पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै बृहत् नागरिक आन्दोलनले त्यसलाई ‘प्रतिगमन’को संज्ञा दिएर विरूद्धमा आन्दोलन गरिरहेको छ।
राजनीतिक रूपमा ओली कदमलाई ‘प्रतिगमन’ नै भनियो र त्यसको पक्ष र विपक्षमा देशभरि आन्दोलन भए।
तर, दुई महिनापछि फागुन ११ गते प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतबाट अस्वीकार भयो। प्रतिनिधिसभा पुनर्स्थापित भयो अर्थात् ‘प्रतिगमन’ परास्त भयो।
प्रतिनिधिसभा विघटन गर्ने उनै प्रधानमन्त्री ओली भने सत्तामा हाइसञ्चोमा रहिरहेका छन्। उनले राजीनामा पनि दिएनन्। संसद ‘फेस’ गर्नका लागि सरकारमा समर्थन बढाउन कस्सिएका छन्।
उनको निशाना अहिले जनता समाजवादी पार्टीतर्फ छ। समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग ओलीले पटक-पटक छलफल गरिसकेका छन्।
नागरिक आन्दोलनले अविश्वासको प्रस्ताव लिएर ओलीलाई किन हटाउन नसकेको र राजनीति चलायमान किन नभएको भन्दै शनिबार प्रज्ञा प्रतिष्ठानको डबलीमा राजनीतिक दलका शीर्ष नेताहरूलाई प्रश्न गरेको छ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजाललाई एउटै मञ्चमा प्रश्न गरिएको छ।
तुवाँलोले दिउँसै अँध्यारो वायुमण्डलमुनिको खुला डबलीमा खचाखच नागरिकहरूले दलका शीर्ष नेतृत्वको ‘निरीहता’ सुनेका थिए।
सबैभन्दा बढी 'निरीह' चाहिँ माधव नेपाल र प्रचण्ड नै रहेछन्।
प्राध्यापक कृष्ण खनालले सुरूमै माधव नेपाललाई सोधे - ओलीलाई हटाउने 'प्लान टु' किन भएन?
तर, नेपालले ‘प्लान टु’ सुनाउन सकेनन्। उनले त आफू नै निरीह भएको सुनाए।
‘ओलीबाट बडो अप्ठ्यारो भयो, त्यही पार्टीमा अदालतले घोक्र्याएर पठाइदिएको छ, विचित्रको फैसला गरिदिएको छ,’ नेपालले भने।
नेपालले जन्माएको बच्चा पनि मान्दिनँ भन्ने कस्तो विचित्रको फैसला भन्दै पुरानो ठाउँमा फर्किन खोज्दा पनि आफूलाई निकाल्न खोजिएको बताए।
‘तर, म डराउने मान्छे हैन, यो देशका धेरै परिवर्तनमा मेरो योगदान छ, तर अहिले बडो गाह्रो छ, मेरो लागि पार्टीको ढोका बन्द गरिदिएको छ,’ नेपालले भने।
राजनीति सधैं सरल रेखाले अघि नबढ्ने भन्दै नेपालले राजनीतिमा अहिले अनेक दाउपेच र चाणक्यका नीति लागू भएको बताए।
‘मैले त ओलीले बोलाएको बैठकमा जान्नँ भनिसकेँ, सबै चुनौतीको सामना गर्न तयार छु, अहिले पार्टी विधान, नीति, सिद्धान्तका कुरा हराउँदै गएका छन्, हामी उपचार खोजिरहेका छौं, मरेको मान्छे बौरिन्छ कि भनेर घाटमा पनि उपचार गरिन्छ, हामी घाटे वैद्य खोजिरहेका छौं,’ उनले भने।
नेपालसामू राखिएको अर्को प्रश्न थियो- यो सरकार कहिलेसम्म चल्छ त उसो भए?
नेपालले भने, ‘महन्थ-मिनेन्द्रजीहरूले साथ दिएसम्म यो सरकार चलिरहन्छ।’
डबलीबाट सबैले महन्थ र मिनेन्द्रको अनुहार हेरेर हाँसे।
नेपाल आफ्नो पार्टीको बैठक रहेको भन्दै बिदा भइहाले पनि।
सोही ‘प्लान टु’बारे दाहाललाई खनालले प्रश्न सोधेका थिए।
खनालले सोधे- यो सरकारलाई समर्थन जारी छ?
दाहालले आफूलाई अहिले अविश्वास प्रस्ताव लैजान तत्कालै दबाव रहेको बताए।
‘हत्तपत्त लग्यो भने उल्टिन्छ भन्ने एक किसिमको जबरजस्त दबाव छ,’ दाहालले भने, ‘तर, दुई चार दिन पर्खिन्छु, बरू राजनीति जतासुकै जाओस्, मेरो राजनीतिक नैतिकता छ, म अगाडि बढाउँछु, न्यूनतम् समर्थन खोजेर अविश्वास बढ्छ।’
दाहालले आफूलाई राजनीतिक समर्थन चाहिएको बताए।
‘प्लान टु’ भने आफूहरूले नबनाएको दाहालले बताए। त्यसबारे पनि उनले प्रष्ट्याए।
‘सारा सेटिङ छ भनिन्थ्यो, ओलीकै मान्छेले भनेका हुन्। संसद पुनर्स्थापना भयो, सेटिङ भत्कियो, एउटा ब्याटल जितेको अनुभूति पनि भयो, अब सहज ढंगले राजनीति अघि बढ्छ भनेको त के को हुनु ओलीले छोड्दै छोडेनन्, बरू अर्को डिजाइन भयो र पार्टीलाई पुरानै स्थितिमा फर्काइने फैसला अदालतबाट आयो,’ दाहालले भने, ‘यो करेक्सन हुनुपर्छ, हामी पुनरावलोकनमा जान्छौं।’
पालो आयो जसपा अध्यक्ष ठाकुरको। ठाकुर अहिले ओलीसँगको सत्ता समीकरणको पहलले चर्चामा छन्।
दिनहुँजसो उनी बालुवाटारतिर वार्ताका लागि गइरहेको प्रसंग निकाल्दै खनालले सोधे- राजनीतिमा जे पनि सम्भव छ?
ठाकुरले चाहिँ त्यो प्रश्न प्रचण्डतिरै फर्काइदिए।
‘यो सबै उहाँहरूको पार्टीको आपसी लडाइँले भएको हो, ओलीजीसँग कुनै पनि लिखित सम्झौता गरेका छैनौं। हामीले उहाँहरूलाई नभने कसलाई भन्ने आफ्ना पीर मर्का,’ ठाकुरले भने, ‘हाम्रो राजनीतिक माग पूरा भएको छैन, हाम्रा नेता, सांसद, मेयर जेलमा छन्, मुद्दा खेपिरहेका छन्। कम्युनिष्ट पार्टीभित्र स्वार्थको लडाइँ छ।’
केन्द्रीय सदस्य रिजाललाई सोधियो- के कांग्रेसले ओलीलाई विश्वासको मत दिन सक्छ?
जवाफमा रिजालले भने, ‘हामी दिन सक्दैनौं।’ राजनीतिक रूपमा अविश्वासको मतको पक्षमै कांग्रेसले मतदान गर्ने उनले बताए।
रिजालसँग खनालले अर्को प्रश्न तेर्स्याए- लेनदेनको खेलमा लाग्दा देशको राजनीति बन्धक होला नि?
रिजालले जवाफ दिए, ‘कहीँ न कहीँ चिन्ता छ भने म दूर गर्न चाहन्छु, समग्रतामा कांग्रेसले विरोध नै गरेको छ।’
प्रतिनिधिसभा विघटन भएपछि संविधान धरापमा परेको राजनीतिक दलहरूको दाबी छ। नागरिक आन्दोलनको बुझाइ पनि त्यही छ।
संविधान धरापमा पर्दा ती सँगै जोडिएका गणतन्त्र, संघीयता, समावेशीता र धर्मनिरपेक्षता पनि संकटमा पर्ने तर्क नागरिक आन्दोलनमा सहभागीको छ।
त्यही समावेशीताको प्रसंग झिकेर सहजकर्ता दोभान राईले प्रचण्डसँग प्रश्न गरिन्- तपाईंहरूले हिम्मत नगर्नुभएको हो? तपाईंहरू नै पीडित जस्तो देखिनुहुन्छ नि?
दाहालले वायुमण्डलमा हिजो र आजको जस्तो दिउँसै रात परेजस्तो देखिएजस्तै राजनीतिमा पनि दिउँसै रात पार्ने काम भएको बताए।
‘म के भन्न चाहन्छु भने राजनीतिक नेतृत्वले एकपछि अर्को गर्दै बोल्ड निर्णय गर्दै आएको छ, मैले केसम्म गरिनँ? ७० प्रतिशत संख्या पुर्याएर ओलीलाई पार्टी अध्यक्षबाट हटाएँ, सदस्यबाटै निकालिदिएँ, तै पनि केही नगरेको भन्नुहुन्छ? अब जे हुन्छ जनता र सडकबाट मात्र सम्भव छ। तपाईंहरू जे भन्नुहुन्छ, म त्यही मान्न तयार छु।’
दाहालले अदालत र निर्वाचन आयोगले समस्यामा पारेको सुनाए।
‘अदालतले यस्तो निर्णय गर्छ भन्ने कसैले कल्पना गरेको थियो र? निर्वाचन आयोग पुगेर टाउका गनेर निर्णय गर्नुहोस् भन्यौं, आयोगले निर्णय नै नगरिदिने, अब अदालतको कुरा गरौं भने त मुद्दा थपिएला भन्ने पीर, तपाईंहरू भन्नुहुन्छ भने म अर्को मुद्दा थप्न तयार छु,’ दाहालले भने, ‘अदालतले प्राकृतिक न्याय र मूल्य मान्यता अनुसार निर्णय दिएन, यसमा हाम्रो असहमति छँदैछ, हामी छोड्ने हैन, सबैतिरबाट लड्नेवाला छौं।’
अन्तरक्रियाको अन्त्यमा नागरिक अगुवा खगेन्द्र संग्रौलाले ओलीले यो सबै गर्नुमा सर्वाधिक ठूलो भूमिका प्रचण्डको रहेको र दाहालले आफ्ना पीरमर्का सुनाइसकेकाले उनलाई केही पनि प्रश्न सोध्न मन नलागेको बताए।
त्यसपछि संग्रौलाले ओलीको साँचो महन्थ ठाकुरसँग रहेको भन्दै उनलाई सोधे- के ओलीलाई नै समर्थन हो त?
तर, ठाकुरले पुरानै कुरा दोहोर्याए। उनले अहिलेसम्म कुनै गठबन्धनका लागि सहमति नभएको र हालसम्म भएका लिखित सहमति पनि पालना नभएको बताए।