खासमा अष्टलक्ष्मी शाक्य २०७४ सालमै मुख्यमन्त्री बन्नुपर्ने थियो। सबैको अपेक्षा पनि त्यही थियो।
बाग्मती प्रदेशमा शाक्य नेकपाभित्र सबैभन्दा सिनियर प्रदेश सभा सदस्य थिइन्। पार्टीमा ज्येष्ठताका हिसाबले मात्र होइन, राजनीतिक सक्रियता र प्रखरताका हिसाबले पनि उनी अग्रपंक्तिमा थिइन्।
२०७४ सालको निर्वाचनमा एमाले र माओवादी गठबन्धनले बाग्मती प्रदेशका साथै छ वटा प्रदेशमा बहुमत ल्याएपछि शाक्य मुख्यमन्त्री बन्ने पक्काजस्तै ठानिएको थियो।
तर उनलाई नेकपाले पन्छायो। उनको एउटै दोष थियो- पार्टीभित्र प्रधानमन्त्री केपी ओलीसँग थिइनन्। उनी नेता माधव नेपालनिकट थिइन्। राष्ट्रपति विद्या भण्डारी एमालेमा हुँदा उनीसँग शाक्यको ‘द्वन्द्व’ले पनि नकारात्मक भूमिका खेल्यो।
प्रधानमन्त्री ओलीले शाक्यको सट्टा हेटौंडा नगरपालिकाका पूर्वमेयर डोरमणि पौडेललाई अघि सारे। देखिने गरी भने पार्टीको संसदीय दलमा प्रतिस्पर्धा गराउने जसले जित्छ, उही मुख्यमन्त्री बन्ने भनियो। पूर्वमाओवादीले पनि पौडेललाई साथ दिएपछि शाक्य मुख्यमन्त्रीमा पराजित भइन्।
नेकपाले जितेका छ वटा प्रदेशमध्ये कुनै पनि प्रदेशमा माधव नेपाल पक्षले ‘भाग’ पाएन। छ वटै प्रदेशमा पुरुष मुख्यमन्त्री बने।
जेमाथि शाक्यको हक मानिएको थियो, त्यो उनीबाट छिनियो।
त्यसको झण्डै साढे तीन वर्षपछि उनी बुधबार बाग्मती प्रदेशको मुख्यमन्त्री बनिन्। पहिलो महिला मुख्यमन्त्रीको रुपमा उनको नियुक्तिको जुन ‘सेलेब्रेसन’ हुनुपर्थ्यो, त्यो भएन।
किनभने यो बीचमा एमालेको राजनीति यति बदलिसकेको थियो मुख्यमन्त्री बन्दा उनले तालीभन्दा धेरै गाली खाइन्।
कुनै बेला एमाले अध्यक्ष केपी ओलीकी कट्टर आलोचकका रूपमा परिचित शाक्य पछिल्लो समय भने तटस्थ बन्दै गएकी थिइन्।
उनले पार्टी एकताको विकल्प नरहेको र एमालेभित्रै गएर लड्नेसमेत बताउने गरेकी थिइन्। उनले माधव नेपालबिना पार्टी एकता नहुनेसमेत स्पष्ट पार्दै आएकी थिइन्।
संयोग यस्तो पर्यो, माधव नेपालले नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएकै दिन ओलीको अग्रसरतामा शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बनिन्।
यद्यपि, संसदीय दलको नेता बन्नुभन्दा पहिला शाक्यले नेपालसँग सुझाव मागेकी थिइन्। नेपालले पनि उनलाई ‘ग्रीन सिग्नल’ दिएका थिए।
‘अष्ट कमरेडले मुख्यमन्त्री बन्ने बेलामा नेपाल कमरेडसँग सुझाव लिनुभएको थियो। नेपालले पनि अघि बढ्नु भनेपछि मुख्यमन्त्री बन्नुभएको हो,’ बागमती प्रदेशका नेपालनिकट सांसद लक्ष्मण लम्सालले सेतोपाटीसँग भने, ‘पार्टी विभाजन भएपछि उहाँले कुन पार्टी रोज्नु हुन्छ भन्ने महत्वपूर्ण कुरा हो। त्यसले नै उहाँको कार्यकाल निर्धारण हुन्छ।’
नेपाल पक्षका कतिपय कार्यकर्ताले भने शाक्यले ओलीसँग सम्झौता गरेर उनलाई धोका दिएको आरोप लगाएका छन्। पदको लोभले नेपाल छोडेर ओलीलाई साथ दिएको बताएका छन्।
शाक्य मुख्यमन्त्री भएपछि उनलाई पदको लोभले माधव नेपालको पार्टीमा समूहमा गइनन् भनिएकोमा उनका पति तथा एमालेका पुराना नेता अमृत बोहरा आक्रोश पोख्छन्।
‘हाम्रो विचार, सिद्धान्त, दर्शन कतै पनि बिचलित भएको छैन। उहाँलाई माधव नेपाल र केपी ओली दुबै समूहले मुख्यमन्त्री बनाएको हो,’ बोहराले भने, ‘२०२८ सालदेखि यही पार्टीमा बिताएका हामीलाई राजनीतिक जीवनको उत्तरार्द्धमा पार्टी छोडेर जान मन लागेन।’
बोहरा र शाक्य दुबै केपी ओलीका प्रखर आलोचक हुन्। अहिले पनि बोहरा ओलीले पार्टी एकता बचाउन नसकेको, दुई तिहाइ बहुमतको संसद विघटन गरेको, दुई तिहाइको सरकार जोगाउन नसकेको र पार्टी ठिक ढंगले चलाउन नसकेको बताउँछन्।
‘धेरथोर दोष अरूको पनि छ। त्यो हामीले भोग्नुपर्छ। दृढतापूर्वक एमालेमा जीवन समर्पित गरेका छौं। सिद्धान्तमा पदीय स्वार्थको निम्ति सम्झौता गरेका छैनौं,’ बोहराले भने, ‘हामी अहिले एमालेमै रहेर पार्टीलाई विधानको बाटोमा र एकतावद्ध बनाउन सक्रिय रहन्छौं।’
कठिन समयमा शाक्यले नेपाललाई धोका दिएकी हुन् वा होइनन् त्यसको लेखाजोखा इतिहासले गर्दै गर्ला। एउटा कुरा भने पक्का हो- कम्युनिस्ट आन्दोलनमा यति लामो समयसम्म निष्ठापूर्वक लागेकी विद्रोही स्वभावकी शाक्य मुख्यमन्त्री बन्दा त्यसलाई ‘विवादित’ बनाइनु उनको लामो संघर्षमाथि अन्याय हो।
वामपन्थी आन्दोलनमा पाँच दशक बिताएकी ६८ वर्षीया शाक्य २०२८ सालमा झोंसेको बाल सेवा माध्यमिक विद्यालयमा पढ्दादेखि नै कम्युनिस्ट राजनीतिमा लागेकी थिइन्।
त्यसबेला शाक्य नेपाल कम्युनिस्ट पार्टी (श्यामप्रसाद समूह) थिइन्। बोहराले शाक्यलाई त्यतिबेलै चिनेका थिए।
त्यसबेला अहिलेको एमालेका संस्थापक नेताहरू भर्खर संगठन बनाउन लागिरहेका थिए। जनताका बीचमा जान राजनीतिक दललाई पञ्चायतकाल बाधक थियो। खुला गतिविधि र संगठन विस्तार गरे जेल पुगिन्थ्यो।
काठमाडौंमा हुनेखाने र सम्पन्न वर्गमै जन्मिएकी शाक्यको परिवार बौद्धमार्गी थियो। बौद्धमार्गमा अन्याय सहनु हुँदैन, गरिब मानिसलाई माया गर्नुपर्छ, समाज वा राज्य व्यवस्था दुबैबाट कसैलाई पनि थिचोमिचो भएको सहनु हुँदैन भन्ने मान्यता थियो।
तर, काठमाडौंको नेवारी परिवार धार्मिक रूपमा जस्तोसुकै मार्गमा बाँधिए पनि ‘कट्टर’ थियो। छोरी मान्छे बाहिरफेर संगठन बनाउने, राजनीति गरेर हिँड्ने कुरा पटक्कै मन नपराउने पारिवारिक बन्धनभित्र शाक्य जेलिन पुगिन्।
२०२९ सालमा एसएलसी दिएपछि उनी रत्न राज्यलक्ष्मी क्याम्पसमा पढ्न थालिन्। क्याम्पस पढ्न थालेपछि उनी शिक्षण पेसामा पनि सक्रिय भइन्। शिक्षण पेसाबाट आउने थोरै कमाइ पार्टीलाई लेबी बुझाउँथिन्। शिक्षण पेसा गर्दै राजनीतिक जीवन पनि अगाडि बढाउँदै थिइन्।
पञ्चायत उग्र बन्दै गइरहेको थियो। भित्रभित्रै ‘भूमिगत’ रूपमा कम्युनिस्टहरू भुसमा आगो सल्किएजस्तै संगठन विस्तार गर्दै थिए। सूचना पञ्चायती शासकको कानमा पुगिहाल्थ्यो।
शाक्यसहितको प्रगतिशील मार्क्सवादी विचार भन्ने समूह थियो। यही समूहमा रहेर उनीहरू भविष्यको कम्युनिस्ट राजनीतिबारे अध्ययन-चिन्तन गर्थे।
‘घर बाहिर-बाहिर रहनुपर्ने भएपछि उहाँलाई परिवारले बन्देज लगाउन खोजेछ,’ बोहरा भन्छन्, ‘परिवारले उहाँको विवाह प्रस्ताव ल्याएछ।’
परिवारलाई सम्झाइबुझाइ गरेर उनले त्यो विवाह प्रस्ताव किनारा लगाइन्। तर, राजनीतिको सक्रियतालाई पाखा लगाउन उचित ठानिनन्। त्यसका लागि घरको ‘अधिनस्त’बाट मुक्त हुनुपर्थ्यो। सोचाइ त विस्तारै अगाडि बढिरहेको थियो।
सिन्धुपाल्चोकका बोहरा २०२२ सालदेखि कम्युनिस्ट पार्टीमा आवद्ध थिए। काठमाडौं आइजाई गरिरहन्थे। २०२८ सालमा शाक्य रहेको सक्रिय महिलाहरूको समूहबारे जानकारी पाउँदा बोहरा उनीहरूसँग मिलेर संगठन बनाउन उत्साहित भएका रहेछन्।
तर, प्रत्यक्ष चिनजान भएन। २०३२ सालमा कम्युनिस्ट कोअर्डिनेसन केन्द्रको संस्थापक सदस्य बनेका थिए बोहरा।
‘त्यसबेला वामपन्थीहरू शिला खोज्नुपर्ने अवस्था थियो,’ उनी भन्छन्।
बोहराले बाग्मती अञ्चललाई केन्द्रित गरेर विशाल कार्यक्षेत्र बनाएका थिए। त्यही क्रममा पाटनका वामपन्थी नेता सुशीलचन्द्र अमात्यको घरमा शाक्यसँग भेट भएको थियो। कोअर्डिनेसन कमिटी हुँदै नेकपा माले बन्यो।
बोहरा पोलिटब्युरोको सदस्य थिए। शाक्यहरूको समूहले अप्रत्यक्ष सहयोग गरिरहेको थियो। २०३५ सालमा शिक्षक आन्दोलन भएपछि त्यो समूह मालेमा आवद्ध भयो। मालेले क्याम्पस, विश्वविद्यालय र गाउँमा राजनीतिक आन्दोलन चलाउँथ्यो। सामन्तवाद र पञ्चायतको विरूद्धमा जनता जगाउँथ्यो।
२०३५ सालमा त्यो समूह मिसिँदा शाक्यलाई नेकपा मालेको सदस्यता दिइयो। सदस्यता दिएपछि शाक्यलाई गाउँमा जानुपर्छ भन्ने प्रस्ताव राखिएको थियो। उनी औपचारिक रूपमै परिवारबाट ‘विद्रोह’ गरेर निस्किइन्।
त्यसअघि उनलाई कैयौं दिन त परिवारले घरमै ताला लगाएर थुनेका पनि रहेछन्। तर, अनुशासित भएर बस्ने बताएपछि मुक्त भएकी रहिछन्।
‘भूमिगत काम के हो, किसान जनतामा कसरी जानुपर्छ भन्नेबारे मैले बताउने काम गरेँ। उहाँ तयार हुनुभयो,’ बोहराले भने, ‘सिन्धुपाल्चोक पठाउने निर्णय भयो।’
सिन्धुपाल्चोकको तिस्कर गाउँ बोहराको थियो। वर्गीय आधारमा संगठन निर्माण गर्नुपर्ने भएकाले पार्टीमा असल र जनताको सेवा गर्ने मानिस खोजी गरिरहेका बेला बोहराले शाक्यलाई रोजेका थिए। शाक्यले त्यहाँको इलाका कमिटी सदस्यका रूपमा संगठित सदस्य हुँदै जिल्ला कमिटीमा काम गरिन्।
‘नि:स्वार्थ भावना, इमानदारिता, अनुशासित र मेहनती देखेँ। घर छाडेको मानिस,' बोहराले भने, 'म माथिल्लो कमिटीको संगठक थिएँ। एकले अर्काले मन पराउने स्थिति भयो।’
उनीहरू बिहे गर्ने निर्णयमा पुगे। तर बिहे गर्न व्यक्तिगत रूपमा पार्टीमा आवेदन दिनुपर्थ्यो। पार्टीले अध्ययन, छानविन समिति गठन गरेर पक्का गरेपछि मात्रै स्वीकृति दियो।
२०३७ सालमा काठमाडौंका रवि चित्रकारको घरमा उनीहरूको ‘भूमिगत’ बिहे भयो।
‘त्यसबेला प्रेम विवाहलाई प्राथमिकता नै दिइन्थ्यो पार्टीमा,’ बोहराले सम्झिए।
चित्रकार झलनाथ खनालका ससुराली हुन्। २०३७ साल माघको पहिलो साता बोहरा र शाक्यले पार्टीको झन्डा साक्षी राखेर बिहे गरे। सिपी मैनाली, झलनाथ खनाल, माधव नेपाल, जीवराज आश्रित लगायत उपस्थित त्यो बिहेको खर्च चित्रकारले नै बेहोरिदिएका थिए।
पञ्चायतको सक्रियताका कारण परिवारमा विद्रोह, श्रीमान-श्रीमती सधैं सँगै बस्ने स्थिति थिएन। न एकले अर्कोलाई परिचित गराउने अवस्था थियो।
बिहेपछि सँगै बसेको छोटो समयमा उनीहरूका छोराछोरी जन्मिए- आस्था र विश्वास। तर उनीहरूलाई कष्टले हुर्काउनुपर्यो, राजनीतिकै कारण।
‘मेरा आफन्तकहाँ केटाकेटी राख्ने अवस्था थिएन। नातागोता सबै सरकारको निगरानीमा थिए। मामाघरमा सम्पर्क थिएन,’ बोहराले भने, ‘कहिले काठमाडौं, भक्तपुर, ललितपुरमा किसान जनताका घरमा लुकाउँदै राख्नुपर्यो।’
२०३९ सालसम्म शाक्य सिन्धुपाल्चोकमै सक्रिय भइन्। त्यसपछि उनलाई पार्टीले काठमाडौंमा सरुवा गर्यो। टोखा, कीर्तिपुरलगायत ठाउँमा संगठित भएर लागिन्। उनी अखिल नेपाल महिला संघमा पनि आवद्ध थिइन्।
२०४० सालमा सिन्धुपाल्चोकको तिस्करमा पञ्चायती सरकारले नरसंहार गर्यो। त्यसको प्रतिवाद गरेपछि त बोहराको घरनिरै प्रहरी चौकी नै राखियो। खोजीनिती र निगरानी बढेका बेला बोहरालाई पार्टीले पूर्वाञ्चल ब्युरोमा पठायो। मदन भण्डारीलाई काठमाडौं बोलाएर उनको ठाउँमा बोहरालाई त्यहाँ पठाइयो।
केही समयपछि शाक्यलाई पनि पार्टीले झापामा पठायो।
‘झापामा केटाकेटी घुमाउँदै राखियो। किसानकै भेषभूषामा राख्यौं। पठन-पाठनको अवसर पनि मिलेन,’ बोहरा भन्छन्।
झापा जिल्ला कमिटी हुँदै शाक्य मेची अञ्चल कमिटीमा संगठित भइन्। २०४५ सालमा पार्टी र अखिल नेपाल महिला संघको काममा इलाम जिल्लामा जाँदा पक्राउ परिन्।
जेलमा शाक्यले यातना पाएको सुनेपछि बोहराले उनको माइती पक्षसँग सम्पर्क बढाए। दिदी तारामार्फत् ससुरा तीर्थबहादुर शाक्यलाई जानकारी दिए। यो बीचमा बिहे भएको र छोराछोरी भइसकेको कुरा सबै बताए।
शाक्यले छोरी जीवित रहेको सुन्दा हर्षका आँशु खसालेका थिए। भेट्न इलाम जेल पुगे। कसो गरेर शाक्य छुटिन्। त्यसपछि एकैपटक बोहरा र शाक्यले २०४६ सालको आन्दोलनमा झापामा विशाल आन्दोलन चलाए।
शाक्य आन्दोलनकारीका सदस्यसहित पक्राउ परिन्। पञ्चायत ढलेपछि जनआन्दोलन सकिएको भोलिपल्ट विर्तामोडको खुला सभामा पहिलोपटक बोहरा-शाक्य दुबै खुला राजनीतिमा आए।
२०४७ सालपछि उनीहरू नेकपा मालेमा रहेर काठमाडौं हिँडे। शाक्य अनेमसंघको काममा व्यस्त भइन्। उनी भूमिगतकालमै अखिल नेपाल महिला संघको अध्यक्ष भइसकेकी थिइन्। पछि भने सहाना प्रधान अध्यक्ष हुँदा उनलाई महासचिव बनाइयो।
२०४९ सालमा शाक्य नेकपा एमालेको पाँचौं महाधिवेशनपछि केन्द्रीय सदस्य निर्वाचित भइन्। २०४८ सालमा राष्ट्रिय सभा सदस्य चुनिइन्। २०५४ सालमा एमालेबाट विभाजन भएर वामदेव गौतमले माले गठन गरे। २०५६ सालमा चुनाव हुँदा काठमाडौं क्षेत्र नम्बर ६ मा सहाना र शाक्य आमनेसामने भए।
शाक्यले शानदार जित हासिल गरिन्।
शाक्य नवौं महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष भएकी थिइन्। २०५९ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनी पहिलोपटक महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बनेकी थिइन्। गणतन्त्र आएपछि २०६५ सालमा उद्योग मन्त्री बनेकी थिइन्।
शाक्य काठमाडौंमै जन्मे-हुर्केर पनि परिवारबाट विद्रोह गरी राजनीतिमा लामो संघर्ष गरी खारिएर आएकी नेता हुन्।
उनको जन्म २०१० सालमा भएको थियो। विजयादशमीको अष्टमीका दिन जन्मिएकाले उनको नाम अष्टलक्ष्मी राखिएको थियो। पाँच दिदीबहिनीमध्ये उनी माइली हुन्।
शाक्य २०७४ सालमा भएको प्रदेश सभामा काठमाडौं निर्वाचन क्षेत्र ८ (ख) बाट निर्वाचित भएकी थिइन्।
बागमती प्रदेश सभामा उनको दाबेदारी मुख्यमन्त्री नै थियो। गण्डकीमा पृथ्वी सुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल नेतृत्वमा आए। तर बाग्मतीमा शाक्यलाई हराइयो।
बोहरा एमालेका स्थायी समिति सदस्य तथा एमाले अनुशासन आयोगका अध्यक्ष समेत हुन्। बोहरा र शाक्य माधव नेपाल समूहका नेता भए पनि नेपालले मंगलबार नेकपा समाजवादी गठन गर्दा दुबै गएनन्।
जीवनको उत्तरार्द्धमा आइपुग्दा शाक्यलाई पदको कुनै लोभ थिएन भन्छन् बोहरा।
‘त्यतिको सिनियर नेतालाई प्रदेशमा पठाएपछि अन्याय गर्न हुँदैन थियो। तर अहिले सर्वसम्मत रुपमा उहाँ मुख्यमन्त्री हुनुभएको छ। हाम्रो धार, अडान र मान्यता परिवर्तन भएको छैन,’ बोहराले भने।
बोहरा शाक्यलाई श्रीमतीभन्दा पनि साथीका रूपमा बढी देख्छन्। एकले अर्कोलाई घरमा सरसहयोग गर्छन्।
‘म उहाँलाई लुगाकपडा धुन, भाँडा माझ्न सघाउँछु,’ बोहरा भन्छन्, ‘हाम्रो देश पुरुष प्रधान भनिन्छ। तर मैले उहाँलाई त्यस्तो कहिल्यै महशुस हुन दिइनँ।’
उनीहरूले आफ्नो युवा अवस्था पार्टीमा बिताए। सारा चाहना, जीवन, सुख त्यसमै समर्पित गरे। तर पदमा पुग्ने, लाभ लिने र सम्पत्ति जोर्ने मामलामा कहिल्यै नलागेको बताउँछन् बोहरा।
‘हामी उहाँको माइती र मेरो ससुरालीले दिएको सानो जग्गा र घरमा बस्छौं,’ उनले भने, ‘हामी आज पार्टीको जुन हैसियतमा पुगेका छौं, त्यो एकले अर्कोलाई भनसुन गरेर होइन।’