तीन वर्ष आठ महिना कर्णाली प्रदेशको नेतृत्व गरेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएका छन्।
माओवादी केन्द्र र नेपाली कांग्रेसबीच आलोपालो सरकार चलाउने सहमतिअनुसार राजीनामा दिएका शाहीले 'सत्ता फेरबदलको समय आएपछि राजनीतिक इमानदारी देखाएको' प्रतिक्रिया दिए।
‘सत्ता गठबन्धनमा फेरबदलको समय आयो,' उनले भने, 'दलहरूबीच समन्वय, सहकार्य र सहअस्तित्वका आधारमा अगाडि बढ्दै गर्दा इमानको राजनीतिको बाटोबाट कांग्रेसलाई सत्ता हस्तान्तरण गर्छु।’
उनले अब कर्णाली प्रदेशमा कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई आफ्नो र सत्ता साझेदार माओवादी केन्द्रको तर्फबाट भरपुर सहयोग हुने बताए।
मुख्यमन्त्रीबाट राजीनामा दिने क्रममा शाहीले आफ्नो नेतृत्वको सरकारले गरेका केही महत्वपूर्ण उपलब्धिसमेत सुनाए।
‘सबभन्दा पछि परेको कर्णालीमा विकासको जग बसाल्नुपर्ने थियो, सँगसँगै संघीयता कार्यान्वयनका लागि ऐन कानुन बनाउनुपर्ने थियो,’ उनले भने, ‘अहिलेसम्म ३६ ऐन, ६ गठन आदेश, १० नियमावली र ३८ कार्यविधि पास गरी कार्यान्वयनको चरणमा पुर्याएका छौं।’
एक सय ६९ संगठन संरचना र दुई हजारभन्दा बढी दरबन्दी सिर्जना गरिनुलाई उनले आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। प्रदेशमा रिक्त दरबन्दी पूर्ति गर्न प्रदेश लोकसेवा आयोग गठन गरिएको उनले जानकारी दिए।
प्रदेश गौरवका आयोजनाहरू सञ्चालन, आर्थिक नीति तर्जुमा, जनतासँग जोडिएका जीविकोपार्जन कार्यक्रम सञ्चालन, लोपोन्मुख र सीमान्तकृत समुदायलाई जीविकोपार्जनका लागि विशेष व्यवस्था, औद्योगिकीकरणमा प्राथमिकता, पर्यटन गुरूयोजना निर्माणजस्ता कार्यलाई आफू नेतृत्वको सरकारको उपलब्धिका रूपमा शाहीले व्याख्या गरे।
प्रदेश सरकार गठन भएयता ११३ मन्त्रिपरिषद बैठक बसी ६९३ वटा जनपक्षीय निर्णय भएको पनि उनले जानकारी दिए।
प्रदेश राजधानी जोड्ने, पालिकाको केन्द्र जोड्ने, कृषि सडक लगायतका ४ हजार १६५ किलोमिटर नयाँ सडक निर्माण आफ्नो पालामा भएको उनले बताए। त्यस्तै, २८० किलोमिटर ग्राभेल गरिएको, २३ वटा झोलुंगे पुल र एक दर्जनभन्दा बढी सडक पुल निर्माण सुरू गरिएको उनले उल्लेख गरे।
एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ८ वटा स्थानीय तहमा एक हजार १५ घरधुरी निर्माणका लागि सम्झौता, गरिब तथा विपन्न नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउन जनता आवास कार्याक्रममार्फत दुई हजारभन्दा बढी आवास निर्माण भएको शाहीले बताए।
मुख्यमन्त्रीले राजीनामा दिएसँगै सहमतिअनुसार अब नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्नेछन्।
मुख्यमन्त्री बन्ने तयारीमा रहेका जीवनबहादुर शाहीले अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने र गल्तीहरूलाई सुधार गर्ने जिम्मेवारी आफ्नो भएको बताए।
‘नेतृत्व मात्र फरक हो, समीकरण एउटै हो। अब हाम्रो नेतृत्वले पनि केही फरक त गर्ला,’ उनले भने, ‘विगतको नेतृत्वले गरेका राम्रो कामलाई निरन्तरता दिने र गल्तीलाई सुधार्दै जाने हो।’
कर्णाली प्रदेशमा अब कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच सत्ता समीकरण हुनेछ। तत्काल कर्णाली प्रदेश सरकारमा माओवादी र कांग्रेसका दुई-दुई जना मन्त्री छन्। नेतृत्व परिवर्तनसँगै अहिले मन्त्री रहेका मन्त्रालयहरूमा के कस्तो हेरफेर हुने भन्नेबारे धारणा आइसकेको छैन।
कर्णाली प्रदेश सभामा कांग्रेसका ६, माओवादीका १२, एकीकृत समाजवादीका ३, राप्रपाका १ जना सांसद् छन्। प्रमुख प्रतिपक्षी दल एमालेका १३ (सभामुखसहित) सांसद छन्।
यो पनि हेर्नुहोस्: