सरकारले विदेशमा पनि नेपाली पाठ्यक्रमअनुसार पठनपाठन गर्न स्वीकृति दिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिए।
विदेशमा बस्ने नेपाली समुदाय र ती समुदायका लागि काम गरिरहेका संस्थाले नेपाली पाठ्यक्रम माध्यमिक तहसम्मको पठनपाठन गर्न स्वीकृति मागिरहेका थिए। सोही मागबमोजिम मन्त्रालयको प्रस्तावमा बैठकले स्वीकृत गरेको गुरूङले बताए।
'देशको कानुनअनुसार दर्ता गरी सञ्चालन गरेका विद्यालयमा माध्यमिक तहसम्मको पठनपाठन सञ्चालन गर्न माग भई आएकोमा त्यस्ता विद्यालयमा नेपाली पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गर्न शर्त तोकी अनुमति दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको छ,' उनले भने।