शुक्रबार बिहान काठमाडौंको बालुवाटारबाट पक्राउ परेका नागरिक अभियन्ताहरू रिहा भएका छन्।
बृहत् नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठक लागयत १८ जना साँझ रिहा भएका हुन्। उनीहरूलाई प्रहरीले बिहान बालुवाटारबाट नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखेको थियो।
निषेधाज्ञाको समयमा आन्दोलनमा उत्रिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
नागरिक अभियन्ताहरूले चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै विरोध प्रदर्शनमा निस्किएका थिए। सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारी रहेको भन्दै त्यसविरुद्ध प्रदर्शन भएको हो।
अभियन्ताहरू पक्राउ परेपछि बृहत् नागरिक आन्दोलनले तत्कालै रिहा नगरे कडा संघर्षको कार्यक्रम गर्ने चेतावनी दिएको थियो।
साहित्यकार एवं अभियन्ता खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, संजीव उप्रेती, अर्चना थापा, सरिता परियार, रिता परियार, प्रणेता, भास्कर गौतम, अनुभव अजित, घिमिरे युवराज, संगीत, भावना रावत, निर्घ नवीन, शशि विक्रम कार्की, सौरभ कार्की, सौरभ न्यौपाने र अन्जान बाबु पक्राउ परेका थिए।