एक महिनाअघि दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) विभिन्न संरचनामा जाने क्रममा छ।
अहिले पार्टीको कमिटी निर्माणको कामलाई प्राथमिकता दिए पनि केन्द्र र प्रदेशहरूमा संसदीय दल पनि गठन भइसकेका छन्।
कर्णाली प्रदेश सभामा भने समाजवादीको संसदीय दल गठन गर्ने सुरसार समेत छैन। कर्णाली प्रदेशसभाका ३५ सदस्यमध्ये तीन जना मात्र समाजवादीका छन्।
एमालेभित्र समूहगत विभाजन हुँदा माधव नेपाल समूहमा रहेर फ्लोर क्रस गरेका चार जनाको पुनर्बहाली हुन सक्ने आशामा समाजवादीले कर्णालीमा संसदीय दल नबनाएको हो।
समूहगत विभाजनका क्रममा कर्णाली प्रदेश सभामा तत्कालीन समयमा सांसद रहेकाहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर फ्लोर क्रस गरेका थिए।
संसदीय दलको ह्वीप उल्लंघन गरी फ्लोर क्रस गरेपछि एमालेले उनीहरूलाई पदमुक्त गरेको थियो।
‘हाम्रा चार जनाको मुद्दामा पनि सकारात्मक फैसला आउँछ कि भन्ने पनि छ, न्यायिक निकायका केही फरक नजिरहरूले गर्दा उहाँहरू पुनर्बहाली हुन सक्नुहुन्छ,’ नेकपा (एस) की केन्द्रीय सदस्य रहेकी कर्णाली प्रदेश सभा सदस्य देवी ओलीले सेतोपाटीसँग भनिन्, ‘न्यायालयले त्यस्तो ठाउँ दिन पनि सक्छ, त्यसकारण हामी नआत्तिएको हो।’
सांसद पद गुमाएका चार जनामध्ये दुई जना बुढा र ज्वाला फ्लोर क्रस गर्नुअघि मन्त्री थिए। फ्लोर क्रस गरेपछि बुढासहित थापा र शाही मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा मन्त्री छन्।
नेकपा एमालेले कारबाही गरेपछि पदमुक्त भएका उनीहरू पुनर्बहाली हुनुपर्ने माग गर्दै सर्वोच्च पुगेका थिए। सर्वोच्चले जेठ २७ गते उनीहरुलाई पुनर्बहालीको अन्तरिम आदेश दिएको थियो।
त्यसपछि नेकपा एमाले भ्याकेटमा गएको थियो। उक्त भ्याकेटमा पुनः म्याद जारी गर्ने आदेश सर्वोच्चले दिएको थियो।
सर्वोच्चले पुनर्बहालीको अन्तरिम आदेश दिएपछि प्रमु प्रतिपक्षी दल बनेको एमाले प्रदेशसभा दलले उनीहरूलाई प्रतिपक्षीको सिटमा बस्न निर्देशन दिएको थियो। उनीहरूले फेरि पनि दलको निर्णय नमानेपछि प्रदेश संसदीय दलले फेरि उनीहरूलाई पदमुक्त गरेको छ।
त्यसयता उनीहरूको मुद्दा अदालतमा चलिरहेको छ।
अहिले समाजवादी बनेपछि उनीहरू सबै यसैको पक्षमा खुलेर लागेका छन्। ज्वाला नेकपा (एस) को केन्द्रीय कमिटीमा उपमहासचिव बनेका छन्।
अहिले कर्णालीमा संसदीय दल निर्माण भन्दा पनि पार्टी निर्माणमा आफूहरू केन्द्रित रहेको ओलीले बताइन्। ‘संसदीय दल निर्माण भन्दा पनि पार्टी निर्माणको कामलाई प्राथमिकतामा राखेका छौं, जनतामा परेको भ्रमलाई चिर्न पनि हामी पार्टी निर्माणमा जुटेको हो,’ उनले भनिन्, ‘त्यसले गर्दा अहिले हामी पार्टी निर्माण गर्दै जनतालाई बुझाउने क्रममा छौं।’
तीन जना मात्र सांसद भएको संसदीय दल बनाउँदा खासै पदका लागि हानाथाप पनि नहुने भएकाले हतार नगरिएको उनले बताइन्। ‘अहिले सदन पनि चलेको छैन, सरकार बनाउन सक्ने पनि हाम्रो संख्या छैन। यसकारण पनि हामी यसमा आत्तिएका छैनौं,’ ओलीले भनिन्।
यदि चार जनाको पुनर्बहाली भएमा कर्णाली प्रदेशसभामा नेकपा (एस)का सांसद संख्या सात पुग्नेछ।
अहिले कर्णाली प्रदेश सभामा बहाल ३५ जना सदस्यहरूमध्ये १२ जना माओवादी केन्द्रका छन्। सत्ता साझेदार दल नेपाली काग्रेसका ६ जना सांसद छन्। राप्रपाका एक जना सांसद छन्।
पहिले एमालेमा रहेको तीन जना बहालवाला सांसद समाजवादीमा गएपछि अब एमालेमा सभामुखसहित १३ जना सांसद छन्।
नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव ज्वालाले भने केन्द्रीय कमिटीको बैठक सकिएलगत्तै फर्किएर कर्णालीमा संसदीय दललाई संरचनामा लैजाने बताए। ‘अहिले हामी केन्द्रीय कमिटीको बैठकमा छौं, यसपछि लगत्तै हामी दल बनाउँछौं,’ उनले भने।