कर्णाली प्रदेश सभामा नेकपा एमालेका तीन जना सांसदले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन्। सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उनीहरूले बुधबार समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
मुगुका सांसद चन्द्रबहादुर शाहीले आफूसहित रुकुमकी देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले समाजवादीको पक्षमा हस्ताक्षर गरेको जानकारी दिए।
कर्णाली प्रदेश सभाका सदस्यमध्ये माधवकुमार नेपालको पक्षमा खुलेर लागेका बहालवाला सांसदमा ओली र शाहीमात्र देखिएका थिए। आज रोकायाले पनि सनाखत गरेपछि उनको पक्षमा एक जना सांसद बढेका हुन्।
अझै पनि केही सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने सांसद चन्द्रबहादुर शाहीले दाबी गरे।
‘लोकतन्त्रमा दल रोज्न पाउने व्यवस्था हुन्छ नै। अरू साथीहरूसँग पनि छलफल भइरहेको छ,’ शाहीले सेतोपाटीसँग भने, ‘समाजवादीको पक्षमा सनाखत गर्ने सांसदको संख्या बढ्छ।’
एमाले भित्रको समूहगत विभाजनका क्रममा ६ जना सांसद माधव नेपाल पक्षमा लागेका थिए। वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा नेपाल पक्षका चार जनाले फ्लोर क्रस गरी माओवादी केन्द्रका शाहीलाई विश्वासको मत दिएका थिए।
प्रदेश सभा सदस्यहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले फ्लोर क्रस गरेको थिए। उनीहरूमध्ये थापा भौतिक, बुढा उद्योग र शाही कृषि मन्त्री छन्। चारै जनालाई एमालेले कारबाही गरेकाले उनीहरू अहिले सांसद छैनन्।
उनीहरूको पद गएपछि कर्णालीमा नेपाल पक्षका दुई जनामात्र सांसद रहेको आँकलन गरिएको थियो।
तीन सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेसँगै प्रदेश सभामा अब एमालेका १३ जना सांसद भएका छन्।
२०७४ को निर्वाचनमा कर्णाली प्रदेश सभामा एमालेका २० जना चुनिएका थिए। त्यतिबेला निर्वाचित भएकामध्ये ७ जना सांसद नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा गएका छन्।