संघीय संसदको सातौं अधिवेशन शुक्रबार (भोलि) बाट शुरू हुँदैछ।
सरकारले गएको पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि यो अधिवेशनमा राष्ट्रिय सभाका बैठकहरू मात्र सञ्चालन हुनेछन्। पुस १७ गतेभित्र संसदको अधिवेशन बोलाउनै पर्ने संवैधानिक बाध्यताले राष्ट्रिय सभाका बैठकहरू औपचारिकतामा मात्रै सिमित हुने भएको छ।
बिहीबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकस्थलको निरीक्षणसमेत गरेका छन्। कोभिड-१९ लाई लक्षित गरी हलमा सबै तयारी पूरा भएको छ।
हाउस चलिरहेको कारणले संक्रमण बढ्ने, सर्ने स्थिति नआओस्। त्यहाँ गएका कारणले जोखिम बढ्यो भन्ने स्थिति नआउने र हाउस चलुन्जेल निर्वाध ढंगले जान सकियोस् भन्नका लागि सबै कुराको पूरा तयारी गरेको अध्यक्ष तिमल्सिनाले जानकारी दिए।
नेपाल सरकारले तय गरेका, विश्व स्वास्थ्य संगठनले तय गरेका यी सबै मापदण्डलाई आधार बनाएर तयारी पूरा भएको उनले बताए।
हलमा कोभिड-१९ बाट बच्न दुई मिटरको दूरीमा कुर्सी राखिएको छ। दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने, सेनिटाइज गर्नेलगायत सबै तयारी भएको छ।
हेर्नुहोस् तस्बिरमा