कर्णाली प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसका नेता जीवन शाहीले लिएका छन्। उनी संघीयतापछि कर्णालीको सरकारको दोस्रो मुख्यमन्त्री बनेका छन्।
उनको कार्यकाल १६ महिना हुने छ। ४४ महिना माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले सरकारको नेतृत्व गरे।
प्रदेशमा कांग्रेस र माओवादीबीच भएको सत्ता हस्तान्तरणको सहमति कार्यान्वयन गर्न यसअघिका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार बेलुका साढे ६ बजे राजीनामा दिएका थिए। सोमबार बेलुका साढे ७ बजेदेखि नै लागू हुनेगरी उनको राजीनामा स्वीकृत भइसकेको थियो।
अल्पमतमा परेका महेन्द्रबहादुर शाही वैशाख ३ गते कांग्रेसको सहयोगमा विश्वासका मत पाएर थप ६ महिना मुख्यमन्त्री टिकेका थिए। सोही अघिल्लो दिन वैशाख २ गते नेकपा माओवादी र कांग्रेस प्रदेश सभा दलबीच सरकारको नेतृत्व आलोपालो गर्ने गरी ११ बुँदे सहमति भएको थियो।
उनको जन्म वि.सं. २०२५ फागुन २१ गते हुम्लाको खार्पुनाथ गाउँपालिका-६ मा भएको हो। हुम्लामा जन्मिएका उनले माध्यमिक तहको शिक्षा काठमाडौंको बुढानिलकण्ठ स्कुलबाट पूरा गरे।
कर्णालीको दोस्रो मुख्यमन्त्रीका रूपमा कार्यभार सम्हालेका जीवन शाहीको सुरूआती ‘करियर’ भने पाइलट थियो। कोर्षपछि एक वर्ष जहाज उडाएको अनुभव उनीसँग छ।
विज्ञान विषयमा उच्च माध्यमिक शिक्षा पूरा गरेपछि उनी पाइलटको तालिम लिन अमेरिका गएका थिए। अमेरिकाको एभिएसन स्कुलमा उनले पाइलटको तालिम लिएका थिए।
तालिमपछि उनलाई एसियाना एअरलाइन्समा पाइलटका लागि अफर आएको थियो। तर, उनले त्यसलाई छोडेर नेपालमै काम गर्ने उद्देश्य बोकेर फर्किए। नेपाल फर्किएर उनले नेपाल एयरलाइन्समा जोडिने प्रयास समेत गरेका थिए।
उनले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन्।
युवा उमेरमै नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका शाही १६ वर्ष लगातार हुम्ला जिल्ला सभापति बनेका थिए। २३ वर्षदेखि ३९ वर्ष हुँदासम्म जिल्ला सभापति बनेका उनी कांग्रेस हुम्लाको संस्थापक सभापति समेत हुन्।
कांग्रेसको विद्यालय शिक्षा विभागको प्रमुख भएर पनि उनले काम गरिसकेका छन्। एक कार्यकाल हुम्ला जिल्ला विकास सभापतिको रूपमा पनि उनले कार्यभार सम्हालेका थिए।
२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा शाहीले पहिलोपटक सभासद जितेका थिए। त्यसअघि २०६४ मा पहिलो संविधानसभा सदस्यमा लडेका शाही माओवादीका उम्मेदवारसँग पराजित भएका थिए।
पहिलो पटक सभासद हुँदा २०७३ मा माओवादीका प्रचण्ड नेतृत्वको सरकारमा उनी सांस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए।
मन्त्री हुनुअघि संसदमा संसदीय विकास समितिको सदस्यको रूपमा पनि उनले काम गरेका थिए।
अहिले पनि शाही नेपाली कांग्रेसमा तीन कार्यकालयता केन्द्रीय सदस्यकै रूपमा छन्। कर्णाली प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका शाहीले मंगलबार नै सपथ ग्रहण लिइसकेका छन्।
सोमबारदेखि कर्णालीमा नेकपा (एकीकृत समाजवादी)को तर्फबाट मन्त्री रहेका तीन जनाको पदावधि सकिएको छ। खाली रहेको मन्त्रालय र अहिलेका मन्त्रालयहरूलाई मिलाएर मन्त्रिपरिषद विस्तार गर्ने योजना सत्ता साझेदार दलहरूको छ।
कर्णाली प्रदेशमा कांग्रेस, माओवादी र नेकपा (एस)को सत्तामा साझेदारी छ। सत्ता साझेदार दलमध्ये हाल माओवादीका १२, कांग्रेसका ६ र नेकपा (एस)का ३ जना सांसद् छन्।
३५ सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित १३ जना र राप्रपाका एक जना सांसद छन्।