नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको बैठकले गुटगत गतिविधिमा लागेका नेताहरूलाई आत्मालोचनासहित आउन आह्वान गरेको छ।
शनिबार बालुवाटारमा बसेको एमालेको कमिटी बैठकले नेताहरूलाई आत्मालोचना गरेर आउन आह्वान गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। उनीहरूले पार्टीले स्वागत पनि गर्ने ज्ञवालीले बताए।
कमिटीको बैठकले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, राम कुमारी झाँक्रीलाई पार्टी हितविरूद्ध काम गरेको नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराई गुटगत भेला गरेकोले भन्दै स्पष्टीकरण सोधेको छ।
अरू नेताहरूलाई आत्मालोचना गरेर आउन बैठकले आह्वान गरेको हो। पार्टीले गुटगत गतिविधिहरूलाई गम्भीरतापूर्वक लिएको ज्ञवालीले बताए।
'बाँकी साथीहरूको हकमा उहाँहरूले आफूलाई गम्भीर रूपमा आत्मसमीक्षाका साथ पार्टीमा फर्किनुहुने, पार्टीमा क्रियाशील हुने नेतृत्वले विश्वास पनि गरेको छ र जो त्यसरी फर्किनु हुन्छ। उहाँहरूलाई जिम्मेवारीपूर्वक काममा लगाइने जानकारी पनि अध्यक्ष कमरेडले दिनुभएको छ,' प्रवक्ता ज्ञवालीले भने।