कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका प्रहरी फिर्ता पठाएका छन्। जिल्ला प्रहरी कार्यालयका लागि भनेर आफ्नो सुरक्षामा खटिएका प्रहरी मुख्यमन्त्री शाहीले फिर्ता गरेका हुन्।
कोरोनाभाइरस (कोभिड-१९) को महामारीका बेला सुरक्षाकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले आफ्नो सुरक्षामा खटिइएका प्रहरीलाई मुख्यमन्त्रीले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार ८ जना प्रहरी मुख्यमन्त्रीले फिर्ता पठाएका छन्। दुई जना प्रहरी नायव निरीक्षक, एक जना प्रहरी सहायक निरीक्षक र ५ जना जवानलाई मुख्यमन्त्रीले जिल्ला प्रहरी कार्यालयमा पठाएको उनले जानकारी दिए।
मुख्यमन्त्री शाहीले आफ्नो लागि प्रहरीले व्यवस्था गरेको अगुवा गाडी पनि जिल्ला प्रहरीलाई फिर्ता गरेको रायमाझीले बताए। मुख्यमन्त्रीले फिर्ता पठाएका प्रहरी शनिबारदेखि जिल्ला प्रहरी कार्यालयमार्फत् ड्युटीमा खटिइएको उनले जानकारी दिए।