वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्री केपी ओली राजा महेन्द्र भन्दा पनि छोट्टा रहेको प्रतिक्रिया दिएका छन्। सेतोपाटीसँग कुराकानी गर्दै ९४ वर्षीय भण्डारीले २०१७ सालको 'कू' पछि महेन्द्रले समेत नगरेको गाली प्रधानमन्त्री ओलीले गरेको बताए।
'हामी प्रजातन्त्रवादी र मानव अधिकारवादी भएकाले सधैं यसका पक्षमा लडेका हौं। राजा महेन्द्रले समेत मलाई निडर भनेका थिए, ओलीले त अहिले बाजे र नटुवा भनेका छन्,' उनले भने।
पञ्चायतविरूद्ध मुद्दा लड्न जाँदा आफू बर्खिलाप भए पनि राजा महेन्द्रले 'यो मान्छे निडर छ, विद्वान छ' भनेको उनले सम्झिए, 'ओलीले भने आफ्ना बर्खिलापमा मुद्दा लड्यो भनेर मलाई बहस गर्न होइन, तमासा गर्न गएको भन्दिए।'
राजा महेन्द्रले आफूलाई न्यायाधीश, प्रधानन्यायाधीश बन्न आग्रह गर्दा आफूले नमानेको समेत उनले बताए।
आफूले ओलीलाई नचिनेको भए पनि पञ्चायतकालमा उनका पक्षमा मुद्दा लडेको उनी सम्झिन्छन्। रौतहटमा ओली र मोहनचन्द्र अधिकारीसँगै आफ्ना कार्यकर्ता समेत गिरफ्तारमा परेकाले उनीहरूका पक्षमा धनकुटामा गएर बहस गरेको उनले सुनाए।
'पञ्चायतकालमा रौतहटमा केपी ओली र मोहनचन्द्र लुक्न आएका थिए। त्यो हाम्रो लालक्षेत्र थियो। लुक्न आएकाहरू खुलमखुला घुम्न थालेपछि सुराकीका कारण उनीहरू गिरफ्तार परेका थिए,' उनले भने, 'उनीहरूसँगै हाम्रा मान्छे पनि गिरफ्तार परेकाले मैले मुद्दा लडेको हो।'
यो पनि पढ्नुस्:
ओलीहरू पनि पञ्चायतविरूद्ध लडिरहेका राजनीतिक बन्दी भएकाले उनीहरूका पक्षमा बहस गरेको भण्डारीले बताए। उनले पञ्चायतकालभरि नै कांग्रेस, कम्युनिस्ट लगायत राजनीतिक बन्दीका पक्षमा वकालत गरे। उनले बिपी कोइरालाका पक्षमा पनि अदालतमा बहस गरेका थिए।
भण्डारीसँग हामीले वर्तमान र विगतका कैंयन विषयमा कुरा गरेका छौं। उनीसँग हामीले लिएको भिडिओ अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत छ।
यो अन्तर्वार्तामा भण्डारीका भनाइका मुख्य अंश:
- बिपी कोइराला र भरत शमशेरका पक्षमा मैले २०१८ सालमै मुद्दा दायर गरेको थिएँ।
- केआइ सिंह, रामराजाप्रसाद सिंह, नारायणमान विजुक्छे, महेन्द्रनारायण निधि लगायतका पक्षमा समेत मुद्दा लडेको छु।
- २०३३ सालमा बिपी कोइराला नेपाल आउने क्रममा उहाँलाई पटनाबाट फर्किन भनेका थिएँ। नेपाल गए राजाले मारिदिन सक्छन् भन्दा उहाँले 'नेपालमा कृष्णप्रसाद भण्डारी जस्ता वकिल छन्, त्यसैले म ढुक्क छु' भनेर नेपाल आउनुभएको थियो।
- सबैभन्दा खतरनाक मुद्दा रामराजाप्रसाद सिंहको थियो।
- महेन्द्रनारायण निधिका लागि पनि ८ जना वकिल हामीले पठाएका थियौं।
- पञ्चायतकालमा समेत सरकारले वकिललाई अहिले जस्तो प्रहार गर्न सकेको थिएन।
- तपाईंमा 'इनोभेसन' छैन भने उन्नति गर्न सकिन्न। त्यही भएर म सधैं परिवर्तनको पक्षमा लाग्छु।
- अदालत भ्रष्टाचारले डुबेको छ। हामी भागेर हुँदैन, त्यहाँ पस्नुपर्छ। लड्नुपर्छ।
- म अहिले पनि सक्रिय छु। बसेर झन् कुजुरो भइन्छ। अर्को कुरा ६४ वर्षको ज्ञान-बुद्धि कोठामा राखेर हुँदैन।
- अझै पनि मेरो शरीर स्वस्थ छ। खुट्टा अलि कमजोर छ। चिन्ता र तनाव सबैलाई हुन्छ तर यसलाई लिनु हुँदैन। म फुर्सदमा पढ्छु। आफूसँग भएको बुद्धि सक्रिय बनाउनु राम्रो हो।
- ५ बजे उठ्छु। नित्यकर्म गरेर लसुन, दूध, फलफूल खान्छु। १०-११ बजेतिर यहाँ आउँछु, अनि साढे तीन, चार बजेतिर बानेश्वर जान्छु। सादा खाना खान्छु। राती ८-९ बजेतिर सुत्छु।
- उच्च रक्तचापको बाहेक औषधि लिने गरेको छैन।