विवेकशील साझा पार्टीले लकडाउन गरेर आफ्नो दायित्व नबिर्सन सरकारलाई अनुरोध गरेको छ।
मंगलबार विज्ञप्ति जारी गर्दै पार्टी प्रवक्ता शरदराज पाठकले सरकारले लकडाउन गरेपछि आफ्नो दायित्व नबिर्सन भनेका हुन्।
नेपालमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरले भयावह स्थिति सिर्जना गरेको र त्यसको जालो तोड्न लकडाउन अत्यावश्यक भएको विवेकशील साझा पार्टीको भनाइ छ।
पार्टीले पहिले जस्तो नागरिकलाई घर घरभित्र राखेर आफ्नो दायित्व नभुलोस् भन्दै केही सुझावहरू कार्यान्यवन गर्न पनि आग्रह गरेको छ।
अस्पतालहरूमा अक्सिजन र आइसियू शय्यासहित जनशक्ति अभावले भयावह स्थिति देखिइसकेको भन्दै उसले तत्काल समस्या समाधान गर्न र बिग्रिएका अक्सिजन प्लान्ट मर्मतदेखि सिलिन्डर आयातमा आवश्यक तदारुकता देखाउन सुझाव दिएको छ।
कोरोना परीक्षणलाई व्यापक बनाइ कन्ट्र्याक ट्रेसिङमा समेत जोड दिन पार्टीले भनेको छ।
क्वारेनटिन तथा आइसोलेसन सेन्टरहरूको आवश्यक व्यवस्थासहित प्रभावकारी व्यवस्थापन गर्न, दैनिक ज्याला मजदुरी गरेर साँझ बिहान छाक टार्ने वर्गका लागि लकडाउन अवधिमा स्थानीय सरकारका प्रतिनिधिहरूद्वारा नागरिक समूहहरूको सहयोगमा खाद्य सामग्री वितरणसहित आवश्यक रेखदेख गर्न, खोप केन्द्रहरूमा देखिएको भद्रगोलपूर्ण व्यवस्थापन सुधार गरी भिडभाड नियन्त्रण गर्न भनेको छ।
पार्टीले कोरोनाको कहरबाट मुक्ति पाउन आम नागरिकलाई पनि जिम्मेवार पूर्ण व्यवहारका लागि अपिल गरेको छ।