दोस्रो चरणमा तोकिएको नेपाली कांग्रेसको वडा अधिवेशन सुर्खेतमा हुन सकेको छैन। आज वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा सुर्खेत पनि परेको छ। पार्टीभित्रका दुई समूहबीचको क्रियाशील सदस्यतासम्बन्धी विवादकै कारण सुर्खेतमा आज तोकिएको अधिवेशनबारे अन्यौल सिर्जना भएको हो।
सुर्खेतमा विशेषगरी अर्को पार्टीबाट कांग्रेसमा आएका व्यक्तिहरूलाई सदस्यता दिने विषयमा कुरा मिलेको छैन।
अखण्ड नेपाल पार्टीबाट आएको मानिसलाई सदस्यता दिने विषयमा एकलौटी भएको भन्दै सुर्खेतमा नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ।
सभापति शेरबहादुर देउवा पक्षले भने यसबारे केन्द्रमा छानबिन समितिले काम गरिरहेकाले उताबाट निर्क्यौल हुने बताएको छ।
नेपाली कांग्रेस सुर्खेतका सभापति रहेका पौडेल पक्षका नेता कमलराज रेग्मीले केन्द्रबाट एकलौटी रूपमा अखण्ड नेपाल पार्टीबाट आएका १ सय ९९ जनालाई क्रियाशील सदस्यता दिने परिपत्र गरेपछि आफूहरुले यसमा विरोध गरेको बताए।
तहगत रूपमा छलफल गरी समायोजन गर्नु पर्ने माग आफूहरूको भए पनि केन्द्रबाट सुनुवाइ नभएको उनले बताए।
‘हाम्रो त प्रजातान्त्रिक पार्टी हो, प्रजातान्त्रिक पार्टी विधि र प्रक्रियाबाट चल्नुपर्छ,’ उनले भने, ‘केन्द्रले गरेको सर्कुलरअनुसार तहगत समायोजन हुनुपर्छ भन्ने हाम्रो माग हो, त्यो नभएपछि सुर्खेतको वडाधिवेशन रोकिएको हो।’
सुर्खेतमा यसअघि २०७० सालको संविधान सभा निर्वाचन एकजना उम्मेदवार अखण्ड नेपाल पार्टीबाट थिए। उनले जम्मा ३२ मत ल्याएका थिए। ३२ मत पाएको पार्टीलाई कांग्रेसमा आउँदा १९९ क्रियाशील सदस्य दिने विषयमा पौडेल पक्षले असन्तुष्टि जनाएको हो।
सभापति रेग्मीले अर्को समूह (देउवा पक्ष)ले आफू कमजोर भएको महशुस गरेको वडाहरूमा अखण्डबाट आएका मान्छेलाई सदस्यता दिएको आरोप लगाए।
‘हाम्रो समूह (पौडेल पक्ष) बलियो भएको वडाहरूमा सुनियोजित तरिकाले अखण्डबाट आएको मान्छे हालेको देखिएको छ, तहगत निर्णय भएर गएका वीरेन्द्रनगरका चारवटा वडाहरूको क्रियाशील सदस्यता स्थगन गरिएको छ,’ रेग्मीले भने, ‘यताबाट विधि पुर्याएर फारम भरेर गएकाहरूको स्थगन भयो, उता अखण्डबाट अर्को बाटो भएर आएकालाई क्रियाशीलमा हालिएपछि हाम्रो विरोध त्यहाँनिर रह्यो।’
उनका अनुसार वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर ३, ६, ८ र ११ का ७ सय ६ जनाको नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ।
आज हुने भनेको अधिवेशनको लागि सुर्खेतमा कुनै सर्कुलर नभएको उनले बताए। पार्टीले केन्द्रबाट जिल्लाका लागि खटाउनु पर्ने निर्वाचन अधिकृत पनि नखटाएको उनले बताए।
देउवा पक्षका नेता कालीप्रसाद शाक्यले भने केन्द्रमा सदस्यताको विषयमा छानबिन समितिले काम गरिरहेको भएर सुर्खेतको अधिवेशन हुन नसकेको बताए।
‘सुर्खेतको सन्दर्भमा अखण्ड नेपाल पार्टीबाट आएका मानिसलाई सदस्यता दिनुपर्दा केही कुरा नमिलेको हो, यसमा केही कुरा समूहगत रूपमा पनि आएको होला,’ उनले भने, ‘दुबै पक्षबाट छानबिन समिति छ, यसको टुंगो लागेपछि तेस्रो चरणको निर्वाचनमा सुर्खेत पनि पर्ला।’
छानबिन समितिले केन्द्रमा यसबारे टुंगो लगाएर सचिवालयमा पठाइसकेकाले केही समयमै सुर्खेतको समस्या समाधान हुने उनले बताए।
सुर्खेतमा ९९ वटा वडा छन्। कतिपय वडाहरूमा उम्मेदवार पनि चयन भइसकेका छन्।
क्रियाशील सदस्यतासम्बन्धी विवाद पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले मिलाए पनि कार्यान्वयनमा भने आइसकेको छैन।