थरूहट थारूवान राष्ट्रिय मोर्चाले काठमाडौंको माइतीघर मण्डलमा गरिरहेको तीनदिने विरोध प्रदर्शनको दोस्रो दिन बुधबार कवि उर्मिला गम्वा थारूले कविता वाचन गरेकी छन्।
उनले 'तानाशाहीलाई मेरो चिठी' शीर्षकमा कविता वाचन गर्दै सबैलाई पिछडिएका समुदायको आँशुको गहिराइ बुझ्न आग्रह गरेकी थिइन्।
'टीकापुर विद्रोहको ६ वर्ष' अवसरमा जारी यो विरोध प्रदर्शनमा सोझो गाँउलेले 'इन्द्रणीको देश' कविता सुनाएका थिए।
कार्यक्रममा अभियन्ता प्रेमा थारू, भास्कर गौतम लगायतले मन्तव्य दिएका थिए।
मोर्चाले थरूहट आन्दोलन क्रममा पक्राउ परेका बन्दीहरूको रिहाइ र उनीहरूमाथि लगाइएका मुद्दा खारेजीको माग गरेका छन्। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा रेशम चौधरी लगायतलाई षड्यन्त्रपूर्वक फसाइएको मोर्चाको आरोप छ।
टीकापुर घटनामा एक नाबालकसहित ७ जनाको मृत्यु भएको थियो। यसलाई राजनीतिक मुद्दा भन्दै त्यसैअनुसार समाधान गर्न मोर्चाले माग गरेको छ।
तेस्रो दिन बिहीबार पनि दिउँसो १ बजे माइतीघर मण्डलमा प्रदर्शन गरिने मोर्चाले जानकारी दिएको छ।