नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशका ८ वटा जिल्लामा गाउँ/नगर अधिवेशन भइरहेको छ। सबै जिल्लामा तोकिएकै मितिमा अधिवेशन सुरू भए पनि सबै पालिकाहरूको नेतृत्व भने चयन भइसकेको छैन।
८ जिल्लामध्ये हुम्ला र जाजरकोटका ६/६ पालिकाको नेतृत्व चयन भएको छ। दुवै जिल्लामा सात/सात वटा स्थानीय तह छन्।
जाजरकोटको नेतृत्व चयन भएका ६ वटामध्ये दुइटा स्थानीय तहमा चुनाव भएको छ। जिल्लाको जुनीचाँदे गाउँपालिका र भेरी नगरपालिकामा चुनाव भएको नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि इलम बहादुर शाहीले जानकारी दिए।
जुनीचाँदेमा वीरेन्द्रबहादुर शाही र भेरी नगरपालिकामा शशि बुढा सभापतिमा निर्वाचित भएका छन्।
यस्तै, शिवालय गाउँपालिकामा जस्विर वली, छेडागाड नगरपालिकामा टोपेन्द्र अधिकारी, नलगाड नगरपालिकामा जय बहादुर सिंह र बारेकोट गाउँपालिकामा रामचन्द्र ज्योति सभापतिमा चयन भएका छन्।
जिल्लाको कुशे गाउँपालिकामा भने नेतृत्व चयनको विषयमा विवाद छ। सभापति चयन आइतबार नै भइसकेको भए पनि सार्वजनिक गरिएको छैन।
‘गाउँपालिकाको १५३ मतमध्ये १३३ मात्र खसेको भन्ने छ, केही साथीहरू सभापतिको उम्मेदवारी घोषणा भए पनि बाहिर निस्कनुभएको भनिएको छ,’ कांग्रेसका एक नेताले भने, ‘अहिले त्यहाँ विवाद नै भन्ने त छैन, केही साथीहरूको आपत्ति होला। यसमा हामी छलफल गर्छौं।’
जिल्लाको गाउँ/नगरमा चयन भएको नेतृत्वलाई को कुन पक्षको भन्ने नभएको ती नेताले बताए।
‘हामी सबै ठाउँमा मिलाएर जाने प्रक्रियामा छौं, हाम्रोमा कुन पक्ष भन्ने छैन। सबै कांग्रेस हुनुहुन्छ,’ उनले भने।
यस्तै, हुम्लाका सात वटा पालिकामध्ये नेतृत्व चयन भएका ६ वटै पालिकामा संस्थापन पक्ष आएको छ।
कांग्रेस हुम्लाका सभापति जयपति रोकायका अनुसार जिल्लाका सर्केगाड गाउँपालिकामा अहिले पनि मतदान जारी छ।
सभापति चयन भएका पालिकामध्ये नाम्खा गाउँपालिकामा सुन बहादुर लामा, सिमीकोट गाउँपालिकामा धर्मराज रोकाया, खार्पुनाथ गाउँपालिकामा टक्क बहादुर शाही, ताँजाकोट गाउँपालिकामा कृष्ण बहादुर मल्ल, अदानचुली गाउँपालिकामा विष्णु भण्डारी र चंखेली गाउँपालिकामा नर भण्डारी सभापति चयन भएको उनले जानकारी दिए।