काठमाडौंको सरस्वती बहुमुखी क्याम्पसमा व्यवस्थापन पढाउने शिक्षक सुगमजंग केसी धर्ना बस्न दैनिक दुई घण्टा समय निकाल्छन्। ७३ दिनदेखि उनी माइतीघर मण्डलमा धर्ना दिइरहेका छन्।
दुइटा ब्यानर, पम्प्लेट तथा सरकारबाट प्राप्त केही कागजात बोकेर दसदेखि बाह्र बजेसम्म उनी धर्ना बस्छन्।
उनीसँगै नेपाल कमर्स क्याम्पसका शिक्षक बालनकुमार राजवंशी, व्यवसायी सुनिल महर्जन र ठेकेदार भीमप्रसाद ढुंगाना पनि धर्नामा बस्छन्।
उनीहरू तीनै जनाको सरकारसँग एउटै मात्र माग छ- बेवारिसे शवको पहिचान।
सुगमजंगका अनुसार नेपालमा दैनिकजसो तीन जनाको शव अलपत्र भेटिन्छ। त्यसमध्ये कोहीसँग मोबाइल फोन वा कागजात पाइएन भने शवलाई बेवारिसे घोषणा गरिन्छ। यस्तो शव केही दिन शवगृहमा राखेर सदगदका लागि पठाइन्छ।
यसका मुख्य दुई समस्या छन्।
एकातिर परिवारले आफ्नो घरको सदस्य बेपत्ता भएको भनेर वर्षौंसम्म खोज्छन्।
अर्को, भेटिएका शवबारे पूरा अभिलेख र विवरण नहुँदा ती व्यक्ति जीवित छन् वा छैनन् भन्ने टुंगो हुँदैन।
बेवारिसे शव पहिचानका लागि प्रहरीले पनि आफ्नो बेवसाइटमा छुट्टै एउटा क्याटेगोरी छुट्ट्याएको त छ। तर त्यहाँ सबै विवरण अद्यावधिक गरिएको छैन।
सरकारसँग २०५७/५८ सालदेखि गत पुससम्म एक हजार ८ सय ९९ जनाको विवरण छ। तर प्रहरीको बेवसाइटमा जम्मा एक हजार ४४ जनाको तस्वीर मात्रै सार्वजनिक गरिएका छन्। त्यसमा पनि २०७२ सालको भूकम्पमा परेका १३ जना, सामूहिक बलात्कारमा परेकी एक बालिका र अन्य १०३० छन्।
सुगमजंगका अनुसार अझै पनि ८ सय ५५ बेवारिसे शवको तस्वीर तथा हुलिया विवरण अद्यावधिक गरिएको छैन।
उनीहरूको माग बरू बेपत्ता भएका र बेवारिसेका लागि मात्रै छुट्टै वेबसाइट बनाउनुपर्यो भन्ने हो।
'शवले बोल्न सक्दैन, बोलिदिने पनि कोही छैन। सवारी दुर्घटना, बाटोमा अचेत भएर लडेको, बिरामी भएर लडेकाहरू शिक्षण अस्पताल लगायतमा थन्क्याइएका छन्। कहिल्यै बोल्न नसक्ने उनीहरूकै बोली बनेर हामी अगाडि आएका हौं,' सुगमजंगले मंगलबार धर्नास्थलबाट सेतोपाटीसँग भने।
हाम्रो संविधान २०७२ ले पनि हरेक नागरिकको पहिचानको हक दिएको छ। धारा १५ मा भनिएको छ- प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने तथा नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था संघीय कानुन बमोजिम हुनेछ।
बेवारिसे शवलाई प्रहरीले के गर्छ भन्नेबारे हामीले वरिष्ठ उपरीक्षक तथा प्रवक्ता बसन्तबहादुर कुँवरसँग सोध्यौं। उनले शवको पहिचान र हुलियासहित आन्तरिकरूपमै तल्लो स्तरसम्म परिपत्र गर्ने गरेको बताए।
'त्यसको हकमा हामीले ५-७ दिन राख्ने गरेका छौं। त्यसका लागि पहिचान हुन सक्ने अवस्थाको हुलियासहित सूचनाहरू आन्तरिकरूपमा तल्लोस्तरसम्म परिपत्र गर्ने गरेका छौं। मिडियालाई पनि दिने गरेका छौं,' उनले भने, 'शव सडेगलेको अवस्थामा सदगद गर्ने र विवरण प्रहरीको बेवसाइटमा अपलोड गर्छौं।'
उनका अनुसार १८-१९ सय जतिका विवरण भएकामा ११ सय जतिका पूरा विवरण अपलोड भइसकेको छ। सदगद भइसके पनि पहिचान खुल्न सक्ने अवस्थाका विवरण राखिएको उनले बताए। तर अहिले यो अझै प्रभावकारी भने हुन नसकेको उनको भनाइ छ।
'यो सिस्टमलाई हामीले जिल्ला प्रहरी कार्यालयस्तरसम्म लाने हामीले प्रयास गरेका छौं। तालिम दिएर उतैबाट अपलोड हुने हिसाबले गरेका छौं। तर त्यत्ति प्रभावकारी हुन सकेको छैन। अहिले हेडक्वाटरमार्फत नै राखिरहेका छौं। २०-२५ दिनपछि राख्ने अवस्थामा पुग्छ,' उनले भने।
सुमगजंगले यसरी शवको विवरण राख्न घच्घचाउन थालेको भने २०७२ सालदेखि हो। जब बैशाख १२ गते भुइँचालोमा थुप्रो मानिसको मृत्यु भयो, तब मात्रै उनले बेवारिसे भनिएका शवको पहिचान होस् भन्न थालेका हुन्।
'बैशाख १९ र २१ गते दुई ट्रक शव पशुपतिको आर्यघाटमा लगेर जलाइयो। त्यसरी जलाइएका शवका परिवार अहिले पनि कहाँ गयो भनेर पर्खिबसेका होलान्। उनीहरूलाई मृत्यु भइसकेको हो वा होइन भन्ने जानकारी छैन,' उनले भने।
त्यो कुरा सुगमजंग लगायतले थाहा पाएपछि उनीसहित केही साथी स्वयंसेवी बनेर अस्पतालका मुर्दाघरमा बस्न थाले। उनीहरूले पहिचान नखुलाई शव नजलाइयोस् भन्दै सदगद गर्न रोके।
'मृतकका परिवारलाई हामी बोलाउँछौं भनेर सबै शवका फोटो खिच्यौं। र प्रत्येक मृतकको हुलिया लिएर हामीले फ्लेक्स समातेर बस्यौं,' उनले भने, 'अस्पतालको इमर्जेन्सीमा खोज्न आउने मान्छेलाई मुर्दाघर पनि हेर्न जानू भनेर स्वयंसेवकहरूलाई आग्रह गर्न लगायौं।'
त्यसो गर्दा भने एक हजार ६५ जनाको शव पहिचान भएको उनले बताए।
त्यसैबेला सरकारसँग बेवारिसे शव पहिचान गर्ने कुनै संयन्त्र नभएको तर अत्यावश्यक भएको भन्दै उनीहरू लागि परेको बताउँछन्। यसका लागि उनीहरू प्रहरी, मानव अधिकार आयोग, गृह मन्त्रालय, संयुक्त राष्ट्र संघ लगायत सबै ठाउँमा पुगे। तर उनीहरूको आवाज सुनिएन। अन्तमा सबैको अन्तिम विकल्प माइतीघर नै हुने भन्दै धर्ना दिन आएको उनले सुनाए।
'त्यत्रो ठाउँमा गएर पनि पार नलागेपछि हामी माइतीघर मण्डल आएका हौं। अब यही अन्तिम हो। यहाँबाट अरू जाने ठाउँ छैन। यहाँ बसेर पनि भएन भने हामी यसको पिछा लाग्न छाड्छौं,' सुगमजंगले भने।
उनीहरू बिहान र दिउँसो पढाउने काममा लागेर दैनिक दुई घन्टा धर्नाका लागि समय निकाल्छन्। त्यसको प्रतिफलमा सरकारको ध्यानाकर्षण समेत भएको सुमगजंगले बताए। गृहमन्त्रालयले यससम्बन्धी अहिले निर्देशिका तयार पार्दैछ। तर तोकेभन्दा बढी समय लागेको उनी बताउँछन्।
'हालसम्म सरकारले बिना निर्देशिका बेवारिसे शव जलाउँदै आएकामा अबदेखि पहिचान नखुलेका शवको निर्देशिका बनाउन गत फागुन ४ गते नौ सदस्यीय समिति गठन भएको छ। तर विभिन्न कारण देखाएर थप १५ दिन मागेको छ,' उनले भने।
फागुन ४ गते सुगमजंगको समूह र गृह मन्त्रालयको बसेको थियो। त्यस बैठकले बेवसाइटमा बेवारिसेको हुलिया ७ दिनभित्र अद्यावधिक गर्ने भनिएको छ। तर उक्त निर्णय अझै कार्यान्वयन नभएको सुगमजंग बताउँछन्।
'हामीलाई पटकपटक विभिन्न बहाना बनाएर झुक्याउने गरेको छ। तपाईंहरू त आरामले सुत्नुहुन्छ। तर हामीलाई याद आउँछ,' आफ्नो फोनमा भएका बेवारिसेको फोटो देखाउँदै भने, 'यी आमा को थिइन्, यी बा को थिए, यो प्रश्नले मलाई एकदमै सताउँछ।'
सुगमजंगले भारतमा शवको दैनिक अद्यावधिक हुने वेबसाइट भएको भन्दै नेपालले बेवारिसेका लागि मात्रै छुट्टै वेबसाइट बनाउनुपर्ने बताउँछन्।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका संयोजक उपसचिवको नेतृत्वमा निर्देशिका तयारी भइरहेको बताए। उनले समयमै निर्देशिका नसकिनुको कारण भने पहिलेका उपसचिवको सरूवालाई देखाए।
'बेवारिसे लाश दिनदिनै बढ्दै गएका छन्। उनीहरूको पहिचान नहुँदा परिवारका मान्छे पनि सम्पर्कमा नआउने समस्या विगतदेखि नै थियो। त्यसका लागि हामीले निर्देशिका बनाउने अनि प्रहरीले शवको स्पष्ट देखिन्छ भने फोटो र घरपरिवार सम्पर्कमा आए बुझाउने भन्ने खालको निर्देशिका बनाउन लागेको हो,' उनले भने।