सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि आज बसेको संसदको पहिलो बैठक वहिष्कार, नाराबाजी र घेराउ भएपछि १० मिनेटका लागि स्थगित भएको छ।
पुस ५ गते प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले फागुन ११ गते पुनर्स्थापित गरेपछि पहिलो पटक बैठक बसेको हो।
आइतबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक एक घन्टा ढिलो गरी सुरू भएको हो।
प्रचण्ड-नेपाल पक्षको सांसदहरुले सरकारले ल्याएको विधेयकविरूद्ध बैठक वहिष्कार गर्दै बाहिरीएका थिए। त्यसपछि प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले घेराउ गरेपछि संसद बैठक स्थगित भएको हो।
बैठक सुरु हुनासाथ प्रचण्ड-नेपाल पक्षले सरकारको राजनीतिक र कानुनी हैसियतमाथि प्रश्न उठाउँदै नियमित कारवाही अघि नबढाउन चेतावनी दिएको थियो।
सभामुखले नियमित कारवाही अघि बढाउन थालेपछि प्रचण्ड-नेपालका भीम रावलले संम्बोधन गर्दै प्रधानमन्त्री केपी ओली कुन पार्टीको हो भन्ने प्रश्न समेत गरेका थिए।
त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जसपालगायतले सरकारले अध्यादेशबाट शासन चलाउन खोजेको आरोप लगाउँदै संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेजीको माग गर्दै घेराउ र नारावाजी गरेपछि बैठक रोकिएको हो।
पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सरकारले अध्यादेश जारी गर्दै संवैधानिक नियुक्तिको प्रक्रियालाई आफू अनुकुल बनाउँदै अख्तियार लगायत संवैधानिक निकायमा संसदीय सुनुवाइ विना नै नियुक्ति गरेको थियो ।