नेपाली कांग्रेसकी नेतृ सुवर्ण ज्वारचनले प्रतिनिधिसभा सदस्यको सपथ लिएकी छन्।
सभामुख अग्निप्रसाद सापकोटाले आइतबार सिंहदरबारमा भएको कार्यक्रममा ज्वारचनलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।
ज्वारचन गुल्मीकी हुन्। उनलाई कांग्रेसले समानुपातिक तर्फको बन्द सूचीमा नाम राखेको थियो। सांसद ज्ञानकुमारी छन्त्यालको असार १७ गते निधन भएपछि रिक्त रहेको ठाउँमा ज्वारचनलाई सांसद बनाउने कांग्रेसको निर्णय थियो।
निर्वाचन आयोगमा समानुपातिक तर्फको नाम बुझाउँदा छन्त्यालपछि ज्वारचनको नाम थियो। बहालवाला सांसदको निधन भएमा समानुपातिक सूचीमा उसको नामपछि जसको नाम छ उहीं सांसद हुने नियम छ।
ज्वारचन लामो समयदेखि कांग्रेसमा क्रियाशील छन्। उनले वि.सं. २०३६ सालको जनमत संग्रह, सत्याग्रह र जनआन्दोलनमा सक्रियतापूर्वक भाग लिएकी थिइन्।
ज्वारचन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका पालामा २०७३ मंसिर १५ गते सहरी विकास राज्यमन्त्री भएकी थिइन्।