मुगुमा भएको आगलागीको स्थलगत अनुगमन गर्न जान लागेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही हेलिकप्टर ढिला भएपछि जान सकेका छैनन्।
मंगलबार बिहान प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बसेर आपतकालीन राहत लिएर मुख्यमन्त्री शाही मुगु जाने कार्यक्रम थियो।
काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर सुर्खेत आइपुग्न ढिला भएपछि मुख्यमन्त्रीको अनुगमनमा जाने तालिका रद्द भएको उनका स्वकीय सचिव राज रोकायाले बताए।
‘सानो हेलिकप्टर त यतै थियो, राहत सामग्री लिएर जानुपर्ने भएकोले ठूलो हेलिकप्टर मगाइएको हो,’ उनले भने, ‘यहाँबाट प्रक्रिया पूरा गर्दागर्दै सुर्खेत आउन ढिला भयो, त्यसैले मुख्यमन्त्री जानुभएन।’
मंगलबार साँझ नै एकजना नवनियुक्त मन्त्रीको सपथग्रहण गर्ने कार्यक्रम तय भएको थियो। सेनाको हेलिकप्टर साढे ३ बजे सुर्खेत विमानस्थलमा आएको थियो। त्यसबेला मुगु गएर सुर्खेत फर्किन नसकिने भएपछि मुख्यमन्त्री मुगु नगएको रोकायाले बताए।
मुख्यमन्त्री शाही बुधबार बिहान ७ बजे मुगु जाने कार्यक्रम छ। नेपाली सेनाको हेलिकप्टर खाद्यान्न, लत्ताकपडा, भाँडा, टेन्ट लगायतका तत्कालीन राहत सामग्री लिएर काठमाडौंबाट सुर्खेत आएको छ।
मंगलबार बिहान बसेको प्रदेश संकट व्यवस्थापन समितिको बैठकले मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीमा भएको आगलागी पीडितहरूको लागि तत्कालीन राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ।
मुख्यमन्त्री शाहीको स्थलगत अनुगमन र स्थानीय प्रशासनले क्षतिको एकीन विवरण उपलब्ध गराएपछि थप राहत प्याकेज घोषणा गरिनेछ। त्यसका लागि प्रदेश संकट व्यवस्थापन समितिको अर्को बैठक बस्ने छ।
सोमबार राति साढे १२ बजे भएको आगलागीबाट गमगढीमा २० वटा घर जलेर नष्ट भएका छन्। राति सल्किएको आगो बिहान साढे ४ बजे मात्र नियन्त्रणमा आएको थियो।
स्थानीय ठिन्ले लामाको घरमा बालेर राखेको दियोबाट आगो फैलिएको थियो।
आगलागीबाट घरबारबिहीन भएकाहरूलाई तत्कालका लागि छिमेकीका घर र आफन्तहरूकोमा राखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।