट हेर्दा उनीहरूले त्यहाँ फुर्सदको बसिबियाँलो गरेजस्तो देखिन्छ। तर उनीहरूको त्यत्ति धर्नाले सिंहदरबारमा बस्नेहरूको निद्रा उडाइदिएको छ। राज्य नतर्सेको भए न अघिल्लोपल्ट उनीहरूको टोली नेता रूबी खानलाई झुटा मुद्दा लगाएर पक्रिन्थ्यो, न नेपालगञ्ज वरपरका उनीहरूको गाउँ–देहातमा पुगेर पीडकहरूले उनीहरूलाई आन्दोलन नटुंग्याए नराम्रो हुने धम्की दिन्थे।
अहिले पनि सरकारले उनीहरूको आवाज सुनेको नसुन्यै गरेको छ। तर माइतीघरमा उनीहरूको उपस्थिति उसका लागि काँडा बिझेजस्तै भएको छ।
देहातका पिछडिएका, अल्पसंख्यक, निरक्षर, जात व्यवस्थाले पिँधमा पारेका र सत्ता संस्थापनले सधैं चुप लागेर बस्ने अपेक्षा गरेका यी अभियन्ताहरूको अठोट हेरेपछि मलाई लाग्यो- यी हुन् यो देशका असली जिम्मेवार नागरिकहरू। समाजमा न्यायको दियो निभिहाल्नबाट जोगाउने यिनीहरू नै हुन्। तपाईं हामीलाई पशुभन्दा फरक, चेतना र संवेदनाले लैश मानिस बनाउने पनि यिनीहरू नै हुन्।
यिनीहरू दिनभर माइतीघरमा बस्छन्। साँझ परेपछि प्रहरीले बस्न दिँदैन, होटल पुगेर बस्नुपर्छ। त्यहाँ बस्न पैसा तिर्नुपर्छ। खानाको खर्च अलग्गै छ। पैसा बचाउन उनीहरू बससमेत चढ्दैनन्, हिँडेर होटल पुग्छन्। कहिले खान्छन्, कहिले खाँदैनन्।
उता घरमा खेतको काम बितिसकेको छ। कात्तिकको बेमौसमी झरीले धान बर्बाद गर्ने बेला उनीहरू यही आन्दोलनमा थिए। खेतको धान उतै कुहेर गयो। अब गहुँ छरेर पानी लगाउने बेला छ, उनीहरू आन्दोलनमै छन्। अबको वर्ष के खाने हो, पत्तो छैन।
तैपनि नन्कुन्नीको वीभत्स हत्या अनि निर्मलाको सम्पत्ति लुट्न उनीमाथि भएको कुटपिट, अपहरण, बन्धक र हत्याको घाउ यति आलो छ कि उनीहरू भोक र तिर्खा बिर्सेर न्यायको लडाइँमा छन्।
महिला अधिकारका नाममा, नन्कुन्नी र निर्मलाका नाउँमा बर्सेनि लाखौं पचाउनेहरू एकातिर छन्। निर्मला र नन्कुन्नीहरूका लागि न्याय खोज्ने कुरा अर्कोतिर छ। दुवै एकसाथ सम्भव हुन्थे भने सायद उनीहरूले न्यायका लागि आवाज पनि उठाउँथे होला। तर त्यसो सम्भव नहुनासाथ उनीहरू अहिले लुकेर बसिरहेका छन्।
त्यसैले सरकारलाई अहिले कुनै पनि अधिकारवादी एनजिओले प्रश्न उठाउला कि भन्ने डर छैन। कुनै पार्टीले निर्मलाको न्यायको विषय उठाएर राजनीति गर्ला भन्ने चिन्ता पनि छैन। पार्टीपिच्छे बग्रेल्ती खुलेका महिला संगठनले आवाज गुमाइसकेका छन् भन्ने त सरकारलाई राम्रैसँग थाहा छ। विद्यार्थी संगठनले पेट्रोलियमको भाउ बढेको दिन त्यसको विरोधमा एउटा विज्ञप्ति निकाल्नेबाहेक केही गर्दैनन् भन्नेमा पनि ऊ ढुक्क छ।
डर छ त खाली पेट न्यायका लागि खुट्टामा घाउ हुन्जेल काठमाडौं पुग्ने दुस्साहस भएका डेढ दर्जन ती नागरिकबाट जसलाई राज्य सत्ताले अरू बेला कुनै प्रयोजनका लागि कहिल्यै सम्झेकै छैन।