परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अमेरिकाका नवनियुक्त विदेश मन्त्री एन्टोनी ब्लिन्कनलाई बधाई सन्देश पठाएका छन्।
बधाई सन्देशमा ज्ञवालीले आगामी दिनमा नेपाल-अमेरिकाको बहुआयामिक सम्बन्ध झन प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्।
नेपालको आर्थिक सामाजिक विकासमा अमेरिकाले गरेको सहयोग सरहाना गर्दै मन्त्री ज्ञवालीले नयाँ प्रशासनको बहुपक्षियतालगायत नीतिले आगामी दिनमा आपसी सहकार्यका थप ढोका खोल्ने बताएका छन्।
सन्देशमा परराष्ट्र मन्त्री ज्ञवालीले जलवायु परिवर्तन र कोरोनाभाइरस महामारीलगायत साझा मुद्दामा अमेरिकासँग मिलेर काम गर्न प्रतिवद्ध रहेको बताएका छन्।
ज्ञवालीले सन्देशमा विकासमा सहकार्य, आर्थिक गतिविधि र जनता-जनताको सम्बन्धलाई थप मजबुद् बनाउनु पर्नेमा जोड दिएका छन्।
५८ वर्षीय ब्लिन्कनको नियुक्तिलाई मंगलबार माथिल्लो सदन सिनेटले अनुमोदन गरेको थियो। त्यसपछि उनले कार्यभार सम्हालेका छन्।
बाराक ओबामा राष्ट्रपति हुँदा उनी उपविदेश मन्त्री र उपराष्ट्रिय सुरक्षा सल्लाहकार थिए। उनी अमेरिकाका ७१ औं विदेश मन्त्री बनेका हुन्।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको ‘अमेरिका पहिला’ भन्ने विदेश नीतिलाई उल्ट्याएर अमेरिकालाई संसारका महत्वपूर्ण मुद्दामा नेतृत्वदायी भूमिकामा पुर्याउनु उनको प्रमुख चुनौती छ।