सर्वोच्च अदालतको फैसलापछि काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।
सोमबार सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गरेसँगै उपत्यकामा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो।
फैसलापछि काठमाडौं उपत्यकालगायत सबै ठाउँमा सुरक्षाका लागि तयार रहेको नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए।
अहिले सम्भावित आन्दोलन हुने ठाउँहरूलाई पहिचान गरी प्रहरी परिचालन गरिएको उनले बताए।
'सघन किसिमको सुरक्षा व्यवस्था मिलाएको छ। जस्तो सुकै अवस्थाको लागि प्रहरीहरू स्ट्यान्डबाइ छन्,' कुँवरले भने,'काठमाडौं उपत्यकामा हो धेरै खटिएको हो।'
नेकपा एमालेका नेता महेश बस्नेतले युवा संघका सबै जनालाई माइतीघरमा भेला भइ प्रदर्शन गर्न भनेका छन्। त्यसअनुसार कार्यकर्ताहरू माइतीघरमा भेला भइसकेका छन्।
बस्नेतले फेसबुकमार्फत् देशभर सर्वोच्चको फैसलाविरूद्ध प्रदर्शन गर्न भनेका हुन्।
'तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंबैधानिक फैसलाविरुद्ध विरोध जनाउ। आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन,'बस्नेतले लेखेका छन्,'निर्दलिय शाषण व्यवस्थाको पुन बिजारोपन भएको दिन। व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेट्ङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्दमा प्रवेश गरेको छ। यो परमादेश कार्वान्वयन गर्ने असंभब छ। युवा संघले यसको विरुद्ध तुरुन्तै माइतिघर मण्डलामा बिरोध प्रदशन गर्दैछ। जो जहाँ छौ सहभागी बनौ। देश भर विरोध प्रदशन गरौं।'
युवा संघ प्रदर्शन गर्न भेला भइसकेको हुँदा त्यसैअनुसार माइतीघरमा प्रहरी खटिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए। सुरक्षाको व्यवस्थापन गर्न आफैँ पनि फिल्डमा खटिएका छन्।
'युवा संघको टोली जम्मा भइसकेको छ। वैद्य समुहको पनि प्रदर्शन भइरहेको छ। निषेधित क्षेत्रलाई ख्याल गरेर हामीले सुरक्षा व्यवस्था मिलाएका छौं। म आफैँ पनि अहिले फिल्डमा छु। कुनै पनि घटना नहोस् भन्ने हिसाबले प्रहरी परिचालन भएको छ,' उनले भने,'हामी जस्तोसुकै परिस्थितिका लागि तयार भएर बसेका छौं।'