नेपाली कांग्रेसको अधिवेशनबाट सुर्खेतका जिल्ला सभापति र दुई जना पूर्वमन्त्रीहरू महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
मंगलबार भएको प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गतको अधिवेशनबाट उनीहरू पराजित भएका हुन्।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा चुनाव लडेका सुर्खेत जिल्ला सभापति कमलराज रेग्मी र पूर्वमन्त्रीहरू खड्कबहादुर बस्याल र शिवराज जोशी पराजित भएका हुन्।
आगामी जिल्ला अधिवेशनमा दोस्रो कार्यकालका लागि सभापतिको आकांक्षी समेत रहेका रेग्मी महाधिवेशन प्रतिनिधिमै पराजित भएका हुन्।
सभापति रेग्मीले ३२० मत प्राप्त गरेका छन्। पूर्वमन्त्री जोशीले ३१० मत प्राप्त गरेका छन्। उनीहरू दुवै जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमा प्रत्यक्षतर्फ उम्मेदवार थिए।
महाधिवेशन प्रतिनिधिका लागि दलित कोटाबाट उम्मेदवार पूर्वस्वास्थ्य राज्यमन्त्री खड्कबहादुर बस्यालले ३०२ मत पाएका छन्।
नेपाली कांग्रेस सुर्खेतका दुवै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा संस्थापन पक्षले एकलौटी नेतृत्व लिएको छ। पराजित पूर्वमन्त्रीहरू र सभापति रामचन्द्र पौडेल समूहका नेताहरू हुन्।
क्षेत्र नम्बर १ मा झकबहादुर डाँगीको नेतृत्वमा क्षेत्रीय कार्यसमिति चयन भएको छ भने २ मा ईन्द्रबहादुर रावतको नेतृत्वमा कार्यसमिति चयन भएको छ।
अधिवेशनअन्तर्गत सुर्खेतका ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि संस्थापन समूह नै विजयी भएको छ। ९ वटा पालिकामध्ये ८ वटामा पनि संस्थापन पक्षको वर्चस्व कायम भएको छ।
जिल्लाका ९९ वटा वडामध्ये ८६ वटामा देउवा समूहको नेतृत्व आएको छ।