नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौंमा सुरू भएको छ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा राखिएको भेला भोलिसम्म चल्नेछ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल–नेपाल समूहले भेलाको आयोजना गरेका हुन्।
ओली पक्षले खनाल नेपाल पक्षको भेलामा सहभागी हुने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिए पनि देशभरबाट बाक्लो संख्यामा नेता कार्यकर्ताको सहभागिता छ।
भेलामा सहभागीहरुले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका छन्। उनीहरुले ओलीको स्वभाव विधि र विधान विपरीत हिँड्ने भएकाले उनको पछि लाग्न नसकिने बताएका छन्।
कार्यक्रम परिसरमा कम्युनिस्ट नेताहरु र एमालेका संस्थापक नेताहरुको तस्बिर राखिएको छ। ११ बजेबाट भेला सुरु हुने भने पनि औपचारिक रुपमा सुरु हुन भने ढिलाइ भएको छ।
भेला स्थलमा प्राथमिक उपचारको प्रबन्ध मिलाइएको छ । कार्यक्रम दुई सत्रको रहने छ । पहिलो सत्रमा उद्घाटन र दोस्रोमा बन्द सत्र रहनेछ।
हेर्नुहोस् तस्बिरहरू