गृह मन्त्रालयले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै 'लकडाउन बेला प्रदर्शनमा ओर्लिए ६ सय रुपैयाँ जरिवाना र ६ महिनासम्म जेल हुने' चेतावनी दियो।
गृहको उक्त चेतावनी प्रधानमन्त्री निवास बालुवाटारअघि र देशका विभिन्न सहरमा भइरहेका प्रदर्शनतर्फ लक्षित थियो।
बिहीबार बालुवाटारअगाडि भएको प्रदर्शनमा सयौं सहभागी थिए। उनीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, लाठी र अश्रुग्यास हान्यो। प्रदर्शन बालुवाटारमा मात्र होइन, पोखरा, भरतपुर, वीरगन्ज, जनकपुर, विराटनगर लगायत अन्य सहरमा पनि भएको थियो।
बिहीबार दिउँसोको प्रदर्शन र साँझ गृहले दिएको चेतावनी हेर्दा स्वाभाविक प्रश्न उठ्छ- देशभरि यति ठूलो संख्यामा प्रदर्शन गर्नेहरू को हुन्?
ती प्रदर्शनकारीले न कुनै राजनीतिक दलको झन्डा बोकेका छन् न त उनीहरूको औपचारिक संगठन नै छ। त्यसो भए यति बृहत् स्तरमा एकत्रित हुन कसले आह्वान गर्यो? त्यो आवाज आमजनतासम्म कसरी पुग्यो?
आक्रोशको सल्बलाहट त्यति बेलै सुरू भएको थियो, जब लकडाउनको बीचमा देशका विभिन्न भागबाट मजदुरहरू कयौं दिन पैदल हिँडेर घर फर्कन थालेका थिए। उनीहरूलाई सरकारले नै सुरक्षित घर पठाउनुपर्यो भनेर सामाजिक सञ्जालमा आवाज उठ्न थाल्यो।
त्यसरी आवाज उठाउनेमध्ये एक थिए- काठमाडौंका ईशान।
२५ वर्षीय ईशान फोटोग्राफी र भिडिओग्राफीमा रूचि भएका युवा हुन्। सामाजिक सञ्जालमा उनले आफ्नो नाम 'ई' मात्र राखेका छन्। उनले आफ्नो थरसमेत परित्याग गरेका छन्। थरले समाजको जातीय विभेद झल्काउने हुँदा परित्याग गरेको उनको भनाइ छ।
ईशानले करिब पाँच वर्षअघिदेखि विभिन्न सामाजिक मुद्दामा आवाज उठाउँदै आएका छन्। मधेस आन्दोलनपछि पूर्वदेखि पश्चिमसम्मका नेपाली नागरिकलाई आपसमा जोड्नुपर्छ भनेर उनले ३७ दिन लगाएर देशव्यापी पदयात्रा गरेका थिए। राष्ट्रिय एकता र शान्तिको सन्देश दिन उक्त पदयात्रा गरेको उनले त्यति बेला अन्तर्वार्तामा बताएका थिए।
त्यसलगत्तै सिंहदरबारको सेतो पर्खालमा रातो रङ पोतेर पक्राउ परेपछि उनी थप चर्चामा आए। लामो समयदेखि चल्दै आएको जातीय तथा सामाजिक विभेद अन्त्यको निम्ति आवाज उठाउन रङ पोतेको उनको भनाइ थियो। त्यस क्रममा उनी पक्राउ पनि परे। उनको समर्थनमा '#आईएमविथईशान' अभियान चलेको थियो।
उनका साथी रोविक उपाध्याय ईशान 'ट्राभलर' र सामाजिक अभियन्ता भएको बताउँछन्।
उनै ईशानले लकडाउनपछि फेसबुक-ट्विटरबाट प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललाई सन्देश पठाउँदै 'मजदूरलाई सुरक्षित घर पुर्याउनुपर्यो' भने।
यही विषयमा अर्का अभियन्ता सञ्जय अधिकारीले सर्वोच्चमा रिट हाले। सर्वोच्चले 'श्रमिकहरूलाई सुरक्षित तरिकाले घर पुर्याइदिनू' भन्यो। सर्वोच्चको आदेश कार्यान्वयन गर्न सामाजिक सञ्जालमार्फत् नै काम गरियो।
त्यति बेला क्वारेन्टिन र आइसोलेसनमा देखिएका बेथितिका समाचार आउन थालिसकेका थिए। सरकारले राम्रोसँग काम गरेन भन्ने गुनासो ईशानले सामाजिक सञ्जाल र मिडियामा पढेका थिए।
यसैबीच भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा चर्चामा आयो। भारतले एकपक्षीय रूपमा खनेको सडकको विरोधमा मानिसहरू प्रदर्शनमा ओर्ले। अमेरिकी सहयोग परियोजना (एमसिसी) को खारेजी माग्दै काठमाडौंमा अर्को प्रदर्शन भयो।
राजनीतिको पारो भारतको एकपक्षीय कदम र एमसिसीको अनुदान स्वीकार्ने कि नस्वीकार्नेमा तातिरहेका बेला भारतबाट आएका नागरिकले क्वारेन्टिन र आइसोलेसनमा ज्यान गुमाए। आरडिटीले गरेको परीक्षण विश्वसनीय हुँदैन भन्ने थाहा हुँदाहुँदै सरकारले त्यसैलाई निरन्तरता दिइरह्यो।
यसबीच मेडिकल सामग्री खरिदमा भ्रष्टाचार भएका कुरा आए। सरकारले पिसिआर विधिको परीक्षण दायरा अपेक्षाकृत रूपले बढाउन पनि सकेन।
कोरोना महामारीविरूद्ध सरकारले जे-जे गरिरहेको थियो, त्यो धेरै नागरिकलाई चित्त बुझेको थिएन। तै पनि लकडाउनका कारण मानिसहरू सडकमा आएनन्।
यी सबै देखेर ईशान असन्तुष्ट थिए। उनलाई लाग्यो- 'इनफ इज इनफ' अर्थात् 'अब त अत्ति भयो'।
उनले केही दिनअघि इन्स्टाग्राममा एउटा पोस्ट लेखे- कोरोना भाइरसविरूद्ध सरकारले राम्रो काम नगरेको भन्दै सडकमा जान को को तयार हुनुहुन्छ? फेसबुक लिंक पठाउनु होला।
केही घन्टामै ४०० जनाले 'म सडकमा जान तयार छु' भन्दै लिंक पठाए। अनि उनले फेसबुकमा ग्रुप बनाए- कोभिड-१९ नेपाल: इनफ इज इनफ।
बिहीबारसम्म त्यो ग्रुपमा ९० हजारभन्दा बढी आबद्ध भएका छन्। ग्रुपको एडमिनमा रोविक उपाध्यायसहित २/३ जना छन्। सहजकर्ता धेरै भइसके।
उक्त पेजमा अभिनेत्री निशा अधिकारी, मिस युनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठ मोडरेटर छन्।
उनीहरूलाई मोडरेटर बनाएको ईशानले हो। ईशानले पेजमा मोडरेटर बनाउँदा कसैको पार्टी हेरेनन्। पेसा-व्यवसाय पनि हेरेनन्। ज-जसले यो पेजका सामग्री सेयर गरिदिन्छ र सक्रिय हुन्छ, उनले उसैलाई मोडरेटर बनाए।
ईशानले विभिन्न क्षेत्रका चिनेजानेका साथीहरूसँग अब सडकमा जानुपर्छ भनेर छलफल गरेका थिए। रोविकका अनुसार हप्ता दिनदेखि बालुवाटारमा प्रदर्शन गर्न जानेबारे उनीहरूबीच मेसेन्जरमै कुरा भएको थियो। त्यसपछि उक्त पेजमार्फत् नै उनीहरूले यो प्रदर्शन हुने भन्दै जानकारी गराए।
'सबैको जीवन जोखिममा परेको छ, अब त सडकमा नगई हुन्न भन्ने कुरा हामी सबैले गरेका हौं,’ रोविकले भने, 'राजनीतिक पार्टीहरूले सरकारलाई घच्घच्याएजस्तो हामीलाई लागेन।'
उनले अगाडि भने, 'सबै राष्ट्रवादका कुरामा सडकमा आए। राष्ट्रियताका लागि पनि आउनुपर्छ, तर यहाँ त नागरिकको ज्यान जोखिममा परिसक्यो। अब हामी नै सडकमा जाउँ भन्ने कुरा भयो। यसरी सल्लाह भएपछि बालुवाटारमा सामाजिक दुरी राखेर प्रदर्शन गर्ने कुरा भएको हो।'
यसरी उनीहरूले फेसबुकमार्फत् आह्वान गरेको प्रदर्शन मंगलबार भएको थियो। त्यसमा अभिनेत्री निशा अधिकारी लगायत सेलिब्रेटीहरू सामेल थिए। प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हान्यो। सामाजिक सञ्जालमा उक्त प्रदर्शनका तस्बिर र भिडिओमाथि व्यापक चर्चा भयो।
त्यसपछि यही पेज प्रयोग गरेर अरूले पनि प्रदर्शनको आह्वान गरे। एउटा ग्रुपले बुधबार प्रदर्शन गर्यो।
बिहीबार प्रदर्शन गरौं भनेर आह्वान गर्ने चाहिँ लाजिम्पाटका ३३ वर्षीय सुदन गुरूङ थिए। उनी पेसाले व्यवसायी हुन्। बिहीबारको प्रदर्शनमा अझ धेरै मानिस आए। प्रहरीले पानीको फोहोरासँगै लाठी र अश्रुग्यास हानेर प्रदर्शनकारीलाई तितरबितर पार्यो।
'त्यहाँ जम्मा भएका केही साथीले अब दिनदिनै प्रदर्शन गर्नुपर्छ भन्नुभएको थियो। अनि मैले नै बिहीबार गरौं भनेर भनेको थिएँ। मैले आफ्ना केही साथीहरूलाई पम्पलेट बनाउन भनेँ। म आफूले पनि तीन हजार खर्च गरेँ,' सुदनले सेतोपाटीसँग भने, 'हाम्रो माग भनेको पिसिआर टेस्ट बढाउनुपर्यो भन्ने हो। कोरोनाविरुद्ध सरकारले राम्रो काम गर्नुपर्यो भन्ने हो। राजनीतिक दलजस्तो हामीलाई जिन्दावाद-मुर्दावाद भन्न आउँदैन। त्यसैले प्लेकार्ड मात्र बोकेर गएका हौं। सरकारले गरेको काम राम्रो भएन है भन्न हो।'
बिहीबार यति धेरै मानिस आउलान भनेर सुदन आफैंले सोचेकासम्म थिएनन्।
'हामीलाई त नारा लगाउन पनि आउँदैन। हामी कुनै पार्टीको पनि होइन। हामीले बोलाएको प्रदर्शनमा यतिका मानिस आउलान् भनेर सोचेको पनि थिएनौं,' उनले भने।
सुरूमा आन्दोलन आह्वान गर्ने ईशान भने बिहीबारको प्रदर्शनमा गएका थिएनन्। सुदन र ईशानबीच आजसम्म चिनजानसमेत छैन।
‘हाम्रो पेज त एउटा प्लेटफर्म हो। यसमा जसले पनि प्रदर्शन आह्वान गर्न सक्छ। हाम्रो चाहना प्रदर्शनकारीले सोसल डिस्टेन्समा बसेर प्रदर्शन गरिदिए हुन्थ्यो भन्ने मात्र हो,’ रोविकले भने, ‘प्रदर्शनमा को-को आउनहुन्छ भन्ने हामीलाई खासै वास्ता हुन्न।’
स्याडोज ब्यान्डका गायक स्वप्निल शर्मा पनि प्रदर्शनकारीमध्ये एक हुन्।
‘फेसबुक पेज ‘कोभिड-१९ नेपाल: इनफ इज इनफ’ मा जोडिएपछि पनि मलाई सुरूमा सडक प्रदर्शनमा जाने कि नजाने भन्ने अन्यौल थियो। यस्तो महामारी बेला सडकमा जाने कुरा ठिक होइन भन्ने लागेको हो,’ शर्माले भने, ‘तर कुर्दाकुर्दै ७० दिन बित्यो। सरकारले जुन तरिकाले महामारी नियन्त्रण गर्नुपर्ने हो, त्यो गरेको देखिएन। सीमाबाट भित्रिएका मानिसलाई क्वारेन्टिनमा व्यवस्थित ढंगले राख्न सकेन।’
त्यसपछि उनलाई लाग्यो, आज म घरमा बसेर सुरक्षित भए पनि भविष्यमा कुनै न कुनै बेला संक्रमित हुन सक्छु।
‘त्यसपछि मैले सडकमा उत्रनु जायज ठानेँ। त्यसैले दुई दिनयता बालुवाटारमा भएका शान्तिपूर्ण प्रदर्शनमा म सहभागी भएको हुँ,’ उनले भने, ‘आरडिटी परीक्षण बन्द गर्नुपर्छ। सबैको पिसिआर परीक्षण हुनुपर्छ, क्वारेन्टिन व्यवस्थित गरिनुपर्छ भन्ने भएपछि सडकमा गएको हो। ’
उनले बालुवाटारको प्रदर्शन सरकारका लागि रचनात्मक सुझाव भएको बताए। ‘हामीलाई थाहा छ, हाम्रो प्रदर्शनले सरकार ढल्दैन। तर सरकारले शान्तिपूर्ण प्रदर्शनमा पानीको फोहोरा हान्यो। जबकि बालुवाटारमा प्रदर्शन गर्नेहरूले सामाजिक दुरी कायम राखेका थिए। सबैजसोले मास्क प्रयोग गरेका थिए,’ शर्माले भने, ‘हाम्रो माग साधारण छ। क्वारेन्टिनमा बस्नेहरूका लागि खाने, बस्ने र शौचालयको सुविधा राम्रो बनाऊ। सरकारले पैसा खर्च गरिरहेको ठिक छ, तर त्यसको व्यहोरा त दिनुपर्यो नि! हामीलाई पनि खर्चको व्यहोरा लिन हतार छैन। तर जसरी सरकारले भनिरहेको छ, त्यसले हामीलाई घोच्छ।’
प्रदर्शनमा कुनै राजनीतिक दलको झण्डालाई आउन नदिने भन्दै उनले शनिबार पनि प्रदर्शन गरिने जानकारी दिए।
‘यो विवेकी नागरिकको प्रदर्शन हो। तर बिहीबार एक-दुई जनाले 'राजा आऊ, देश बचाऊ' भन्ने नारा लगाए। मलाई थाहा छ यो माग आजको युवाको माग होइन। यो युवाको चाहना होइन,’ शर्माले भने, ‘हामी कुनै राजनीतिक माग राखेर सडकमा आएका होइनौं। हामी सरकारविरोधी होइनौं। सिस्टम चलाउने ठाउँमा बसेकाहरूलाई प्रश्न उठाएका हौं। हामी कोही पनि कांग्रेस–कम्युनिस्ट, समाजवादी वा राजवादी होइनौं।’
अहिलेको प्रदर्शनमा यसअघि चलेको 'अकुपाई बालुवाटार' आन्दोलनका अभियन्ता पनि मिसिएका छन्। तीमध्येकै एक हुन्, जगन्नाथ लामिछाने।
‘अहिले प्रदर्शनमा आउनेहरूलाई राजनीति त्यति धेरै थाहा छैन होला, तर उनीहरूले कोभिड-१९ विरूद्ध संसारका कुन-कुन देशले कसरी काम गरिरहेका छन् भन्ने थाहा पाएका छन्। हाम्रो सरकारले पनि राम्ररी काम गर्न सक्छ र गर्नुपर्छ भन्ने ठानेर उनीहरू सडकमा आएका हुन्,’ लामिछानेले भने।
प्रदर्शन काठमाडौंबाहिर पनि भएका छन्। बिहीबार दिउँसो र साँझ गरी झन्डै ३० भन्दा बढी ठाउँमा प्रदर्शन भएका छन्। पोखरा, भरतपुरसहित देशका विभिन्न ठाउँमा भएका प्रदर्शनमा नयाँ पुस्ताका सहभागीहरूको बाहुल्य छ।
पोखरामा भएको प्रदर्शनमा सयौं मानिस सहभागी भएका थिए। उनीहरू पनि फेसबुककै माध्यमबाट प्रदर्शनमा ओर्लिएका हुन्।
पोखराका स्मृति बराल, सलिजा श्रेष्ठ र मोनिका रानाभाटलाई कोरोना रोकथाममा सरकारले गरेको काम चित्त बुझेको थिएन। अव्यवस्थित क्वारेन्टिन, क्वारेन्टिनमै मृत्यु, कोरोना परीक्षणमा सरकारी सुस्तता लगायत विषय उनीहरुले दिनहुँ पढिरहेका थिए। सरकारी काम-कारबाही हेररिहेका थिए।
सरकारलाई प्रभावकारी बनाउन र स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाउन काठमाडौंमा प्रदर्शन गर्न लागेको कुरा स्मृतिले पहिलोपटक फेसबुकमा देखिन्। काठमाडौंका युवा अभियन्ता ईशानले फेसबुकमार्फत प्रदर्शन आह्वान गरेको देखेपछि उनलाई लाग्यो- हामीले पनि पोखरामा केही गर्नैपर्छ।
उनले फेसबुकमा ईशानसँग सल्लाह गरिन्- हामी पनि पोखरामा प्रदर्शन गर्छौं।
ईशानले समर्थन जनाए। तर यसरी-उसरी गर्नू भनेर केही भनेन्। उनले पोखरामै आफ्नो साथीहरूसँग यो कुरा साझा गरिन्।
स्मृतिसँगै काठमाडौंमा प्रदर्शन गर्न लागेका युवाहरूको सम्पर्कमा थिइन्, पोखराकी अर्की सामाजिक अभियन्ता सलिजा श्रेष्ठ। उनीहरु दुवै जना काठमाडौंका युवाहरूले बनाएको ‘कोभिड–१९ नेपालः इनफ इज इनफ’ मा आबद्ध भए।
त्यही ग्रुपमा कसरी प्रदर्शन गर्ने भनेर सल्लाह हुन्थ्यो। अहिले यो ग्रुपमा पोखरा, वीरगन्ज, चितवन लगायत धेरै जिल्लाका युवा जोडिएका छन्।
स्मृतिले आफ्नो इन्स्टाग्राममा स्टोरी राख्दै पोखरामा पनि प्रदर्शन गर्न आह्वान गरिन्। उनको स्टोरी हेरेर पोखराका अन्य युवाहरूले पनि समर्थन जनाए। त्यसपछि पोखरामा पनि फेसबुक ग्रुप खोले। चार दिनअघि खोलेको ग्रुपमा अहिले १ हजारभन्दा बढी युवा आबद्ध भइसकेको स्मृतिले बताइन्।
त्यही ग्रुप र आ-आफ्नो फेसबुकबाट पोखराका युवाहरूलाई बिहीबार जिल्ला प्रशासन कार्यालयअगाडि सहिद चोकमा मौनप्रदर्शन गर्ने कार्यक्रममा सहभागी हुन आह्वान गरियो।
‘कोरोना भाइरसको बिगबिगी रोक्न सरकारले हामीलाई लकडाउनमा राखेको छ, यो ठिक छ,’ स्मृतिले सेतोपाटीसँग भनिन्, ‘तर क्वारेन्टिनबाट संक्रमण फैलिने क्रम रोक्न, स्वास्थ्यकर्मी, प्रहरी, सेनाजस्ता फ्रन्टलाइनरलाई स्वास्थ्य सुरक्षा दिन सकेन।’
भारत र अन्य देशबाट आउने नेपालीलाई क्वारेन्टिनमा हुलेर राख्नेजस्ता गतिविधिले नै प्रदर्शन गर्न परेको उनले बताइन्।
‘हामीले सरकारलाई मुर्दावाद भनेका छैनौं, राजीनामा मागेका पनि छैनौं,’ उनले थपिन्, ‘सरकारले स्वास्थ्य सेवामा परिवर्तन त ल्याउनुपर्यो नि, खर्च विवरण पनि देखाउनुपर्छ।’
यही कुरा सामाजिक सञ्चालबाट आह्वान गर्दा केही सीप नलागेका कारण सडकमा आउनुपरेको उनले बताइन्।
‘हामीले सामाजिक सञ्चालमा कति भिडिओ राख्यौं, कुनै सुनुवाइ भएन,' उनले थपिन्, ‘अब त कुनै पार्टीमा नभए आम नागरिक बोल्नैपर्छ भन्ने फिल आयो।’
बिहीबार पोखरामा भएको प्रदर्शनमा २० जना जति मात्र होलान् भन्ने उनीहरुको अनुमान थियो। तर अनुमान गरिएभन्दा धेरै मानिस सडकमा ओर्लिए।
बिहान ११ बजेदेखि १२ बजेसम्म सहिदचोकमा प्लेकार्ड बोकेर मौन प्रदर्शन गर्ने उनीहरूको योजना थियो। योजनाअनुसार नै उनीहरूले प्रदर्शन गरे। त्यस अवधिमा कसैले पनि भाषण नगर्ने र नबोल्ने प्रदर्शनको संहिता थियो।
प्रदर्शन सकिएपछि राष्ट्र बैंक चोकतिर होहल्ला सुने। केही मानिसले प्रहरीलाई ढुंगा हानेछन्। स्मृति र सलिजा प्रदर्शन भएको ठाउँमा पुगेर त्यहाँका युवालाई त्यसो नगर्न भने।
‘हामीले नबोल्ने प्रदर्शन आयोजना गरेका थियौं, तर नाराबाजी, जुलुस र ढुंगामुढा चलेछ,’ स्मृतिले भनिन्, ‘हाम्रो आन्दोलनमा पार्टीका मान्छे आएर बिथोल्न खोजे।’
कोरोना रोकथाममा सरकारको कमजोरी मात्र होइन, स्मृतिले यसअघि पनि यस्ता सामाजिक मुद्दा उठाउने गरेकी थिइन्। चार वर्षअघि पोखरामा ‘युथ थिङ्कर सोसाइटी’ गठन गरेर उनी सदस्य बसेकी थिइन्। यो संस्थाले पोखरामा सार्वजनिक महत्वका विषयमा छलफल चलाउने र युवा लक्षित कार्यक्रम गर्दै आएको छ।
उता सलिजा श्रेष्ठ भने पोखरामै बाल यौनदुर्व्यहारविरूद्ध अभियानमा लागेकी थिइन्। तीन वर्षदेखि उनले कुनै संस्थामा आबद्ध नभई यो अभियान चलाएकी थिइन्। स्कुल–स्कुलमा पुगेर उनले ८ कक्षाभन्दा तलका बालबालिकालाई यौन दुर्व्यवहारका पाठ सिकाउँथिन्।
स्मृतिसँग उनको भेटघाट निर्मला पन्तको बलात्कार र हत्याविरूद्धको प्रदर्शनमा भएको थियो।
‘हाम्रा भावनाहरू मिल्न थाले, अनि हामी मिल्न थाल्यौं,’ सलिजाले भनिन्।
स्मृति र सलिजाले पोखरामा प्रदर्शन गर्ने प्रस्तावमा सघाएकी थिइन्, पोखराकै अर्की युवा अभियन्ता मोनिका रानाभाट र साथीहरूले।
मोनिका अहिले नेपाल युवा परिषदका गण्डकी प्रदेश संयोजक हुन्। परिषदको सदस्यता लिन पहिलो मापदण्ड नै कुनै पनि पार्टी र त्यसको भ्रातृ संस्थाको सदस्य नहुनु रहेको उनले बताइन्।
पोखरामा बिहीबार भएको प्रदर्शनमा कुनै पनि औपचारिक संस्था वा समिति छैन। उनीहरूले प्रेस विज्ञप्ति जारी गर्दा भने ‘मौन तथा शान्तिपूर्ण प्रदर्शन आयोजक समिति, पोखरा’ को नाममा जारी गरेका छन्।
‘हाम्रो प्रदर्शनमा कुनै समिति छैन,’ उनले भनिन्, ‘हामी आफैं साथीहरू मिलेर प्रदर्शनमा आएका हौं।’
पोखरामा रहेर सामाजिक अभियानमा लागेका यिनै युवाहरूले आह्वान गरेको प्रदर्शनमा सयौं पोखरेलीले साथ दिए।
‘सरकारको विरोध नभई सरकारलाई प्रभावकारी बनाउने उद्देश्य हाम्रो हो,’ मोनिकाले भनिन्, ‘आगामी प्रदर्शन के-कसरी गर्ने भन्नेमा साथीहरूसँग सल्लाह गरेर निर्णय गर्छौं।’
त्यस्तै, चितवनको भरतपुरमा पनि फेसबुकमै समूह बनाएर बिहीबार प्रदर्शन आह्वान गरिएको थियो। 'कोभिड:१९ चितवन- इनफ इज इनफ' भन्ने फेसबुकमा पेजबाट गरिएको आह्वानमा समर्थन जनाउँदै बिहीबार थुप्रै युवायुवती सडकमा ओर्ले। उक्त समूहमा अहिलेसम्म १ हजार ३ सयभन्दा बढी सदस्य छन्।
प्रदर्शनमा सहभागी बेदराज बगालेले फेसबुक ग्रुपमा भएको सल्लाहअनुसार प्रदर्शन गरिएको बताए।
‘यो कुनै राजनीतिक दलको कार्यक्रम होइन। तर त्यहाँ विभिन्न दलमा आस्था राख्ने सचेत मानिसहरू सहभागी थिए,’ बगालेले भने, ‘हामी फेरि पर्सि पनि प्रदर्शन गर्ने तयारी गरिरहेका छौं।’
बिहीबार साँझ नै जनकपुर र वीरगन्जमा पनि प्रदर्शन भएको छ। जनकपुरको प्रदर्शनमा नेतृत्वदायी भूमिका खेलेका मनिष झाले स्थानीयदेखि संघीय सरकारलाई सचेत गराउनुपर्ने भएकाले प्रदर्शन गरिएको बताए।
‘कोरोना संक्रमणले प्रदेश २ आक्रान्त छ। तर, पिसिआर परीक्षणको दायरा बढेको छैन। स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारलाई नागरिक स्तरबाट खबरदारी गर्नुपर्ने बेला भएकाले साथीहरूसँग सरसल्लाह गरेर प्रदर्शन गर्न लागेका हौं,’ झाले भने, ‘कुनै संगठन, कुनै राजनीतिक दल कसैको पनि झण्डा बोक्न नपाइने सर्तमा स्वतन्त्र युवाहरूले प्रदर्शन गर्ने भन्ने हो।’
उनले जनकपुरको प्रदर्शनमा काठमाडौंका प्रदर्शनकारीसँग प्रत्यक्ष सम्पर्क नभएको बताए।
‘केन्द्रमा जस्तै प्रदेशमा पनि भ्रष्टाचार अनियमितता भएका छन्, तर कसैले बोलेको छैन। मिडियामा पनि प्राथमिकता पाएको अवस्था छैन,’ झाले भने, ‘अब कतिञ्जेल यस्ता कुरा सहेर बस्ने भन्नेमा हामी पुग्यौं। कोरोना महामारी भए पनि बरू १४ दिन क्वारेन्टिन बसौंला, तर अब चुप लागेर बस्न हुन्न भनेर प्रदर्शन गर्ने, खबरदारी गर्ने भनेरै लागेको हो।’