आइतबार (पुस १२) दिउँसो साढे १ बजेतिर एयर चाइनाको एउटा चार्टर्ड जहाज त्रिभुवन विमानस्थलमा अवतरण भयो। केहीबेरमा पिपिई सेट लगाएका व्यक्ति जहाजबाट निस्किए। दक्षिण पश्चिमी चिनियाँ प्रान्त सिचुवानको राजधानी छेन्दुबाट आएका उनीहरू विमानस्थलबाट सोझै बालुवाटारस्थित चिनियाँ दूतावास गए।
हिजैदेखि राजनीतिक भेटघाट थालेका उनीहरू आज पनि त्यसैमा व्यस्त छन्।
उनीहरू को हुन् र किन आए भन्नेबारे परराष्ट्र मन्त्रालयले अहिलेसम्म औपचारिक जानकारी दिएको छैन।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चिनियाँ टोलीको भ्रमण औपचारिकभन्दा पनि अनौपचारिक र पार्टीको भएकाले मन्त्रालयबाट जानकारी नदिइएको बताए।
'उहाँहरू आफ्नै पहल र योजनामा नेपाल आउनुभएको हो। बेइजिङस्थित नेपाली दूतावासको समन्वयमार्फत् आउनुभएका उहाँहरूलाई हामीले यहाँ गर्नु पर्ने सहजीकरण गरिरहेका छौं,' उनले भने, 'पार्टी डेलिगेसन भएकाले मन्त्रालयले थप ध्यान दिनु परेन।'
यसरी चार्टर्ड जहाज आएको तर सरकारले 'गुपचुप' राखेको यो पहिलो पटक होइन।
गत कात्तिक ५ गते दिउँसो पौने एक बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वायु सेनाको जहाज ल्यान्ड भयो। कोरोना भाइरस महामारीले नेपाल-भारतबीच व्यावसायिक उडान बन्द भएको र कालापानी-लिपुलेक विवादले दुई देशबीच महिनौं संवाद हुन नसकेका बेला सैनिक जहाज नयाँदिल्लीबाट सोझै काठमाडौं आएको थियो।
विभिन्न स्रोतहरूले उक्त सैनिक जहाजमा भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस (रअ) का प्रमुख सामन्तकुमार गोयल आएको सूचना चुहाए। गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत बनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न आएका थिए। ओलीले नै उनलाई बोलाएका थिए।
प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयले भने गोयल भ्रमणबारे पहिला नै औपचारिक जानकारी दिएन। जानकारी लिन खोज्दा जिम्मेवार अधिकारीहरू आफूलाई थाहै नभएको भनेर पन्छिए।
भारतीय सैनिकको जहाज झन्डै २४ घन्टा त्रिभुवन विमानस्थलको ह्यांगरमा बस्यो। तर सरकारले त्यो जहाजमा को, किन आएका हुन् भन्ने जानकारी नागरिकलाई दिएन। सायद दिन जरूरी नै ठानेन।
पछिल्लो समय भारतसँग सम्बन्ध बिग्रिएको कालापानी-लिपुलेक मुद्दामा आमनागरिक मात्र होइन संसदका दुवै सदन पनि सरकारसँग एकमत थिए। कालापानी-लिपुलेकलाई नेपालको नक्सामा समेट्न भएको संविधान संशोधन दुवै सदनबाट सर्वसम्मतले पारित भएका थिए।
त्यति महत्वपूर्ण र चासोको विषयमा के कुरा भयो भन्ने थाहा पाउनु नागरिकको वैध अपेक्षा हो। नागरिकलाई त्यो वैध अपेक्षाका हकदार नभएजसरी सरकारले छिमेकी देशका गुप्तचर प्रमुखसँग प्रधानमन्त्रीले आफ्नै निवासमा भेटेको कुरा १२ घन्टासम्म गोप्य राख्यो।
अर्को दिन गोयलको जहाज दिल्लीका लागि 'टेक अफ' भएपछि मात्र प्रधानमन्त्रीको सचिवालयले अघिल्लो रात गोयलले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटेको जानकारी दियो।
प्रधानमन्त्री ओली र गोयलबीच त्यो रात के-के कुराकानी भयो भन्ने परराष्ट्र मन्त्रालयलाई 'थाहा' छैन। ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भेटको 'नोट' लिएको भनिएको छ।
गोयलको त्यो आगमनपछि प्रधानमन्त्री ओलीको भारतसँगको सम्बन्धबारे भने अनेक हल्ला र आशंका राजनीतिको बजारमा अहिले पनि तैरिरहेका छन्।
गोयल फर्किएको दुई महिनापछि चार्टर्ड जहाज फेरि काठमाडौं आयो। यसपालिको जहाज उत्तरतिरबाट आएको थियो।
उत्तरी छिमेकी चीनसँग वर्षौंदेखि नेपालको सौहार्दपूर्ण सम्बन्ध छ। नेपाल एक चीन नीतिमा प्रतिवद्ध छ भने चीनले पनि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन भन्ने ठानिन्छ।
आइतबार आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौ नेतृत्वको चार सदस्यीय टोली भने नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे 'बुझ्न' आएका थिए। प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटन र त्यसपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विभाजनबारे बुझ्न चिनियाँ कम्युनिष्ट पार्टीको टोली आउन लागेको जानकारी अघिल्लो दिन नै प्रेसमा सार्वजनिक भएको थियो।
परराष्ट्र मन्त्रालयले भने यो भ्रमणबारे आइतबार बिहानसम्म पनि औपचारिक जानकारी दिएन।
आइतबार बिहान 'चीनबाट आज कुनै भ्रमण टोली आउन लागेको हो' भन्ने सेतोपाटीको प्रश्नमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सहसचिव सेवा लम्सालले भनिन्- मैले पनि बाहिर-बाहिर सुनेको हो। मन्त्रालयमा औपचारिक जानकारी छैन। म बुझेर कल ब्याक गर्छु।
दिनभरिमा मन्त्रालयको तर्फबाट भ्रमणबारे कुनै जानकारी आएन।
भ्रमण यति गोप्य राख्न खोजियो कि चिनियाँ पक्षले नेपाली सुरक्षाकर्मी लिनसमेत अस्वीकार गर्यो। प्रहरी प्रधान कार्यालयका अनुसार सुरक्षा सेवा निर्देशनालयबाट अनौपचारिक रूपमा टोली खटाइएको थियो।
'उताबाट टोली आउँदैछ भन्ने थाहा पाएपछि हामीले चार जना पिएसओ खटाएका थियौं,' प्रधान कार्यालय स्रोतले भन्यो, 'तर, उहाँहरूले फिर्ता गर्नुभयो। सुरक्षा लिन मान्नुभएन।'
यो टोलीलाई अहिले सुरक्षाकर्मीले 'रिङ बाहिरबाटै' सुरक्षा व्यवस्था मिलाएका छन्।
भिआइपी, भिभिआइपीहरूको सुरक्षा व्यवस्था नेपाल प्रहरीको सुरक्षा सेवा निर्देशनालयले मिलाउँछ। त्यसरी हुने भ्रमणको कार्यतालिका पहिला नै परराष्ट्र मन्त्रालयबाट गृहमा उपलब्ध हुन्छ र गृहले आवश्यक सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई लेखी पठाउँछ।
चिनियाँ टोली आउँदा परराष्ट्र र गृहबाट प्रधान कार्यालयलाई औपचारिक रूपमा जानकारी आएन।
संघीय राजधानीको सुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार अहिले उनीहरूका लागि औपचारिक रूपमा सुरक्षाकर्मी छैनन्। पिएसओ र अगुवा-पछुवालगायत सुरक्षाकर्मी नलिएपछि प्रहरीले 'रिङ बाहिरै'बाट हेरिरहेको छ।
'उनीहरू जहाँ जहाँ जान्छन्, सम्बन्धित क्षेत्रमा खटिएका युनिटले वाच गरिरहेका छन्,' रानीपोखरीका एक अधिकृतले सेतोपाटीसँग भने।
परराष्ट्र र गृह मन्त्रालयलाई औपचारिक जानकारी नपाएको चिनियाँ टोली साँझ शितल निवास गयो। राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनीहरूको एक घन्टाजति कुरा भयो।
राष्ट्रपतिसँगको उक्त भेटमा के-के कुरा भयो न शितल निवासले खुलाएको छ न परराष्ट्र मन्त्रालयले।
'उहाँहरूबीच साँझ पाँच बजेपछि एक घन्टाजति कुराकानी भएको हो। के कुरा भयो भन्नेबारे त मैले भन्न सकिनँ। दुई देशको सम्बन्धबारे भयो होला,' राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले आइतबार साँझ सेतोपाटीसँग भने।
चिनियाँ टोली शितल निवासबाट बालुवाटार गयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्यो। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले राति पौने १२ बजे सामाजिक सञ्जालमार्फत् चिनियाँ टोलीसँगको भेट पुष्टि गरे। भेटका क्रममा चिनियाँ टोलीले राष्ट्रपति सी चिनफिङले दिएको नयाँ वर्ष २०२१ को शुभकामना सुनाएको र दुई देश र पार्टीबीचको सम्बन्धबारे कुरा भएको भट्टराईले उल्लेख गरेका छन्।
चिनियाँ टोलीले प्रधानमन्त्रीलाई भेटका तस्बिर उनका प्रेस सल्लाहकार सूर्य थापाले सोमबार बिहान १२ बजे सार्वजनिक गरेका छन्। शिष्टाचार भनिएको भेटमा परराष्ट्रका अधिकारी भने देखिन्नन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल र परराष्ट्र सल्लाहकार भट्टराई छेउमा बसेका छन्।
चिनियाँ टोली सोमबारदेखि फेरि राजनीतिक भेटघाटमा सक्रिय भएको छ। बिहानै खुमलटारमा नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग छलफल गरेको छ भने सोही समूहका अर्का अध्यक्ष माधवकुमार नेपालसँग पनि बानेश्वरस्थित एभरेष्ट होटलमा भेटेको छ।
सुरक्षा स्रोतका अनुसार यो चिनियाँ टोली एक-दुई दिन अझै काठमाडौंमै बसेर राजनीतिक भेटघाटमा सक्रिय हुनेछ।
उनीहरूको भ्रमण र भेटघाटबारे परराष्ट्र मन्त्रालयले भने अझै पनि औपचारिक जानकारी दिएको छैन।
उत्तर-दक्षिणबाट चार्टर्ड जहाज आइरहने तर नागरिकले सरकारबाट 'थाहै नपाउने' किन? भन्ने प्रश्नमा परराष्ट्र मन्त्री ज्ञवालीले दुबै भ्रमणबारे बाहिर नभने पनि सरकारलाई सबै थाहा भएको बताए।
'गोयलको भ्रमणबारे बाहिर नभनेको मात्रै हो, मन्त्रालयलाई सबै थाहा थियो। दुई देशका प्रधानमन्त्रीबीच कुरा भएर उताबाट दूत पठाउने टुंगो भएपछि यहाँ मन्त्रालयले उडान अनुमति लगायत टुंगो लगाएको थियो। सबै प्रक्रिया पूरा गरेर नै उहाँ आउनुभएको थियो,' उनले भने।
चिनियाँ टोलीले राष्ट्रपति भण्डारीलाई चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश सुनाएको र सत्तारूढसँगै प्रतिपक्षी दलका नेताहरूसँग पनि भेटवार्ता गर्ने आफूले जानकारी पाएको ज्ञवालीले बताए।
ज्ञवालीले परराष्ट्र मन्त्रालय सम्हालेको तीन वर्ष हुन लाग्यो। यो बीचमा पहिलो पटक नेपालको परराष्ट्र नीति पनि सार्वजनिक भएको छ।
उक्त नीतिको लक्ष्यमा भनिएको छ- स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्चालनबाट सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हितको सम्वर्द्धन र प्रवर्द्धन गर्ने।
आफ्ना नागरिकसँग लुकाउँदै विदेशीसँग गरिने छलफल र भेटवार्ताले राष्ट्रिय हितको सम्बर्द्धन र देशको सम्मान कसरी होला?
'त्यसका लागि हामीले आफ्नो थैली राम्ररी बन्द गरेर अरूलाई सकभर आउनै नदिने परिस्थिति बनाउनु पर्छ,' ज्ञवालीले भने।
परराष्ट्रविद् डाक्टर दिनेश भट्टराईले देशमा को आयो को गयो भन्ने जानकारी नागरिकलाई नदिनु नाजायज भएको बताए।
'देशमा को आयो को गयो भन्ने नागरिकले थाहा पाउनुपर्छ,’ भट्टराईले भने,‘राष्ट्रपति र प्रधानमन्त्रीसँग भएका सबै कुराकानी नागरिकलाई भन्न मिल्दैन होला तर त्यो राष्ट्रिय अभिलेखमा रहनुपर्छ। राज्यको संयन्त्रमा रेकर्ड नबस्ने गरिने भेटघाटले देशको हित गर्दैन।’