प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनविरूद्ध नेकपाको प्रचण्ड-नेपाल समूहको अनेरास्ववियूका विद्यार्थीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।
सोमबार दिउँसो सवा ३ बजे काठमाडौंको बानेश्वरमा विद्यार्थीहरूले प्रदर्शन गर्दै संसद भवनतर्फ जाँदै थिए। सोही क्रममा प्रहरीले उनीहरूलाई रोकेको महानगरीय प्रहरी वृत्त, प्रहरी नायब उपरीक्षक(डिएसपी) दक्ष बस्नेतले बताए।
उनीहरू बानेश्वरको पिपल बोटबाट निषेधित क्षेत्रतर्फ गएर प्रदर्शन गर्न खोजेका थिए।
'निषेधित क्षेत्रतर्फ आउन खोजेपछि हामीले रोकेका हौं,'डिएसपी बस्नेतले भने।
विद्यार्थीहरूले नाराबाजी तथा कालो झन्डा देखाएर प्रदर्शन गरेका थिए।
प्रदर्शनको क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो। उनलाई प्रहरीले केहीबेरमै छोडेको थियो।
तस्बिरहरू :