दुई समूहमा अवैध रूपले नेपाल आएका ११ जना अफगान नागरिक अध्यागमन विभागमा आश्रित छन्। उनीहरूलाई गत सोमबार प्रहरीले नियन्त्रणमा लिई विभागलाई बुझाएको थियो।
तीमध्ये पाँच जनालाई विभागले सोमबार मेक्सिको पठाइदिएको थियो। श्रीमान-श्रीमती, आठ वर्षीय बालक र ११ र १७ वर्षीया बालिका गरी एकै परिवारका ती पाँच जना अफगान नागरिकलाई मेक्सिको पठाएपछि विभागले केही राहत महशुस गरेको थियो।
तर विभागको राहत चौबीस घन्टा पनि टिक्न पाएन।
श्रीलंकाको राजधानी कोलोम्बो ट्रान्जिट बनाएर मेक्सिको जाँदै गरेका उनीहरू गन्तव्य नपुग्दै मंगलबार ३ बजे नेपाल फर्किएका छन्। उनीहरूलाई श्रीलंकाले ट्रान्जिटबाटै नेपाल फर्काइदिएको हो।
यो घटनापछि आफ्नो शरणमा रहेका ११ जना अफगान नागरिकलाई के गर्ने भन्ने धर्मसंकट विभागलाई परेको छ। विभागले उनीहरूका सम्बन्धमा के निर्णय गर्ने तय गर्न सकेको छैन।
'हामीले मेक्सिको पठाएका पाँच जना अफगान नागरिक आज फिर्ता आए। उनीहरूलाई श्रीलंकाले ट्रान्जिटबाटै नेपाल फर्काइदियो,' विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले मंगलबार राति सेतोपाटीसँग भने, 'उनीहरूलाई के भनेर फर्काइयो भन्ने मैले हेर्न पाइसकेको छैन। उनीहरू आइपुग्दा ढिलो भइसकेको थियो। अब म थप बुझ्छु।'
विभागले उनीहरूका सम्बन्धमा के निर्णय गर्ला त भन्ने प्रश्न हामीले महानिर्देशक भट्टराईलाई सोधेका थियौं।
उनले यही निर्णय गर्ने भन्ने यकिन नभए पनि सबै अफगान नागरिकका हकमा एउटै निर्णय गरिने जवाफ दिए।
'हामीले यो समस्या कसरी समाधान गर्ने भनेर विभिन्न विकल्प खोजी गरेका थियौं। त्यसैमध्ये एउटा विकल्पका रूपमा पाँच जनालाई मेक्सिको जाने अवसर दिइएको थियो। मानवअधिकारको कुरा पनि आएकाले उनीहरूसँग भएको भिसाका आधारमा हामीले मेक्सिको जान सहजीकरण गरिदिएका थियौं,' भट्टराईले भने, 'तर त्यो सफल हुन नसकेपछि अब अरूको विषयमा जे निर्णय हुन्छ त्यही उनीहरूका हकमा पनि लागू हुनेछ।'
यसबारे कानुनसम्मत ढंगले थप विकल्पहरूमाथि अध्ययन भइरहेको उनले बताए।
यसो भन्दै गर्दा अफगान नागरिकहरूको ज्यान जोखिममा पर्ने गरी कुनै निर्णय नलिने उनले बताएका छन्। नेपालमै राख्न सकिने वा नसकिने भन्नेबारे सरकारले नै निर्णय लिनुपर्ने उनले बताए।
'अरू कुनै कानुनसम्मत विकल्प भेटियो भने अध्ययन हुन्छ। भएन भने नेपाल सरकारले निर्णय गर्ला,' भट्टराईले भने।
यस विषयमा शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (युएनएचसिआर) ले पनि चासो देखाएको जानकारी दिँदै उनले भने, 'अरू संस्थाहरूसँग पनि विभागले कुराकानी गरिरहेको छ।'
भारत हुँदै नेपाल छिरेका ११ जना अफगान नागरिकलाई केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको सिनामंगलस्थित फेसबुक होटलबाट गत सोमबार अर्थात् कात्तिक ८ गते नियन्त्रणमा लिएको थियो।
उनीहरू दुईवटा कोठा लिएर बसेका थिए। पाँच जनाको एउटा परिवार एउटा कोठामा र बाँकी छ जना अर्को कोठामा बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो। तीमध्ये छ जनाको समूह असोज १२ गते काठमाडौं आइपुगेको थियो भने एकै परिवारका पाँच जना कात्तिक ४ गते मात्रै आएका थिए।
ब्युरोको सोधपुछ क्रममा उनीहरू भारतको नयाँदिल्ली हुँदै स्थलमार्गबाट नेपाल छिरेको खुलेको छ। उनीहरू वैध रूपमै काबुलबाट हवाईजहाज चढेर दिल्ली पुगेको देखिन्छ। त्यहाँबाट नेपाल भने अवैध रूपमा छिरेका हुन्। उनीहरूले नेपाल छिर्न रूपन्देहीको सुनौली नाका प्रयोग गरेका थिए।
उनीहरू गत जुन-जुलाईमा अफगानिस्तानबाट भारत आएका थिए। त्यो बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्ने घोषणा गरेका थिए। त्यसैबीच अतिवादी विद्रोही समूह तालिबानले अफगानिस्तानका प्रान्तहरू कब्जा गर्न थालिसकेको थियो। नेपाल आइपुगेका अफगान नागरिक तालिबान काबुल छिर्नुअघि नै दिल्ली पुगिसकेका थिए।
प्रहरी स्रोतले उनीहरू तालिबानकै कारण आफ्नो देश फर्किन असमर्थ रहेको बताएका छन्। अफगानिस्तान फर्किन नपरे हुन्थ्यो भन्ने उनीहरूले बयान दिएको स्रोतले जानकारी दियो।
'तालिबान आउन लागेको अवस्था बुझेर कतिपयले चाँडै देश छाडेको पनि देखियो। कतिपयले दिल्लीमा उपचार गराउन आएको र आफ्नो देशको अवस्था बिग्रिएपछि उता नगई नेपाल आएको भनेका छन्। तर उनीहरू कहाँ जान लागेका हुन् भन्ने खुलेन। उनीहरूले नेपाल आएर युएनएचसिआरसँग सम्पर्क गर्छौं भनेका छन्,' प्रहरी स्रोतले भनेका थिए।
प्रहरी स्रोतले पक्राउ परेका एक अफगान नागरिकलाई उद्धृत गर्दै भनेका थिए, 'जे होस् हामी जोगियौं, अब अफगानिस्तान जान नपरे हुन्थ्यो। बरू हामीलाई यहाँ जेलमा राखिदेऊ तर देश फर्किनुपर्यो भने हाम्रो ज्यान खत्तम हुन्छ।'
यी पनि हेर्नुहोस्: