राष्ट्रपति विद्यादेवी भण्डारीले उत्तराखण्डमा हिमनदी फुटेपछि भएको क्षतिप्रति दु:ख व्यक्त गरेकी छन्।
उनले बुधबार ट्वीट गर्दै बाढीका कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेकी हुन्।
त्यस्तै, शोकाकुल परिवारमा गहिरो समवेदना समेत प्रकट गरेकी छन्।
'मित्रराष्ट्र भारतको उत्तराखण्डमा हिमनदी विस्फोट भई आएको बाढीका कारण जनधनको ठूलो क्षति भएकोमा दु:ख व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,'उनले आफ्नो ट्वीटरमा लेखेकी छन्।
त्यस्तै, जलवायु परिवर्तनले ल्याएको चुनौतीको सामना गर्न हिमालय क्षेत्रका राष्ट्रहरूबीच समन्वयको जरूरी भएको बताएकी छन्।
'यस घटनाबाट जलवायु परिवर्तनले ल्याएको चुनौतीको सामना गर्न हिमालय क्षेत्रका राष्ट्रहरूबीच अझ बलियो समन्वय जरूरी देखिएको छ,'उनले भनेकी छन्।
आइतबार बिहान उत्तराखण्डको चमोलीस्थित हिमनदी फुट्दा गएको बाढीमा परी ३२ जनाले ज्यान गुमाइसकेको इन्डिया टुडेले जनाएको छ।
त्यस्तै, अझै १ सय ५० बढी बेपत्ता छन्। बेपत्ता हुनेहरूको खोजी गर्ने कार्य अझै जारी छ।
भारतीय सेना, इन्डो टिवेटियन बोर्डर पुलिस, नेसनल डिजास्टर रेस्पोन्स फोर्स र स्टेट डिजास्टर रेस्पोन्स पोर्सका ६ सय बढी अधिकारीहरू खटिएका छन्।