लामो समयको भूमिगत जीवनपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसँगै राष्ट्रिय सभागृहबाट सार्वजनिक भएका छन्।
विप्लव राष्ट्रिय सभागृह पुग्दा उनको स्वागतमा पुगेका सयौँ कार्यकर्ताले समर्थनमा नाराबाजी गरेका छन्। रातो पोसाकमा सजिएका विप्लवका कार्यकर्ताले नाराबाजी गरेका थिए।
बुधबार र बिहीबार ६ चरणमा भएको वार्तापछि भूमिगत नेकपा महासचिव विप्लव अहिले राष्ट्रिय सभागृहमा सार्वजनिक भएका हुन्।
राष्ट्रियसभा गृहमा विप्लव सार्वजनिक हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्नेछन्। रातो पोसाकमा सजिएका कार्यकर्ताहरु सडकको दुवैतर्फ उभिएर विप्लवको स्वागतमा जुटेका थिए।
नेपाल सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमतिमा दुबै पक्षले हस्ताक्षर गरेका छन्।
शुक्रबार दिउँसो प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा भएको एक कार्यक्रममा दुबै तर्फका वार्ता टोली संयोजकले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
यस्ता छन् सहमतिका तीन बुँदा
१. दुबै पक्ष देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने सहमत।
२. विप्लव नेतृत्वको नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमत।
३. नेपाल सरकार विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध हटाउन र कार्यकर्तामा रिहाइ र सबै मुद्दा खारेज गर्न सहमत।