बालाजु बाइपासका सडक-पीडितहरूको कथा
‘तपाईंलाई सजिलो हुन्छ भने नेपाल भाषामा कुरा गर्दा हुन्छ है,’ बालाजु बाइपासका सडक-पीडित श्यामकृष्ण मानन्धरलाई हामीले यसै भन्दै कुराकानी सुरू गरेका थियौं।
स्थानीयको उठिबास लाग्ने गरी भइरहेका सडक विस्तारको विरोधमा निरन्तर सहभागी मानन्धर सोमबार माइतीघर मण्डलको कार्यक्रममा पनि आएका थिए।
उनले नेपालीमै जवाफ फर्काए, ‘के नेपाल भाषा, के तामाङ? के नेवार, के बाहुन, के क्षत्री? लक्ष्मीप्रसाद देवकोटाले त भनेकै छन् नि मान्छे जातले ठूलो-सानो हुँदैन।’
आफूहरू यसरी आन्दोलनरत रहँदा आफ्नै समुदाय एकताबद्ध हुन नसक्नुको असन्तुष्टि पनि उनलाई रहेछ, भने ‘बरू मेरो घर भत्काउन आउँदा एउटा बाहुन साथीले बाटोमै सुतेर विरोध जनाएका थिए। त्यसैले, मलाई मानवता ठूलो लाग्छ।’
उनले अगाडि भने, ‘अहिले सुमन सायमि नेपाल भाषा बोलेकै कारण पक्राउ परे। राज्यले त सबै भाषा र समुदायको संरक्षण गनुपर्ने होइन र?’
बाइपास सडक विस्तारको सुरूआत, अर्थात् २०७० सालमै श्यामकृष्णको घर डोजरको शिकार भएको थियो। उनी त्यति बेला आफ्नै घरमा कोल्ड ड्रिङ्क्स पसल चलाउँथे।
‘सडक मापदण्डअनुसार हाम्रो जम्मा तीन मिटर जग्गा परेको भनेर केही दिनअगाडि चिह्न लगाउन आएका थिए। तर, पछि बिनासूचना जम्मै घर भत्काइयो,’ उनले त्यो दिन सम्झँदै भने, ‘१४ मिटरको सडक मापदण्ड भएपछि त्यसरी एकातर्फ मात्र जम्मै पेलेर भत्काउन पाइन्छ कि पाइन्न? भन्नुस् त?’
श्यामकृष्णसँग आफ्नो घर भत्काइँदाको तस्बिरसँगै जग्गाको कागजात, कर, बत्ती र धाराको बिल तिरेका कागजात जम्मै सुरक्षित छन्। नगरपालिकाले घर दर्ता गर्दा काटेको सय रुपैयाँको रसिद पनि छ। जग्गाको लालपुर्जा भने त्यहाँका अरू धेरैको जस्तै उनको पनि छैन।
‘लालपुर्जा नभए पनि हामी त्यहाँका स्वबासी हौं भन्ने सरकारी प्रमाण छ,’ उनले भने, ‘सम्पूर्ण कागजात देखाउँदै देखाउँदै हामीलाई त्यस्तो गर्न पाइन्छ? हामीले कसैको एक रुपैयाँ खाएका छैनौं भने हामीमाथि किन यस्तो अन्याय?’
यस्ता धेरै गुनासोको जवाफ खोज्दै उनले अदालत र सडक धाएकै सात वर्ष भइसक्यो। आफूले न्याय पाउनेमा अब उनको विश्वास हराउन थालिसक्यो। तै पनि अन्यायविरुद्ध बोल्नुपर्छ भनेर उनी नित्य सडक धाइरहेका छन्।
उनकै छोराहरूले भन्न थालिसके, ‘कति दिन सडक धाउने? हाम्रो घर भत्काउनेहरूसँग पावर छ, हामी केही गर्न सक्दैनौं।’
उनका तीन छोरामध्ये दुई जना मामाघरमा कारखानाको काम गरिरहेका छन् भने एक जना पतञ्जलिका सामानको पसल चलाउँछन्। सोमबार उनीसँगै छोरा प्रवीणकृष्ण पनि माइतीघर आएका थिए। यहाँको परिवेश केही बेर नियालेपछि उनले भने, ‘हामीलाई त न्याय पाइन्छ भन्ने आश मरिसक्यो। बुवालाई पनि यसरी संघर्ष गरिरहनुपर्दैन भन्दा मान्नुहुन्न।’
आफ्नै घरमा अर्काको हकदाबी चलेपछि श्यामकृष्णको परिवारलाई अचेल ‘कस्तो प्रजातन्त्र, कस्तो लोकतन्त्र’ भन्ने भएको छ। जनतालाई साथ दिनुपर्ने प्रहरी नै विपक्षी भएर घर भत्काउनदेखि आन्दोलनमा दमन गर्न आएको देख्दा श्यामकृष्णलाई चित्त बुझ्दैन।
केही दिनअघि मेयरसँग जग्गाको विषयमा कुरा गर्न जाँदा प्रहरीहरू देखेर उनले हप्काएछन्, ‘यहाँ राष्ट्रपतिको सवारी छ कि क्या हो?’
उनले अगाडि भने, ‘राज्यले कि हामीलाई न्याय दिनुपर्यो, होइन भने हाम्रो गल्ती यहाँ यहाँ छ भनेर औंल्याइदिनुपर्यो। न्याय पनि नगर्ने अनि जनतालाई तर्साएर देश हाँक्ने? जहिल्यै अदालतको तारेख भन्यो, जुलुस भन्यो, म कति दिन यसरी सडकमा आउनुपर्ने हो?’
पुर्ख्यौली घरजग्गा गुमेको चिन्ताले नै करिब छ महिनाअघि आमाको निधन भएको उनी बताउँछन्। उनी सेतो लुगा, सेतो जुत्ता र सेतै क्यापमा विरोध कार्यक्रममा भाग लिन आउँछन्।
‘मेरी आमा विष्णुदेवी यही घरको तनावले बित्नुभयो,' सडक विस्तारमा ३ आना १ पैसामा ठडिएका दुइटा घर गुमाएका श्यामकृष्णले भने, ‘घर भत्काएको दिनदेखि उहाँको प्रेसर चर्कियो। यता हामी सडकमा कराउँदै थियौं, त्यसैबीच उहाँले छ महिनाअघि प्राण त्याग्नुभयो।’
विष्णुदेवीका श्रीमान २०१८ सालमै बितेका थिए। उनले दु:ख गरेर आफ्ना छोराहरूलाई हुर्काइन्। उनकै नामको जग्गा भएकाले श्यामकृष्ण ‘विष्णुमाया मानन्धर’ लेखिएको जग्गासहितको नक्सा लिएर प्रदर्शनमा उभिएका हुन्छन्।
‘अब त आठ वर्ष हुनै लाग्यो, हामीले न्याय नपाउने हो कि होइन अहिलेसम्म बुझ्न सकेको छैन,’ उनले भने, 'हाम्रो घर भत्काएर सडक विस्तार गर्ने भने पनि सडक अझै बढेको छैन। त्यहाँ त अहिले गाडी पार्किङ गर्ने ठाउँ बनेको छ। के हाम्रो घर अरू कसैको निम्ति गाडी पार्किङ गर्ने ठाउँ होस् भनेर भत्काएको?’
सडक विस्तारका नाममा घर भत्किएपछि अहिले उनको परिवार अर्को घरमा बसिरहेको छ। त्यो पनि २०३८ सालतिर पुरानो घरबाट उठेको भाडा र पसलको कमाइले जोडेको उनी बताउँन्।
आफूहरूको सिंगै घर जानु र शक्तिमा रहेका मान्छेको एक इन्च पनि केही नहुनुलाई उनी राजनीतिको दोष मान्छन्। सडक विस्तार गर्दा एकतर्फी मात्र भत्काइएको र यसले छिमेकीहरूबीच नै फाटो ल्याएको उनको भनाइ छ।
‘पहिला सबै सडकको विरोधमा थियौं। अहिले आफ्नो भाग जोगिएकामा अर्कोपट्टिकाहरू खुसी छन्। छिमेकी नै शत्रुजस्ता भइसक्यौं,’ उनले भने, 'यो फुटाउ राजनीति कति दिन चल्ने हो?'
उनले अगाडि भने, ‘अहिले हामी कराइरहेका बेला उनीहरू आइरहेका छैनन्। भोलि उनीहरूको घर पनि हाम्रोजस्तै जालझेल गरेर भत्कायो भने के उनीहरूलाई हामी चाहिँदैन?’
यी पनि हेर्नुहोस्: