बालाजु बाइपासका सडक पीडितहरूको कथा
बालाजु, बाइपासका सडकपीडितहरू आइतबार काठमाडौं महानगरपालिका घेर्न आएका थिए। उनीहरूका हातमा आ-आफ्ना जग्गाको नक्सा त थियो नै, खल्तीमा घरको तस्बिर पनि लिएर आएका थिए।
त्यही तस्बिर दिमागमा साँचेर उनीहरू सँगसँगै बाइपास पुग्दा एकछिन त हामी अलमलियौं।
त्यहाँ न तस्बिरमा देखिएजस्तो जग्गा थियो, न घर।
सरकारले सडक फराक पार्ने नाममा उनीहरू जन्मे-हुर्केको घर भत्काएको उहिल्यै हो। अहिले त उनीहरूको अतीतको डोबधरि मेटिएछ।
'उ त्यहाँ हाम्रो घर थियो,' ५५ वर्षीया रमा श्रेष्ठले सडकछेउको एउटा धुलाम्मे भागतिर औंल्याइन्।
हामीले उनको इसारा पछ्यायौं।
त्यहाँ घरको नामनिसान थिएन। भग्नावशेषधरि सफा पारेर त्यसमाथि डोजर चलाइएछ। जहाँ कुनै बेला उनको घर थियो, त्यो ठाउँ अहिले सडककै हिस्साजस्तो देखिन्छ।
आफ्नो पुर्ख्यौली थातथलोमाथि विकासको डोजर चलेपछि रमा लामो समयदेखि राज्यसँग न्याय मागिरहेकी छन्।
उनलाई आफ्नो घरमा सरकार पसेको त्यो दिन अहिलेसम्म छर्लंग याद छ।
२०७२ सालको भुइँचालो गएको करिब नौ महिना बिते पनि न जमिन काँप्न छाडेको थियो, न उनको जीवनको कम्पन थामिएको थियो। भुइँचालोले धर्ती थरथराएजस्तै उथलपुथल जीवन समेट्न खोजिरहेका बेला रमाको जीवनमा अर्को भुइँचालो गयो।
त्यो भुइँचालो थियो, सरकारले उनीहरूको घरमाथि हुलेको डोजरको।
श्रीपञ्चमीको त्यो दिन रमा ज्वरो आएर सुतिरहेकी थिइन्। हुलका हुल प्रहरी घरको आँगनमा उभिएर तुरुन्तका तुरुन्त सामान सार्न आदेश दिए। निष्लोट ज्वरोले ओछ्यानमा ढलेकी रमाले सकी-नसकी झ्यालबाट जग्गाको कागजपत्र र घरको नक्सा देखाइन्।
तर प्रहरीले राज्यको लालमोहर लागेका ती कागजपत्र हेर्ने कष्टधरि गरेनन्।
उनको घरमा डोजर चल्यो।
रातको अँध्यारोमा कसैका घरमा चोर पस्दा सुरक्षा दिने प्रहरीकै रोहबरमा दिनदहाडै रमाको घर लुटियो। त्यो पनि राज्यबाटै खटिएका अधिकारीहरूबाट।
'दुइटा डोजरले हाम्रो आँखैसामुन्ने घरको अगाडिको भाग गर्ल्यामगुर्लुम भत्काइदियो,' रमाले पाँच वर्षअघिको कालोदिन सम्झिँदै भनिन्, 'सामान त के, हामी आफैं पनि झर्न पाएका थिएनौं।’
उनले अगाडि भनिन्, ‘भुइँचालोले केही नभएको घर डोजरले भत्कायो।’
रमा आफ्नो घर 'प्वाइन्ट जिरो' मा रहेको बताउँछिन्। त्यो भनेको सडक विस्तारको मापदण्डभन्दा बाहिर पर्ने घर हो।
उनकै घरको लश्करमा अर्को घर रोशन श्रेष्ठको थियो। उनी रमालाई ठूलीआमा भन्थे। उनको घरको चाहिँ साढे एक मिटर भाग सडकमा परेको थियो। करिब तीन लाख रूपैयाँ क्षतिपूर्ति लिएर पैसा थपथाप गरी उनले साढे एक मिटर भत्काएका थिए र बचेको घर मर्मतसम्भार गरेका थिए। त्यसैमा घडी पसल सुरू गर्ने रोशनको तयारी थियो।
नयाँ सुरू गर्न आँटेको घडी पसलले रोशनको समय नै पल्टाइदियो।
श्रीपञ्चमीको त्यो दिन पसलको काम चलिरहँदा उनको घरमा पनि डोजर चल्यो। मापदण्डअनुसार साढे एक मिटर भाग सडकमा पर्छ भनी नापनक्सा भएर क्षतिपूर्ति पनि बुझिसकेको घरमा फेरि किन डोजर चल्यो? रोशनले अहिलेसम्म यो प्रश्नको जवाफ पाउन सकेका छैनन्।
सरकारी अधिकारी र जनप्रतिनिधिहरूसँग उनी बारम्बार सोध्छन्, 'हामीले मापदण्डमा पर्नेजति घर भत्काइसकेका थियौं, तै पनि फेरि किन हाम्रो घरमा डोजर चलाइयो?’
आइतबार हामीसँगको भेटमा पनि उनले यही प्रश्न दोहोर्याए।
जवाफ त टाढाको कुरा, सरोकारवाला निकायहरूले घर भत्काउनुअघि उनलाई सूचनाधरि दिएनन्। उल्टै विरोध गर्दा पटक-पटक लाठी हानियो, हत्कडी लगाएर थुनामा कोचियो।
'प्रहरीको दलबल लिएर माफिया शैलीमा शनिबार–शनिबार डोजर चलाइन्थ्यो,' उनले भने, 'देशभरका मान्छे शनिबार आएपछि रमाउँछन्, हामीलाई भने शुक्रबारदेखि नै शनिबारको त्रास सुरू हुन्थ्यो।'
२०७२ माघको श्रीपञ्चमी पनि शनिबारै परेको थियो।
बाइपासका स्थानीयले आफ्नो घर भत्काउन लागेका बेला उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीलाई सम्पर्क गरेका थिए। तिवारीले सम्झाएर पठाएछन्, 'हामीलाई चाहिएको १४ मिटर हो, त्यति छाडेर जेसुकै बनाउनुस्।’
उनले यसो भन्दाभन्दै बाइपासमा डोजर आतंक रोकिएन।
'यता डोजर चलिरह्यो, उता तिवारीले १४ मिटर मापदण्डको रट लगाउन कहिल्यै छाडेनन्। यो सिलसिला हाम्रो घर उठिबास नलागुन्जेल चलिरह्यो,' रोशनले भने, 'अस्ति गाईजात्राको दिन पूरै पातालै बनाएर छाड्यो।'
उनका अनुसार, गाईजात्राको दिनसम्म दुइटा घर बाँकी थियो। त्यही दुइटा घर भत्काउन पाँचवटा डोजर र तीन ट्रक प्रहरी आएका थिए। विरोध गर्ने स्थानीयहरूलाई प्रहरीले पक्राउ गरे।
‘हाम्रो घर भत्काएर मात्र पुगेन, हातमा हत्कडी लगाएर थुनामा पनि राख्यो,' रमाले आक्रोशित हुँदै भनिन्, 'के हामीले मान्छे मारेको हो र?’
रमा यसरी कराएको धेरै भइसक्यो। बुधबार त उनले प्रहरीको लाठी नै समाएर भनिछन्, ‘तिम्रो लाठी खोस्न आउँदा तिमीहरू फिर्ता लिन आउँछौ कि आउँदैनौ? अनि मेरो घर खोस्न आउँदा मैले फिर्ता लिन आउने कि नआउने?’
काठमाडौं महानगरपालिकाले रमाको घर भएकै ठाउँमा सूचना केन्द्र बनाउन लागेको छ। पाँच दिनअघि यसैको विरोध गर्दा उनका छोरा रुचितसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।
त्यहाँ सडक विस्तार गर्नेहरूले जस्ताको टहरा बनाएका थिए। त्यो जग्गा आफ्नो हो भनेर हक जताउन मात्र जस्ताको टहरा भत्काएको बताउँदै रमाले भनिन्, 'के त्यति गर्दैमा मेरो छोरा अपराधी भयो? त्यसो भए त मेरो १८ इन्ची पर्खाल भएको दुईतले घर थियो, त्यो भत्काउँदा के पुलिसहरूका आँखा टालिएका थिए? त्यसरी मेरो घर भत्काउने मान्छेलाई समातेर लग्नुपर्दैन? पुलिस त जनताको साथी हुनुपर्ने होइन?’
उनले अगाडि भनिन्, ‘इमानले काम गरेको भए किन उनीहरूले पुलिस बोकेर आउनुपर्थ्यो? इमानदारीले दुवैतर्फ सात–सात मिटर लिएको भए म यसरी बहुला जसरी कराउन त पर्दैन थियो नि! हामीमाथि अन्याय भएरै बाहिर निस्कनुपरेको हो।’
रमासँग आफ्नो जग्गाको लालपुर्जा छैन। उनीसहित यहाँका ३९ जनाको घर भत्काइएकामा तीमध्ये चार जना घरधनीसँग मात्र लालपुर्जा थियो। बाँकीसँग भने आफ्नो जग्गा हो भनेर पुष्टि गर्ने अन्य कागजात मात्र छन्।
रमासँग २००५ सालदेखि उनको ससुराले उक्त जग्गा उपभोग गर्दै आएका कागजात छन्। पछि त्यो घर उनको श्रीमान तीर्थमानको नाममा आयो। जग्गाका लागि लड्दा लड्दै चार महिनाअघि तीर्थमानको निधन भयो। रक्तचाप र मष्तिस्कमा रगत जमेर उनको मृत्यु भएको थियो।
‘आफ्नो हकका लागि लड्दा लड्दै उहाँ बित्नुभयो। उपचाररत रहँदा पनि उहाँ जग्गाकै कुरा गरिरहनु हुन्थ्यो। यहाँ धेरै परिवार छन्, जो जग्गाकै तनावले बितेका छन्,’ उनले भनिन्, ‘म पनि अन्तिम साससम्म लडिरहनेछु। बरू यो मुद्दा चल्दा चल्दै डोजरले पेलेर मलाई मारोस् तर म झुक्नेवाला छैन।’
तीर्थमान सञ्चय कोषमा काम गर्थे। त्यहीँबाट आएको पैसाले उनीहरूले केही वर्षअघि बालाजु बाइपासमा अर्को घर बनाएका छन्। उनी एक छोरी र छोरासहित त्यहीँ बस्छिन्। त्यसैको घरभाडाबाट गुजारा चलाइरहेको उनी बताउँछिन्।
‘तिमीहरूको अर्को घर छँदैछ, चुपचाप बस् भन्छन्। के अर्को ठाउँमा घर छ भन्दैमा अरूको सम्पत्तिमा यस्तो गर्न पाइन्छ?’ उनले भनिन्।
यता रोशन भने घरविहीन भएर पाँच वर्षयता माछापोखरीमा भाडामा बसिरहेका छन्। उनीजस्तै यहाँका धेरै संयुक्त परिवार छरिएर कोही कता कोही कता छन्।
आफ्नो घर गुमाएपछि उनीहरूले प्रहरी चौकी, उपत्यका विकास प्राधिकरण, महानगरपालिका, सडक विभाग लगायत पाँच ठाउँमा मुद्दा हालेका छन्, जुन अहिलेसम्म चलिरहेकै छ।
‘मैले त आफ्नो घर भत्केदेखि भगवानमाथि आस्था राख्न छाडिसकेँ। त्यसरी घर भत्काउँदा भगवान के हेरिरह्यो?’ रमाले भनिन्, ‘तर अझै न्याय पाइन्छ, सत्यले जित्छ भन्ने आशचाहिँ भइरहँदो रहेछ। म त्यसैका लागि लडिरहेछु।’
बालाजु, बाइपासका यी सडक पीडितहरूको आवाजले केही दिनयता काठमाडौंको सडक तातेको छ।
उनीहरूले आइतबार काठमाडौं महानगरपालिका घेराउ गरे। बाइपासबाट पक्राउ परेका आठ जना अभियन्ताको रिहाइ माग गर्दै कालिमाटीका स्थानीयले पनि आइतबार बिहान १० देखि १२ बजेसम्म पसल बन्द गरेका थिए। प्रहरीले पसल खोल्न जोड गरे पनि स्थानीयले टेरेनन्।
बुधबार बाइपासबाट पक्राउ पर्नेमा मीनबहादुर शाही, महेश्वर मानन्धर, सञ्जय तामाङ, दिपेन श्रेष्ठ, भीमदेव श्रेष्ठ र रूचित श्रेष्ठ छन्। उनीहरूलाई प्रहरीले पक्रेपछि उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमि र विरोचन श्रेष्ठ महानगरीय प्रहरी वृत्त बालाजु पुगेका थिए।
उनीहरूले पक्राउ परेकाहरूसँग भेट गराइदिन प्रहरीसँग अनुरोध गरे। प्रहरीले भेट्न त दिए, तर जसै उनीहरू नेपाल भाषामा कुरा गर्न थाले, प्रहरीले उनीहरूलाई पनि पक्राउ गर्यो।
ती आठै जनालाई अभद्र व्यवहारको मुद्दा चलाएर थुनामा राखिएको छ। पाँच दिनको म्याद सोमबार सकिँदैछ।
सबै तस्बिर: नारायण महर्जन/सेतोपाटी