कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन गरेकी छन्।
बुधबार बिहान विभागमा पुगेकी मन्त्री अर्याललाई विभागका महानिर्देशक उपेन्द्र रायले विभागको 'ब्रिफिङ' गरेका थिए।
मन्त्री अर्यालले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयहरूको अनुगमन गर्ने निकाय भएकाले विभागसँग स्वस्थ्य जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहेको बताइन्।
खाद्यवस्तुको गुणस्तर परीक्षण र नियमनको कार्य अभियानकै रूपमा अगाडि बढाउनुपर्ने मन्त्री अर्यालले बताइन्।
'अहिलेको अनुगमन, निरीक्षण, ल्याब टेष्टको यति कार्यले मात्र हुँदैन। अब घुम्ती टोलीमार्फत् नियमित रूपमा अनुमन कार्यलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्छ,' मन्त्री अर्यालले भनिन्, 'तपाईंहरू योजनासहित अगाडि बढ्नुस्। यसलाई अभियानकै रूपमा हामीले अगाडि बढाउनुपर्छ।'
मन्त्री अर्यालले क्षमता विकास तथा सेवा केन्द्रहरू थप्नुपर्ने आवश्यकता भएमा त्योसहितका योजना बनाउन समेत कर्मचारीहरूलाई निर्देशन दिइन्।
नीति, नियम, ऐनहरू निर्माण गर्नुपर्ने क्षेत्रमा केही अपडेट गर्नुपर्ने भएमा त्यसमा समेत छलफल अगाडि बढाउन उनले आग्रह गरिन्।