ललितपुर, हरिसिद्धिका पञ्चराज महर्जन हरेकचोटि सडक विस्तार विरोध कार्यक्रममा आउँदा धिमे र भुस्या बाजा बोकेर ल्याउँछन्। आफू चाहिँ प्रायः भुस्या बजाउँछन्, कोही साथी भेटिए उसलाई धिमे थमाउँछन्।
कार्यक्रम सकिएपछि उनी धिमेलाई हारझैं गलामा भिर्छन् र भुस्या झोलामा हाल्छन्।
'यसरी आफ्नो रैथाने बाजा बजाउँदा मन आनन्द हुन्छ,' उनले भने, 'बाजाको आवाजले मान्छेको ध्यान पनि तानिन्छ।'
उनले यति मात्र कारणले बाजा बोकेर आएका होइनन्। मुख्य कारण अर्कै छ। त्यो हो, बाजा घन्काएर सडक विस्तारका नाममा बस्ती उठाउन खोज्ने सरकारको कानसम्म आफ्नो आवाज सुनाउनु।
पञ्चराज आफैं पनि सडक विस्तारका एक पीडित हुन्।
२०७३ सालतिरको कुरा हो। हरिसिद्धिमा सडक फराक पारेर बस्ती उठीबास लगाउने चलखेल हुँदै थियो। त्यो बेला बिना मुआब्जा, बिना क्षतिपूर्ति सरकारले धमाधम घर भत्काउने तयारी गरेपछि स्थानीयले प्रतिकार गरे।
'सरकारले गैरकानुनी ढंगले दायाँबायाँ ११–११ मिटर फराकिलो बनाउन लागेको थियो। त्यसो हुँदा मसहित धेरैको घर पूरै जान्थ्यो,' ६४ वर्षीय पञ्चराजले भने, 'हामीले त्यसो हुन दिएनौं। सबै गाउँले उठाएर प्रतिकार गर्यौं। अनि सिडिओ पनि भागे, पुलिसहरू पनि भागे।'
त्यही बेलादेखि उनी सडक विस्तार पीडितहरूका हरेक कार्यक्रममा बाजा घन्काउँदै सरिक हुन पुग्छन्। धिमे र भुस्याको गुञ्जनले काठमाडौं उपत्यकाको रैथाने आवाज प्रतिनिधित्व गर्छ भन्ने उनलाई लाग्छ।
अहिले पनि पञ्चराजको घरको बाटो साँघुरो छ। मुश्किलले दुइटा गाडी वारपार हुन्छन्। तर, त्यहाँ ठूलो सडक चाहिन्छ भन्ने उनी ठान्दैनन्।
'हामी त्यहीँ बस्ने मान्छेलाई फराकिलो बाटोको आवश्यकता महशुस भएको छैन भने सरकारलाई किन टाउको दुखाई?' उनी प्रश्न गर्छन्, 'सडक त फराकिलो होइन, सजिलो पो हुनुपर्छ। फेरि ठूलो बाटो मात्र बनाएर के गर्नु? सरकारले राम्रो पार्किङ व्यवस्था नगरेकाले गाडीधनीहरू त्यही फराक बाटोमा पार्किङ गर्छन्। अर्काको गाडी पार्क गर्न हाम्रो घरजग्गा खोस्नु कहाँको न्याय हो?'
पञ्चराजले २०३१ सालदेखि ४० वर्ष निरन्तर मिनीबस चलाए। आफू चालक हुँदा पनि उनलाई बाटो फराक भए सजिलै पुगिन्थ्यो भन्ने कहिल्यै लागेन। साँघुरो बाटो र मोड भए उनी धैर्य गरेर बस्थे। आजभोलिका चालक देख्दा उनी दिक्क मान्छन्, 'उनीहरू आफ्नै तालमा कुदिरहेका हुन्छन्, तँछाडमछाड गर्छन्। कस्तो बेला कसरी जानुपर्छ भन्ने ज्ञान नै छैन।'
उनी अगाडि भन्छन्, 'बाटो नचाहिने होइन, चाहिन्छ। तर बाटो फराकिलो पारेर विकास गर्ने नाममा बस्ती नै उजाड्नु त भएन नि!'
पञ्चराजको घरकै बाटो भएर विभिन्न जात्रापर्व चल्छन्। पाटनबाट गुँलाको अवसरमा 'मत्या' भनेर विभिन्न ठाउँमा बत्ती बाल्दै पुग्दा कोही-कोही हरिसिद्धि पनि जान्छन्। फागु र योमरी पुन्हीमा हरिसिद्धिमा भवानीको नाच हुन्छ। त्यही पर्व चलाउन कतिले आफ्नो खेत पनि दान दिएका छन्।
'बाटोभन्दा हामीलाई हाम्रो सभ्यता, संस्कृति र यहाँका मान्छे प्यारा छन्,' उनले भने, 'हामी यसरी संगठित भएर बसेका छौं, बाटोको नाममा छरछिमेक नै विभाजित हुनुपर्यो भने त्यस्तो विकासको के अर्थ?'
सामूहिकताको यस्तो अनुभूति उनलाई रैथाने बाजाले पनि गराइदिएको छ।
उनले सानैमा भजन खलःमा बाजा सिकेका हुन्। त्यहाँ आबद्ध हुन झन्डै तीन महिना मुली अर्थात् दाताबाट सिके। खल:मा राति राति बाजा सिकाइन्थ्यो। उनी बिहान मात्र घर पुग्थे। त्यही बाजा बजाउँदै उनी बुंगमती, सनागथिदेखि विभिन्न मेला र कार्यक्रममा समेत पुगेका छन्।
भजन खलःमा आबद्ध हुने कतिले खेत, पैसा सहयोग गर्छन्। धेरैजसो यस्तै सहयोगबाट चल्ने खलःसँग कहिलेकाहीँ पैसा अपुग हुन्छ। त्यस्तो बेला विभिन्न समूहले सहयोग गर्छन्।
'हामीलाई केही पर्यो भने त्यो समूहले हामीलाई हेर्छ। ब्रतबन्ध, बिहेभोज लगायतमा हामीले अरू ब्यान्ड बाजा बोलाउनु पर्दैन। हाम्रै बाजा बजाइन्छ,' उनले भने, 'कसैको ब्रतबन्ध छ भने बाजा बजाउने अगाडि र ब्रतबन्ध गर्ने बच्चालाई पछाडि लगाएर मन्दिर जानुपर्छ। भजन खलःमा आबद्ध हुनेले बाजा प्रयोग गरेको पैसा तिर्नुपर्दैन। अरूलाई भने पैसा लाग्छ।'
त्यसरी संगठित समुदायमा सरकार सडक विस्तारको रटान लिएर आउने र समुदाय उजाड्न खोज्ने उनको भनाइ छ।
ललिपुर सडक विस्तार पीडित संघर्ष समितिका संयोजक अशोक महर्जन पनि सडक विस्तारका नाममा ललितपुरका पुराना बस्तीदेखि सम्पदा स्थल भएका केही ठाउँ भत्काउने तयारी भइरहेको बताउँछन्।
सिद्धिपुर, लुभु, सनागथि, चापागाउँ, हरिसिद्धि लगायत ठाउँमा सम्पदा स्थलहरू पनि परेका छन्। यी ठाउँ संरक्षण गर्न स्थानीयहरूले सर्वोच्चमा मुद्दा हालेका छन्।
'सदियौंदेखि बसेका बस्ती आफैंमा सम्पदा हुन्। सडक विस्तारका नाममा त्यस्ता ठाउँ भत्काउन खोज्नु न्यायपूर्ण होइन,' उनले भने, 'हाम्रो बस्ती उठाएर सुकुम्बासी बनाउने योजनामा हामीले विरोध जनाएका हौं।'
स्थानीयको प्रतिरोधपछि हरिसिद्धिमा अहिले बस्तीभन्दा तल सडक विस्तार भइरहेको छ।
'हरिसिद्धिमा हामीले भोगेको समस्या अन्यत्र पनि सल्केको देख्दा दु:ख लाग्छ। त्यही भएर जहाँसुकै सडक विस्तारको विरोध हुँदा म आइरहेको छु,' उनले भने, 'हाम्रो सम्पदा, संस्कृति, संस्कार र परम्पराका लागि जहाँ बोलाए पनि पुग्छु।'
यी पनि हेर्नुहोस्: